उजेली भाउजुले दिक्दार मुद्रामा भन्नु भयो ‘बाह्र भाइ तेह्र नाति, बूढाको धोक्रो काँधमाथि’ भनेझैं छोराछोरीले सुख देलान भन्ने वेलामा बुढाबूढी मात्र छौं बाबु घरमा । काम नगरी छाक टर्दैन । उमेर छँदा दुःख जिलोगरी छोराछोरीलाई पढाईयो । काठमाण्डौं राखेर उच्च शिक्षा पढाउँदा घरको आम्दानीले धानेन । पैत्रिक सम्पत्तिको एउटा खेत पनि बच्यौं । पढे पछि छोराछोरीले कमाउलान् । बढेसकालका सहारा बन्लान् भन्ने थियो । तर त्यसो होइन रहेछ बाबु ।’ भाउजुका गन्थन सुनेर होला, दुर्गादाइ घर भित्रबाट बाहिर निस्किए । ढोग दर्शन गरें । उनले भने,‘सहरतिर बसेपछि त गाउँ सबैले बिर्सने रहेछन्, भाइ कहिले आइस्?’ मैले दाइको जबाफ दिए पछि उही भाउजुले भनेका कुराहरू फरक ढङ्गले उठाए उनले । ‘घरमा छोराछोरी बसेनन् । खेतखला बाँझिए ।छोराछोरीलाई पढाउँदा धेरै सम्पत्ति पनि सकियो । आफ्नो उमेर सकियो । अहिले विदेश भासिए ।
दुर्गादाइले कपाल कन्याउँदै भने, ‘कति पढे ? के बिषय पढे ?मलाई कालो अक्षर भंैसी बराबर भनेजस्तो थाहा भएन । पढ्दा र जागिर खोज्न भौतारिंदा काठमाण्डौमा एक दशक भन्दा बढि बसे । जागिर पाएनन् । विदेस जान्छु भने । उनीहरूको बाध्यता बुझेर ऋण खोजेर जेठोलाई अष्टे«लिया पठाएँ । कान्छो अमेरिका गयो । छोरीको विहे भएपछि जापान गई । पढाई र विहेको ऋण चुक्दागर्न अझै बाँकी छ । केगर्नु ? आम्दानी छैन । उमेर बढेसँगै रोग र चिन्ता पनि बढ्दो रहेछ भाइ । यो गाउँमा धेरै जसोका छोराछारीहरू गाउँमा छैनन् । पल्लाघरे इन्द्रका छोराहरू पनि विदेशमै छन् । इन्द्र विरामी छन् । बुहारीले जे न तेन घरधन्दा चलाएकी छिन् ।’ दुर्गा दाइको कथन नटुङ्गिदै भाउजुले चिया लिएर आउनु भयो ।
चियाको गिलास पिंढिमा राख्दै मैले भने, ‘अहिले गाउँमा धेरै परिवर्तन भएछ दाइ । गाउँमा बाटो आएछ । बिजुली पनि बलेछ । गाउँ पालिकाको भवन पनि ठूलो बनाएछन् । खरका छानाहरू टिनमा परिणत भएछन् ।स्कूलको भवन ठूलो बनेछ । खेल्ने मैदान, पुस्तकालय, शौचालय राम्रो बनेको रहेछ । आपूmले पढ्दा यस्तो सुविधा थिएन । तर पढ्ने विद्यार्थीहरूको संख्या भने हवत्तै घटेछ हिजो विद्यालयको हेडसरसँग भएका कुराकानीहरूको निचोड सुनाउँदै भनें ।’ दुर्गा दाइलाई मेरा कुराले शान्ति दिएनछ । उनले निराश हुँदै भने, ‘बाटो आएर के गर्नु ? यी ६ महिने बाटाहरू । सरकारको पैसा हरेक बर्ष यिनै बाटाहरूमा डोजर लगाउँदा खर्च हुन्छ ।जताततै पहिरो गएको छ ।’उनले थपे, ‘घरमा बत्ति त बलेको छ । तर गाउँलेहरूको मन उज्यालो छैन । बिजुलीको बिल तिर्न पनि छोराछारीले विदेशबाट पैसा कहिले पठाउलान् भनेर कुर्नु पर्छ । विजुली, धारा, जग्गाको कर, आदिको विल तिर्न पनि आम्दानी छैन गाउँमा । पैसा पठाए घर चल्छ । नत्र ठन्डाराम । यस्तो विकासले शान्ति दिंदो रहेनछ ।’
संवादकै व्रmममा दुर्गा दाइले थपे, ‘स्कूल ठूलो भएर के गर्नु ? पढ्ने केटाकेटीहरू छैनन् । हेडसरले पनि छोरीछोरीहरूलाई शहरको बोडिङ् स्कूलमा पढाउँछन् । अनि मधुसर र सर्मिला मेडमले पनि ।’ सक्ने जतिले बसाईसराई गरे । पढेकाहरू गाउँमा बसेनन् । कसरी विद्यालयमा पढ्ने केटाकेटीहरू हुनु ?’ हाम्रो कुराको बिट् नमर्दै कुमार काका टुप्लुक्क आइ पुगे । भलाकुसारीकै व्रmममा काकाले भने, ‘आज बैंकमा जानु छ । छोराले पोर्चुगलबाट अलिकति रकम पठाएको छु ,भनेको छ । यो रकम पर्खिएको दुई महिना भयो । परिवार (श्रीमति) लाई चेकजाँच गर्न शहर जानु छ ।’
विश्वविद्यालयसम्मको अध्ययनले आफ्नो खुट्टामा उभिन सक्ने, आफै उद्यमी हुने र स्वरोजगारको ढोका खोल्ने सीप प्रदान गर्न सकेन
काकाले गुनासो गरे, ‘भैंसी पनि बिव्रmी भएन । दुई चार दिनको लागि भैंसी यहीं ल्याएर राख्न सक्छस् की दुर्गा ? म नफर्किउन्जेल । साँझ बिहानगरी ४÷५ लिटर जति दूध दिन्छ । झन पछि झन गाह्रो भो । गाउँमा कोही छैनन् । जहान विरामी भएको ती महिना भो । पहिले रकम भएन । छोराले पैसा पठाउन ढिलो गर्यो । अहिले भैंसी व्याएर घर छोड्न नसक्ने भइयो । दुर्गा दाइ बोलेका थिएनन् । काकाले थपे, ‘फर्केर आएपछि भैंसी नबेची भएको छैन । छोरीले अष्ट्रेलियाबाट फोन गरेर आमालाई यतै जचाउँला लिएर आउनुस भनकी छे ।’ कुमार काकाले थपे, तिमीहरूलाई पनि सहज त कहाँ छ र ? ‘पिलबोटे काइलालाई भैंसी जिम्मा लगाउँछु भनेको थिएँ । उ पनि पासपोर्ट बनाउन काठमाडौं जाने कुरा रहेछ । भोलि नै हिँड्ने रे । छोराले क्यानडा बोलाएको छ रे । जेठी बुहारी दुईजीउकी भएकीले ४÷६ महिना नै बस्नेगरी छोरा बुहारीले बोलाएका रहेछन् ।’ टाउकोको टोपी निकाल्दै कालेले मलिन स्वरमा भने, ‘जीवन जीउन गाह्रो भो ।’
माथि उल्लेखित संवादले हाम्रा धेरै गाउँठाउँको अवस्थालाई प्रतिनिधीत्व गर्दछन् । अहिले गाउँघरहरू पढे लेखेको युवाहरू बस्दैनन् । उनीहरूले पढेको शिक्षाले उनीहरूलाई घर परिवारबाट टढायो । विश्वविद्यालयसम्मको अध्ययन गरेर पनि शिक्षितहरूलाई स्वदेशमा रोजगारको अवसर नहुँदा उनीहरूलाई घर परिवार र देशबाट नै टाढिनु परेको छ । हाम्रो शिक्षाले शिक्षितहरूलाई स्वदेशमा टिकाउन सकेन । कुनै पनि काममा बिकाउन सकेन । राज्यले ठूलो लगानी गरेर चलाएका शैक्षिक संस्थाहरूले अन्तराष्ट्रिय बजारका कामदारहरू मात्र उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । जानिफकारहरू भन्छन्, ‘अहिलेको शिक्षाले अभिभावकहरूको बढेसकालको साहारा खोसी दिएको छ । मानसिक वेचैनी बढाइदिएको छ । गाउँघरहरू रित्याइदिएको छ ।’
शिक्षाले व्यक्ति, समाज र देशलाई दिशा निर्देश गर्ने उर्जा हो । देशका हरेक क्षेत्रमा काम गर्न योग्य जनशक्ति निर्माण गर्ने माध्यम हो । व्यक्ति र समाजको आर्थिक समृद्धिको आधार हो । शिक्षाले यो आधारलाई भरपर्दो बनाउन नसक्दा समाजमा अनेक समस्याहरू सिर्जना भएका छन् । राज्यले नागरिकहरूलाइ दिएको शिक्षा र यसबाट उत्पादित शिक्षितवर्ग आत्म निर्भर बन्न सकेन । विश्व विद्यालयसम्मको अध्ययनले आफ्नो खुट्टामा उभिन सक्ने, आफै उद्यमी हुने र स्वरोजगारको ढोका खोल्ने सीप प्रदान गर्न सकेन । देशले युवाशक्तिलाई विकास निर्माणमा लगाउन सकन । देशको शिक्षा प्रणाली कै कारण अभिभावकहरूले पढेलेखेका छोराछारीहरूबाट टाढा भएर बस्नु पर्ने वाध्यात्मक परिस्थितिको सिर्जना भएको छ ।
शिक्षितहरूले अभिभावकहरूसँगै बसी आफ्नै गाउँठाउँमा आयआर्जन गरी खाने ज्ञान र सीपको केन्द्र बनाओस्
राज्यले शिक्षित जनशक्तिलाई आप्mनै गाउँ ठाउँमा रोक्ने हो भने देशका विद्यालयतहदेखि विश्वविद्यालयसम्मको शिक्षालाई रूपान्तरण गर्न अनिवार्य छ । भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र, शिक्षाशास्त्र, दर्शनशस्त्र वा समाजशास्त्रका सैद्धान्ति बिषयबस्तुको अध्ययन अध्यापनले शिक्षितलाई शास्त्रको ज्ञान दियो । गरी खाने बनाउन सकेन । शिक्षा घोकन्ते भयो । रटन्ते भयो । घोकन्ते र रटन्ते विद्यामा सिर्जना हँुदैन । मौलिकताले ठाउँ पाउँदैन । नयाँ चिन्तनको विकास हुँदैन । पेसागत सीप हुँदैन । यस्तै भईरहेको छ । त्यसैले हाम्रो जस्तो कृषि प्रधान देशमा राज्यले कृषि शिक्षालाई प्रथमिकता दिनु पर्दथ्यो । दिएन । आधुनिक खेति, पशुपंछी पालन, फलपूmल खेति, तरकारी खेती, माछा पालन, माहुरी पालन जस्ता पेसागत ज्ञान तथा सीप प्रदान गर्नु पर्दथ्यो । गरेन । पुस्तौली पेसालाई आधुनिकीकरण, यान्त्रीकीकरण, व्यबसायीकरण र बजारीकरण गर्नसर्ने प्रयोगात्मक शिक्षा प्रणाली गरेन । शिक्षालाई वैज्ञानिक, प्रयोगात्मक र सिर्जनसील बनाउन पर्दथ्यो । बनाएन । त्यसैले शिक्षत युवाहरू विदेश पलायन भए ।
अन्त्यमा युवाहरूदेशका पूँजी हुन् । परिवर्तनका संवाहक हुन् । विकासका आधार हुन् । समाजलाई व्युझाउन, उठाउन र हिंडाउन सक्ने विचार, जोस र होस् भएका मानव स्रोत हुन् । यिनीहरूलाई स्वदेसमा नै टिकाउनु पर्दछ । यसको लागि रोजगारमुलक शिक्षा अनिवार्य हुन्छ । हाम्रा गाउँघरहरमा उपलब्ध प्राकृतिक स्रोत, साधन, र सम्पदाहरूको अनुसन्धान, उत्खनन, उत्पादन र उपयोग गर्न सक्ने गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । शिक्षितहरूलाई स्वदेशमा रोक्ने उपाय हो । तसर्थ राज्यले किन्तु, परन्तु केही नभनीकन शिक्षालाई रोजगारमुलक बनाओस् । यसकालागि तदअनुरूपको शिक्षानीति, पाठ्यव्रmम निर्माण, पाठ्यपुस्तकमा विषयवस्तुको चयन, शिक्षण सिकाई र प्रयोगात्मक अभ्यास गर्ने र गराउने काम गर्न अनिवार्य हुन्छ । हुन सकोस् । शिक्षितहरूले अभिभावकहरूसंगै बसी आप्mनै गाउँ ठाउँमा आयआर्जन गर्न सक्षम बन्न सकुन् । शिक्षालयहरूलाई गरीखाने ज्ञान र सीपको केन्द्र बनाओस् ।






