बझाङ । खप्तडछान्ना गाउँपालिका माझिगाउँका अध्यक्ष उत्तमबहादुर रोकायाका बुबा वीरबहादुर रोकायाको ७९ वर्षको उमेरमा सोमबार निधन भयो । मंगलबार दिउँसो सेतीनदी जराड घाटमा उनको दाहसंस्कार गरियो ।
अन्तिम संस्कारका लागि शव घाटमा लगिसकेपछि मलामीहरू आआफ्नो काममा बाँडिए । दाउरा खोज्ने, चिता बनाउनेलगायतका काम गर्दैगर्दा मलामीको एउटा समूह भने मलामीहरूबाटै नगद संकलमा लागे । बझाङमा २०५२ सालदेखि घाटमै नगद संकलन गर्ने चलन सुरु भएको हो ।
शव जलिसक्दा नसक्दै सबैले हिसाब गरे ४२ हजार नगद रकम जम्मा भयो । जुन रकम बझाङमा घाटमा जम्मा भएको अहिलेसम्मकै धेरै रकम हो । घरमा झन्डै ४ क्विन्टल धान जम्मा भयो ।
बझाङमा कोही पनि व्यक्तिको मृत्यु हुँदा यसैगरी नगद र अन्न जम्मा गर्ने चलन छ । त्यसरी जम्मा भएको रकम र नगद काजक्रियामा खर्च गर्ने चलन छ ।
‘गाउँमा यसरी जम्मा भएको रकम र अन्न पितृप्रसादका रूपमा प्रयोग गर्ने चलन छ,’ खप्तडछान्ना गाउँपालिका–४ का स्थानीय तथा खप्तडछान्ना गाउँपालिकाका पूर्वअध्यक्ष बर्कबहादुर रोकायाले भने । उनका अनुसार गाउँमा कसैको मृत्यु हुँदा गाउँलेहरूले कात्रो दिने चलन थियो । त्यसरी दिएको कात्रो शवसँगै सेतीघाटमा जलाउने चलन थियो । ‘कात्रो दिएर खेर फाल्नुभन्दा पैसा भए काम लाग्छ भनेर १०÷२० रुपैयाँ उठाउन थाल्यौं,’ रोकायाले भने, ‘कात्रोको सट्टा पैसा दिने कुरामा गाउँलेहरू सहमत भए ।’
यसरी रकम जम्मा गर्न थालेपछि मृत्यु परेको घरमा क्रिया गर्न सहज भएको उनको भनाइ छ । ‘२०५२ सालअघि गाउँले र इष्टमित्रले कात्रो नै दिन्थे, अहिले सबैले नगद दिन्छन्,’ पूर्वअध्यक्ष रोकायाले भने ।
नगद जम्मा हुन थालेपछि क्रिया गर्दा लाग्ने आधाजसो खर्च सहयोग रकम र अन्नले धान्न थालेको उनको भनाइ छ । पितृ शोकमा परेका रोकायाले गाउँलेहरूले सुरु गरेको अभियानले पीडामा परेका परिवारलाई राहत मिलेको अनुभूति गरेको बताए ।
‘मेरा बालगायत गाउँका अन्य व्यक्ति मिलेर यो चलन सुरु गर्नुभएको थियो, आज उहाँको मृत्यु हुँदा उहाँहरूले सुरु गरेको परम्पराले निरन्तरता पाएको छ,’ रोकायाले भने, मलाई खुसी लागेको छ ।’ आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो अभियान अझै बढी प्रभावकारी भएको पितृ शोकमा रहेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले बताए । ‘जो आर्थिक रूपमा निकै कमजोर छन्, मृत्युपछि लास मसानघाटसम्म लान पनि समस्या छ, उहाँहरूका लागि यो अभियानले निकै सहयोग गरेको छ,’ रोकायाले भने ।
शव मसानघाटसम्म पु-याउँदा गाडीले लिने भाडा, बाजा बजाउँदा लाग्ने खर्च र दाउरा किन्ने पैसा उठेको रकमबाटै खर्च गर्ने गरेको स्थानीय खडकराज जोशीले बताए । खप्तडछान्ना गाउँपालिका–४ माझीगाउँबाट सुरु भएको यो संस्कार अहिले खप्तडछान्ना गाउँपालिकाको धेरै गाउँमा सुरु भएको छ । यो संस्कारको सुरुवातपछि घरमा कुनै परिवारका सदस्यको मृत्यु हुँदा ऋण काढ्नुपर्ने अवस्था अन्त्य भएको पूर्वअध्यक्ष बर्कबहादुर रोकायाले बताए ।






