घरेलु हिंसासँगै घर छोड्न बाध्य एकल महिला

गोरखा । एकल जीवन जिउँदै आएकी गोरखा नगरपालिका – ३ की यसोदा अर्याल (नेपाल) माथि आफ्नै परिवारका सदस्यहरूबाट गम्भीर प्रकृतिका शारीरिक तथा मानसिक यातना र हिंसाका घटना भएपछि उनी विस्थापित भएकी छिन् । हाल उनी सुरक्षाको लागि माईती चितवनमा आश्रय लिइरहेकी छिन् ।

गत शुक्रबार जेठान विद्याकुमार अर्याल र अन्य सदस्यहरूले घरमै गएर साँझको समयमा उनीमाथि हातपात र विभिन्न लांछना तथा उनको ज्यान खतरामा पर्न सक्ने गंभीरत धम्की दिएको पीडित यशोदाले बताइन् । आफूमाथि समय–समयमा यस्ता घटना हुँदै आएको भए पनि यस पटकको घटना निक्कै गंभीर प्रकृतिको भएकाले घर छोड्न बाध्य भएको उनले सुनाइन् ।

जेठानले मदक पदार्थ सेवन गरेर फोनमार्फत एक्लै नबस्न र राती सुत्न आफ्नो घरमा आउन भनेका थिए । यसोदा र विद्याकुमारको घर नजिकै छ । प्रस्ताव अस्विकार गरेको केही समयपछि विद्याकुमार आफ्नो घरमै आएको यसोदाले बताइन् । जेठान आएको देखेपछि यसोदाले चिच्याएर हारगुहार गरिन् । छिमेकीहरु भेला भएपछि विद्याकुमारले सामाजिक लाञ्छनायुक्त आरोप लगाउँदै यसोदामाथि कुटपिट गरेको घटनास्थलमा रहेका हरेराम उप्रेतीले बताए । “विद्याकुमार दम्पतिले नै यसोमाथि हातपात गरेपछि उपस्थित अन्य व्यक्तिहरूले छुट्यायौं,” उनले भने ।

भोलिपल्ट यसोदा नाबालक छोरोसहित घर छोडेर चितवन माइतीमा शरण लिन गएको उप्रेतीले सुनाए । स्थानीय प्रशासन र नगरपालिकामा पीडकको प्रभाव रहेकाले आफू न्याय माग्न जाने अवस्थामा नरहेको यसोदाले बताइन् । “झैझगडा गरेर बस्नुभन्दा घर छोड्नु मेरा लागि सुरक्षित लाग्यो,” उनले भनिन् ।

केही वर्ष पहिले असामयिक दुर्घटनामा पति वसन्त कुमार अर्यालको निधन भएसँगै उनी संघर्षपूर्ण एकल जीवन जिउँदै आएकी छिन् । यसोदाका एक नाबालक छोरा छन् । छोरालाई समेत उनले माइतीमै राख्दै आएकी छिन् । छोरा आदित्यलाई फिर्ता ल्याउन घरबाट दबाब पर्दै आएको उनले बताइन् । आफूमाथि परिवारका सदस्यबाटै विविध खाले लाञ्छना र यातनाका घटनाहरू नियमित जस्तो हुँदै आएको पनि यसोदाको गुनासो छ । मादक पदार्थ सेवन गरेर रातिको समयमा उनलाई आफ्नै जेठानले बारम्बार फोन गर्ने, धम्क्याउने र आफुले भनेको मान्नु पर्ने बताउने गरेका छन् । जेठानी तथा अन्य सदस्यहरू पनि उनलाई नकारात्मक चित्रण गर्न र मानसिक यातना दिन निरन्तर लागिरहेको आरोप छ । आफूलाई पारिवारिक अधिकारहरूबाट वंचित गर्न र व्यक्तिगत शोषण गर्न यस्तो दुव्र्यबहार गरेको यसोदा बताउँछिन् ।

असुरक्षाकै कारण उनले कामको लागि केही वर्ष छिमेकी जिल्ला बाग्लुंगमा समेत बिताएकी थिइन् । नेपाल महिलाका लागि धेरै नियन्त्रित र अनुदार रहेको सामाजिक संरचनामा युवा उमेरमै एकल जीवन जिउनु निक्कै संघर्षपूर्ण हुने गर्छ । त्यसमाथि आफ्नो पक्षमा समर्थन र संरक्षण दिने पारिवारिक सदस्यहरू नभएको परिस्थितिमा उनको जिउ धनको सुरक्षा परिवारकै सदस्यहरूबाट निक्कै चुनौतिपूर्ण रहेको यसोदाकी साथी प्रशंसा भुजेलले बताईन् । अझै पनि परिवारका सदस्यहरूले आफूलाई पच्छ्याएर त्रसित बनाईरहेको यसोदाले बताइकी छिन् । ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा