जसको डुंगाले महाकाली नदीमा ठाउँ पाएन


बैतडी । नेपाल–भारत सीमा नदी महाकालीमा डुंगा चलाउँदा खुसी नै थिए बैतडी पञ्चेश्वरका डुंगा चालक सुरेन्द्र चन्द । बिहानै घाटमा पुग्थे । दिनभर डुंगा चलाउँथे र साँझपख सरसामानको पोको बोकेर घर आइपुग्थे । उनीसँगै घरमा दाल, चामल तरकारी मात्रै हैन खुसी पनि आउँथ्यो ।

हाँसी खुसी रमाउँदै आएका चन्द विगत १ वर्षदेखि भने निराश छन् । कारण उनको डुंगाले महाकाली नदीमा ठाउँ पाउन छाडेको छ ।
बैतडीस्थित महाकाली नदीका ८ वटा घाटमध्ये अन्य ठाउँमा सहजै डुंगा सञ्चालनमा भए पनि विनायक घाटमा डुंगा सञ्चालन गर्न समस्या भएको छ । त्यही मारमा परेका छन् चन्द ।

विनायक घाटमा डुंगा चलाउन भन्दै ६६ हजार रुपैयाँ राजस्व तिरे । १ लाख २० हजार तिरेर नयाँ डुंगा बनाए । काठबाट बनेको डुंगाको म्याद एक वर्ष मात्रै हुन्छ । उनले बनाएको डुंगा पानीमा तैरिन पाएकै छैन मिति सकिनै लाग्यो । ‘गाउँपालिकाले खोलेको ठेक्कामा मैले ६६ हजार रुपैयाँ राजस्व तिरेर डुंगा चलाउने अनुमति पाएँ । तर, डुंगा चलाउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोक्यो,’ उनले भने ‘विनायक घाटमा डुंगा चलाउन भारतीय प्रशासनको अनुमति चाहिन्छ रे गाउँपालिकाले दिएको अनुमति देखाउँदा चलाउन दिँदैनन् ।
महाकाली नदीको अन्य घाटमा भने यो नियम छैन । जोसुकैले सहजै डुंगा चलाउँदै आएका छन् । ‘डुंगा चलाउन नपाएपछि पटक–पटक गाउँपालिकामा धाएँ । कुनै सुनुवाई भएको छैन’ दुखेसो गर्दै उनी भन्छन् ‘यदि डुंगा चलाउन नपाउने हो भने मैले अनुमतिका लागि तिरेको ६६ हजार रुपैयाँ फिर्ता पाऊँ भनें त्यो पनि मिल्दैन भने ।’

गाउँपालिकालाई बुझाएको राजस्व रकम फिर्ता गर्न नमिल्ने पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहराको भनाइ छ ‘पीडित व्यक्ति हाम्रो कार्यालयमा धाउने गर्नुहुन्छ, उहाँ समस्यामा पनि हुनुहुन्छ, तर राजस्व तिरेको पैसा फिर्ता गर्न भने मिल्दैन,’ बोहोराले भने ।

सीमा नदी महाकालीका अन्य घाटमा सहजै डुंगा सञ्चालनमा आए पनि विनायकमा डुंगा चलाउन नपाउनु दुःखद् पक्ष भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दको भनाइ छ । विगतमा जिल्ला विकास समितिमार्फत् ठेक्का खोल्ने गरिएकोमा पछिल्लो समय गाउँपालिकाले ठेक्का खोल्ने गरेको जानकारी दिए उनले । ‘अन्य घाटमा ठेक्का परेका व्यक्तिले सहजै डुंगा चलाएका छन् । विनायकमा मात्रै यस्तो समस्या आयो । यसका लागि जिल्ला प्रशासनदेखि सम्बन्धित ठाउँमा खबर ग¥यौं । तर, समस्या सुल्झिएको छैन,’ अध्यक्ष चन्दले भने ।

विनायक घाटमा डुंगा सञ्चालनका लागि भारतीय जिल्ला प्रमुखको अनुमति खोजेकोमा कसरी के गर्ने समस्या भएको अध्यक्ष चन्दको भनाइ छ । ‘यो समस्या समाधानका लागि माथिबाटै समन्वय जरुरी छ’ उनले भने । भारतको चम्पावत जिल्लासँग जोडिएका घाटमा समस्या नभएको तर पिथौरागढसँग जोडिएको घाटमा समस्या देखिएको अध्यक्ष चन्दले बताए ।

भारतीय नागरिकले महाकाली नदीमा ट्युबमार्फत् मान्छे तारेर रकम लिने गरेकाले नेपाली नागरिकलाई डुंगा सञ्चालनमा रोक लगाएको स्थानीयको भनाइ छ ।

पञ्चेश्वर गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया र पञ्चेश्वर घाट तथा शिवनाथका घाटमा सहजै डुंगा सञ्चालनमा छन् । यी घाटमा भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने व्यक्ति र सरसामान ओसारपसार गर्ने गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 927 times, 1 visits today)

epaper

ताजा समाचार

हत्या अभियोगमा लिम्बु पक्राउ