पर्दा पछाडी बसेर होस् या अगाडी । आफ्नो कर्मप्रति गर्व गर्न सक्यो भने सफलता टाढा छैन भन्छन् मधुर बस्नेत । क्यामेराको लेन्सबाट दैनिकी सुरुवात गर्ने बस्नेतलाई मैले सोधेँ तपाईले लेन्सबाट मात्रै नियालेको समय जोड्ने हो भने कति वर्ष, दिन र घन्टा हुन्छ होला ? यो अनुमान गर्न सकेनन् । हाँस्दै भने ‘क्यालकुलेटर थिचेर पनि भन्न सक्दिन । जीवनका तीन दशक लेन्सबाटै हेरेर बिताएँ ।’
०५४ सालदेखि क्यामेराको लेन्सबाट नियाल्न थालेका उनको दैनिकी अहिले पनि उस्तै छ । आज कतिबेला सुत्ने भन्दा पनि भोली कति बेला उठ्ने भन्नेमा केन्द्रित हुन्छन् । ‘मलाई यसैमा मज्जा लाग्छ । भोली चाँडै उठ्नु पर्ने भो जस्तो कहिल्यै लाग्दैन ।’ पटक पटक गएको ठाउँमा फेरि पुग्दा नयाँ उर्जा भेटिने गरेको उनको अनुभव छ । साँढे दुई दशक म्युजिक भिडियोमै रमाएका बस्नेत एकछिन सम्झिन्छन् ‘टेक्न मिल्ने नेपालको कुनै ठाउँमा खिच्न बाँकी छ त ?’ छैन ।
जतिबेला उनले भिडियो निर्माणको काम सुरु गरे भिडियो कहाँ देखाउने भन्ने नै थिएन । नेपाल टेलिभिजन मात्रै थियो । मनोरञ्जनात्मक कार्यक्रम टेलिभिजनको प्राथमिकतामा परिसकेको थिएन । एकदिन पालो आउछ भन्दै ०५४ सालमा काठमाडौंको डिल्ली बजारमा ‘कृष्ण फिल्मस’ नाम राखेर भिडियो निर्माण कम्पनी खोले । सञ्चालक थिए बाबुराजा केसी (उज्ज्वल) र गोपाल बाँस्कोटा र मधुर बस्नेत । तीन जना मध्येका एक मधुर बस्नेत अहिले पनि सक्रिय छन् । तीन हजार भन्दा बढी ब्यवसायिक भिडियो खिचेका उनी मोडल पनि हुन् ।
२०५२ सालदेखि छायांकनलाई पेशा बनाएका उनले लोकदोहोरी, अन्य गीत र कृषिका कुरालाई भिडियोमा उतारेर टेलिभिजनमा देखाउन सकिन्छ भनेर देखाए । प्रविधिमा चाँडो ‘अपग्रेट’ हुनुपर्ने यो पेसामा लागेकाहरु पर्दा पछाडी नै सिमित हुन्छन् । पर्दा पछाडी बसेर काम गर्दा नै रमाइलो हुन्छ भन्ने बस्नेतको पहिलो रुची फोटोग्राफी थियो ।

भारतको सिलोङमा स्कुल पढेका बस्नेतले दार्जिलिङको सेन्ट जोसेफ कलेजबाट उच्च शिक्षा हासिल गरेँ । कलेज पढ्दै गर्दा उनको क्यानेडियन फोटोग्राफीका शिक्षकसंग भेट भयो । फोटोग्राफीका शिक्षकसंग केही दिन घुमेका बस्नेतले छुट्टिने बेलामा तिनै व्यक्तिबाट केही थान फोटोग्राफीसम्बन्धी किताबहरू उपहार पाए ती पुस्तकले फोटोग्राफी सम्बन्धि ज्ञान दियो ।
२०५२ सालमा उनी काठमाडौं आए । रेडियोमा सुनिने गीत टेलिभिजनमा फाट्ट फुट्ट भिडियोसहित देखिन थालेको थियो । नेपाली टेलिभिजनका लागि कार्यक्रम निर्माणमा जुटिरहेका बाबुराजा, विनोद शर्मा, गोपाल बाँस्कोटालगायतसँग उनको भेट भयो । वैदेशिक रोजगारसम्बन्धी वैदेशिक रोजगार, सूचना र समाचार कार्यक्रम निर्माण गर्न थाले । लगभग ५२ एपिसोड प्रसारण गरेपछि बस्नेतले डकुमेन्ट्री र विज्ञापनमा पनि काम गर्न थाले । काम सुरु गरेको दुई वर्षमा स्थापना गरेका थिए ‘कृष्ण फिल्मस्’
