आर्थिकमन्दीको प्रभाव : घरबासमा पाहुना आउनै छाडे

ढोरपाटन । चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे ।

विसं २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होम–स्टे) सञ्चालनमा ल्याए । घरबास सञ्चालनमा ल्याएपछि उनीहरुको दैनिकी बदलिँदै गएको थियो । एक वर्षमै विश्वभर महामारीका रुपमा कोभिड–१९ फैलियो । यसको प्रत्यक्ष असर यहाँका घरबास सञ्चालकलाई पनि परेको थियो ।

झण्डै दुई वर्ष कोभिडका कारण बन्द भएको घरबास पुनः सञ्चालनमा आयो । गत असोज महिनासम्म तोरीखोला घरबासमा पाहुनाको चाप निकै बढेको थियो । टाढा–टाढाबाट गलकोट घुम्न आउने आन्तरिक पर्यटकको बासस्थान तोरीखोला घरबासनै हुन्थ्यो । पाहुनाको आकर्षक थलो बनेपछि घरबास सञ्चालकको आयआर्जन र जीवनशैली फेरिँदै गएको थियो । जब बजारमा महँगी बढ्यो र तरलता अभाव हुन थाल्यो त्यसपछि घरबासमा आउने पाहुना क्रमशः घट्दै गए । आर्थिकमन्दीले गर्दा पाहुनाको आगमन घटेपछि घरबास सञ्चालक पनि समस्यामा पर्दै गएका छन् ।

कुनै दिन दैनिक ५० जनाभन्दा बढी पाहुन आउने तोरीखोला घरबासमा अहिले महिनामा पचास पुग्न गाह्रो छ । यातायात र इन्टरनेटको सहज पहुँच रहे पनि पाहुनालाई भित्राउन गाह्रो भइरहेको छ । पहिलेको जस्तो पर्यटकीय ठाउँमा घुम्नेको सङ्ख्या घटेपछि घरबासमा बास बस्न आउनेह पनि घटेको सञ्चालकको भनाइ छ । पाहुनाका लागि पालेका स्थानीय जातका कुखुरा घरबास सञ्चालकले बाहिरै बजारमा लगेर बेच्न बाध्य भएका छन् ।

घरबास सञ्चालक सीता पुन भन्छिन् “सबै व्यवस्थापन राम्रो गर्दै गएका थियौँ, दैनिक पाहुनको चाप पनि बढेको थियो, चार/पाँच महिना भयो, यहाँ आउने पाहुना निकै कम हुनुहुन्छ, हाम्रो कमी कमजोरीको कारणले त होइन होला, सबैले राम्रो छ भन्नुहुन्थ्यो, अहिले पाहुना ह्वात्तै घटेपछि हामीहरुलाई पनि अचम्म लागेको छ ।”

चार वर्षदेखि सञ्चालनमा आएको तोरीखोला घरबास गलकोटको हटिया र नरेठाटी बजारदेखि नजिकै पर्छ । हटिया बजारबाट एक घण्टा र नरेठाटी बजारबाट आधा घण्टामा यहाँ पुग्न सकिन्छ । स्थानीयले पाँच घरमा घरबास सञ्चालन गरिरहेको पुनको भनाइ छ । शान्त वातावरण, गाउँले हावापानी र लोकल खानाको स्वाद लिनका लागि पर्यटक यहाँ आउने गरेको सञ्चालक पुनको भनाइ छ ।

गलकोट क्षेत्रमा तोरीखोला घरबाससँगै वडा नम्बर १० को पाण्डपखानीमा सिद्धथान सामुदायिक होमस्टे, वडा नम्बर ६ मा ‘स्टोन भिलेज’ सामुदायिक होमस्टे र वडा नम्बर ११ मा रिघा सामुदायिक होमस्टे सञ्चालनमा रहे पनि पाहुना नआएको सञ्चालक बताउँछन् । यी घरबास सुरुआती चरणमा रहेको हुँदा प्रचारप्रसारलाई जोड दिएको सिद्धथान सामुदायिक होमस्टका अध्यक्ष खिमबहादुर पुनमगर बताए ।

