जब शिक्षक–विद्यार्थी सांस्कृतिक वेशभूषामा विद्यालय पुगे

बर्दिया । बुट्टेदार लेहंगा चोली, पहेंलो अग्रान, घाँटीमा चाँदीका सिक्का जोडिएका माला र हातमा चाँदीका बाला अनि पिठ्यँुमा थियो झोला । त्रिभूवन नमुना माध्यमिक विद्यालय भुरीगाउँमा ९ कक्षामा पढ्ने नीरा थारू कुनै विवाह भोजका लागि सजिएकी भने होइनन् । उनी त सधैंझै पढ्नका लागि विद्यालय जान सजिएकी हुन् । सधैं विद्यालय पोसाकमा जाने नीरा मंगलबार भने आफ्नो जातिको संस्कृति झल्कने पोसाकमा विद्यालय पुगेकी थिइन् । विद्यालयले त्यो दिन आ–आफ्नो संस्कृति झल्कने वेशभूषामा विद्यालय आउनका लागि छुट दिएपछि उनी थारू संस्कृति झल्कने वेशभूषामा सिँगारिएर विद्यालय आएकी हुन् ।

उनी मात्र होइन, विद्यालयका बालविकासदेखि १२ कक्षासम्मका अधिकांश विद्यार्थी आ–आफ्नो सांस्कृतिक पोसाक लगाएर विद्यालय पुगेका थिए । विद्यार्थीसँगै शिक्षक पनि आफ्नो संस्कृति झल्कने पोसाकमा सजिएर विद्यालय आएका थिए । सधैं समान तथा एकैनास देखिने विद्यार्थीमा विविधता देखिन्थ्यो । कक्षा कोठा र विद्यालयको प्रांगण त्यस दिन रंगीनमय बनेको थियो । शिक्षक विद्यार्थी सबैजना रंगीविरंगी देखिन्थे । उनीहरूको अनुहार, हाउभाउ हेर्नलायक थियो । विद्यार्थीहरूको अनुहार कौतुहल र प्रशन्नताले भरिएको देखिन्थ्यो । विद्यार्थीहरू एकले अर्काको पोसाक हेरेर मक्ख देखिन्थे । सधैं एकै पोसाकमा देखिने सहपाठीलाई सांस्कृतिक पोसाकमा देख्न पाउँदा दंग परेका थिए । कक्षा कोठामा एकले अर्काको संस्कृति र वेशभूषाका ’boutमा चासो राख्दै सोधखोजी पनि गरेको देखिन्थ्यो ।

‘हामी हाम्रो संस्कृतिमा रमाउँछौं, हामी हाम्रो संस्कृतिमा गर्व गर्छौं’ भन्ने मूल आशयलाई आत्मसात गर्दै विद्यालयले एक दिन विद्यार्थी, शिक्षक र कर्मचारीलाई परम्परागत मौलिक सांस्कृतिक वेशभूषामा विद्यालय आउने कार्यक्रम बनाएकाले विद्यार्थी शिक्षक आ–आफ्नै वेशभूषामा विद्यालय पुगेका हुन् ।

विद्यालय समाजको ऐना भएकाले विद्यालयभित्र सामाजिक तथा सांस्कृतिक विविधतालाई प्रतिबिम्बित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक वामदेव ढकालले बताए ।

उनले भने, ‘विद्यालय समाजको एक अभिन्न अंग हो, समुदायका विभिन्न जाति, क्षेत्र र धर्मका सांस्कृतिक पहिरनको ’boutमा विद्यार्थीलाई जानकारी प्रदान गर्न सांस्कृतिक वेशभूषामा विद्यालय प्रवेश कार्यक्रम गरिएको हो ।’

११ कक्षामा अध्ययनरत मुस्लिम समुदायकी यमन बानुले आफ्नो सांस्कृतिक वेशभूषामा विद्यालय प्रवेश गर्न पाउँदा निकै खुसी तथा गर्व लागेको बताइन् । आफ्नो सांस्कृतिक पहिरनमा विद्यालय आउन पाउँदा गर्व गर्दै उनले भनिन्, ‘मलाई विद्यालय पोसाकमा देख्दा साथीहरूले हिन्दू धर्मको अनुयायी ब्राह्मण, क्षेत्री भन्ठान्थे होला । आज आफ्नै पहिरनमा उपस्थित भएर मैले सबैका सामु मुस्लिम महिला हुँ भन्ने देखाउन पाउँदा गर्वको अनुभव गरेको छु ।’

आफ्नो पहिरनमा विद्यालय आउन पाउँदा विद्यार्थीहरूले आफूहरूमा नयाँ स्फूर्ति, जिज्ञासा, रमाइलोपन महसुस हुनुका साथै गर्वको अनुभूति भएको बताए । ९ कक्षामा अध्ययनरत कपेन्द्र शाहीले भने, ‘निकै फरक अनुभूति भयो, रमाइलोसँगै ज्ञान पनि आर्जन भयो, आफ्नो समुदायका विभिन्न जातजातिका परिहनलाई प्रत्यक्ष देखेर सिक्ने अवसर पाइयो ।’

विद्यालयको यस कार्यक्रमबाट विद्यार्थीहरूमा सांस्कृतिक सद्भाव र सहिष्णुताको विकास भएको विद्यालयका सहायक प्रधानाध्यापक जीवराज पाण्डेयले बताए । उनले भने, ‘विद्यालयको यस्तो कार्यक्रमबाट अल्पसंख्यक जाति, समुदायलाई लुकेर रहेको आफ्नो पहिचानलाई पहिरनमार्फत स्थापित गर्ने मौका मिलेको छ ।’

विद्यालयले आयोजना गर्ने यस्ता मौलिक कार्यक्रमबाट विद्यार्थीहरूमा गरेर सिक्ने, भोगेर सिक्ने पद्धतिमार्फत सिकाइ प्रक्रिया अगाडि बढेको शिक्षकहरूको भनाइ छ । विद्यार्थीहरू संस्कृतिको महत्व, संरक्षण, सम्बद्र्धन गर्ने दिशामा प्रत्यक्ष सहभागी भएको विद्यालयका शिक्षकहरू बताउँछन् ।

विद्यालयले गरेको कार्यक्रमको प्रशंसा गर्दै स्थानीय अभिभावक चक्रबहादुर शाहीले भने, ‘संस्कृतिको हस्तान्तरण गर्ने शिक्षाका कार्यहरूलाई सफल पार्न विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 414 times, 1 visits today)

epaper

ताजा समाचार

थलाराको शिक्षामा डिजिटल क्रान्ति