डिल्ली बजारमा कार्यालय राखे । भाडा थियो मासिक ७ हजार । भाडा तिरेर पारिश्रमिक पनि निकाल्नै पर्ने । तीन जना बसेर सल्लाह गरे ‘अब दोहोरी गीतको भिडियो बनाऔं ।’ भिडियो त बनाउने लगानी कसले गर्ने ? म्युजिक कम्पनी धाउन थाले । भर्खरभर्खर सुरु भएको थियो । धौलागिरी क्यासेट सेन्टर । पहिलो पटक तीन हजारमा भिडियो निर्माण गर्ने जिम्मा दियो । ‘भिडियोको काम पाएको दिन हामी यति खुसी भयौ कहिल्यै बिर्सन सक्दिन ।’ उनको स्मरणमा त्यो दिन ऐतिहासिक छ ।
भिडियो त बन्यो देखाउने कहाँ । नेपाल टेलिभिजनले बिहान ७ बजेको समाचार सकिएपछिको पाँच मिनेटको समय दियो । समय किनेर एक–एक मिनेटको प्रोमो देखाएपछि चर्चा यति भयो । एकै दिन पाँचवटा सम्म भिडियो सुट गरेको बताउछन । एउटा समय यस्तो थियो । लोकदोहोरी गीतको भिडियोका लागि कृष्ण फिल्मसको विकल्पै थिएन भन्दा पनि हुन्छ । त्यहि कम्पनीले नामसंगै दाम पनि कमायो ।
जतिबेला उनी क्यामेराको लेन्सबाट दुनिया नियाल्दै थिए यो पेशामा लाग्नेहरुको भविष्य अन्यौल थियो । उनले सोचे खोखिम नमोली उँभो लागिन्न । साँढे १० लाखमा जग्गा बेचे र क्यामरालगायतका उपकरणमा खर्च गरें । ‘मैले त्यति बेला गरेको आँट खेर गएन ।’ क्यामेरालगायत उपकरणले दामसंगै नाम पनि दिएको कुरा गरे ।
उनी छायाङकनमा मात्रै सिमित भएनन् निर्देशन, छायाङन्, सम्पादन र मोडलिङ समेत गरे । दोहोरी गीत अडियोमा त लोकप्रिय थियो । भिडियो चल्ला नचल्ला । एकखालको द्धिविधा थियो । बस्नेत सम्झन्छन् ‘लोकगीत र लोकदोहोरी पनि हेर्छन् भन्ने सोच बनाएर हामीले ग्रामीण भाकालाई सधैँ प्राथमिकतामा राखेर खिच्यौं ।’
ठूलो पर्दाका जादगर २, जेसुकै होस्, नैना रेशम, टेलिचलचित्र चेली, शक्तिलगायतको छायाङकन गरेका बस्नेतले विभिन्न हेरिटेज वृत्तचित्र, विज्ञापन, सुुसेली, लोकसुसेली, लोकभाका टेलिभिजन कार्यक्रमलगायत झन्डै ६ हजारभन्दा बढी म्युजिक भिडियोको छायांकन गरेका छन् । व्यावसायिक रूपमा खिचेको भिडियो ३५ सय जति भएको बताउछन् ।
जर्वजस्ती मोडल
म्युजिक भिडियो सुटको तयारी पुरा भैसकेको थियो । प्राविधिकहरु कलाकारलाई कुरेर बसेका थिए । अन्तिममा कलाकारले आउन नभ्याउने सन्देश पठाए ।
एकदिनका लागि हुने खर्च भैसकेको थियो । सुटिङ प्याकअप गर्नुबाहेकको विकल्प थिएन । मधुरले सोचे ‘बरु म आफैं मोडलिङ गर्छु जे त होला ।’ भिडियो सोचेभन्दा हिट भयो । त्यसपछि त दर्जनौं गीतमा उनी आफैं मोडल बने । भरिया दाई, मोहनी बोलीमा, मायाले मा¥यो, काली पारे दाइलगायत उनको मोडलिङले चर्चा पाएको गीत मानिन्छ ।