विसं २०७५ मा गण्डकी प्रदेश सरकारको १० लाख सहयोगमा स्थापना गरेको यो घरबास कोभिड सङ्क्रमण फैलिनुपूर्व निकै चलेको भन्दै अहिले सुस्ताउँदै गएको अध्यक्ष पुनमगरको भनाइ छ । प्रदेश सरकारले दिएको अनुदानले घरबासमा इन्टरनेट जडान, बिस्तरा तथा शौचालय व्यवस्थापन गरेको सुनाउँदै पछिल्लो समय पाहुनाको कमी हुँदै गएको बताए ।

“होम–स्टे सञ्चालनमा आएपछि यहाँका दिदीबहिनीहरुले रोजगार पाउनुभएको थियो, यहाँका कला, संस्कृति र मौलिक परम्पराको प्रचार भएको थियो, अग्र्यानिक उत्पादनले मूल्य पाएका थिए, खोलेको एक वर्षमै कोरोना आयो, अहिले बजारमा पैसाको अभाव छ भन्छन्, बैंकमा पैसा पनि पाइँदैन रे त्यही भएर होला पर्यटक घुम्न पनि आउन छोडे ।” उनले भने ।

पाहुनाले लोकल कुखुरा, कोदोको ढिँडो, रक्सी, भाँगोको अचार मन पराउने गरेको हुँदा आफूहरुले उत्पादन बढाएको भन्दै पाहुना कम हुँदा उत्पादन खेर जाने अवस्था आएको पुनमगरले दुखेसो पोखे । घरबासलाई थप पाहुनामैत्री बनाउन स्थानीय जुटेको उनको भनाइ छ । स्थानीय पालिकाले घरबाससम्म पुग्ने सडक र त्यस क्षेत्र ’round रहेका धार्मिक तथा पर्यटकीयस्थललाई व्यवस्थित गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।

उनले पाहुना भित्र्याउनका लागि घरबास सञ्चालकको व्यवहार, यहाँ पाइने परिकार र सरसफाइ मुख्य विषय रहेको भन्दै त्यसलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले सहयोग गरिरहेको बताए । घरबास सञ्चालनसम्बन्धी तालिम, खाना पकाउने तरिकालगायतका विषयमा थप तालिम प्रदान गर्न आवश्यक रहेको भन्दै नगरपालिकाले त्यसको व्यवस्था गर्ने भण्डारीको भनाइ छ ।

“अहिले यहाँ जति पनि होम–स्टे छन्, ती ठाउँ पर्यटकीयस्थल ’round छन्, खास गरी यी ठाउँमा पर्यटक आउँछन् र उनीहरुलाई खाना बस्नको समस्या नहोस् भन्ने हिसाबले होम–स्टे सञ्चालन भएका हुन्”, उनले भने “स्थानीय सरकारले पर्यटन प्रवद्र्धन गर्ने र ती स्थानसम्म पुग्ने सडकलाई व्यवस्थित गर्ने जिम्मा हाम्रो हो, होम–स्टे सञ्चालकले आवश्यक सहयोग माग्ने र सेवालाई गुणस्तरीय बनाउन सके राम्रोसँग चल्छन् भन्ने हामीहरुलाई लागेको छ ।”

उनले पर्यटनमार्फत गलकोट समृद्ध बनाउने लक्ष्य रहेको भन्दै पर्यटन प्रवद्र्धनमा नगरपालिकाले काम गरिरहेको बताउनुभयो । गाईघाट झरना, टेउवाको मूर्तिकला, गलकोट दरबार, घुम्टे लेकलगायत धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि विगतका वर्षदेखि पूर्वाधार निर्माण गर्दै आएको प्रवक्ता भण्डारीको भनाइ छ । राससबाट

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आयोजनामा स्वास्थ्य शिविर