यतिखेर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वका धेरै मुलुक आक्रान्त बनिरहेका छन् । अत्यन्तै विकसित मानिएको र आफूलाई ‘सुपरपावर’ ठान्ने अमेरिकालगायत युरोपका विकसित देशमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ । विशेषगरी, पछिल्लो समय इटाली, स्पेन, जर्मनी, फ्रान्स, बेलायत इरान, स्विट्जरल्यान्ड, अस्ट्रेलियालगायतका देश कोरोनाको संक्रमणले आक्रान्त बनिरहेका छन् । विश्वव्यापी रूपमैै संक्रमण बढिरहेकाले यसको महामारीले अझै उच्च रूप लिन सक्ने भय बढेर गएको छ । विश्वका १ सय ८० भन्दा बढी मुलुकमा कोरोना भाइरस पुगिसकेको छ । नेपालमा पनि हालसम्म तीन जनामा यो रोगको संक्रमण देखिएको छ । एक जनालाई सन्चो भइसकेको र अरू दुई जनाको स्वास्थ्यमा सुधार हुँदै गएकाले हामीले अहिलेसम्म मानवीय क्षति भोग्नुपरेको छैन । आशा गरांै, नेपालमा यो संक्रमणबाट कसैले पनि ज्यान गुमाउनपर्ने स्थिति आउनेछैन । त्यसका लागि सरकारले सम्भावित समस्यासँग जुध्न सक्ने गरी आवश्यकीय चिकित्सा सेवा तयारी अवस्थामा राख्नुपर्छ ।
सरकारले कोरोना भाइरसको सम्भावित महामारी रोक्न सिंगो देशलाई नै लकडाउनमा राखेको छ । सरकारको यो निर्णय आमनागरिकको हितमा छ । तर, विडम्बना हामी लकडाउन उल्लंघन गर्दै जथाभावी हिँडिरहेका छौं । कतिपयले सरकारको यो निर्णयलाई निकै सामान्य र खेलाँचीका रूपमा लिइरहेका छन् । महामारीजस्तो संक्रमणलाई हल्का रूपमा लिने भयानक मूर्खता भइरहेको छ । कोरोनाको संक्रमण यति चाँडै फैलन्छ कि केही समयसम्म त्यसको कुनै पत्तो नै हुँदैन । एक व्यक्तिले थाहै नपाई कैयांै व्यक्तिलाई सार्न सक्ने उत्तिकै सम्भावना रहन्छ । त्यसैले, यो संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै आफ्नै घरमा सुुरक्षित साथ रहनु हो ।
यतिखेर सिंगो देश संकटमा छ । सरकारका सबै गतिविधि नै कोरोनाको सम्भावित जोखिमलाई कमी गर्ने कार्यमा मात्रै केन्द्रित छ । त्यसैले, यस्तो संकटकालीन अवस्थामा सरकारले केही पनि गर्न सकेन भन्ने गलत अफवाह फैलाउनुभन्दा पनि सरकारलाई उचित सहयोग गर्नुपर्छ । यस्तो समयमा सरकारका केही मन्त्रीहरूले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेका छन् । स्वास्थ्यमन्त्रीले महामारी नियन्त्रण गर्न जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिका निर्वाह हुन सकेको छैन । मन्त्री आफंै पनि यस्तो समयमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने विषयमा संवेदनशील बन्न जरुरी छ । सरकारी पदमा बस्नेहरू शासक प्रवृत्तिभन्दा पनि सेवक प्रवृत्तिबाट सञ्चालित हुन सक्नुपर्छ ।
सरकारले गरेको लकडाउनको निर्णय त्यहाँका जनताले नमान्दा आज इटालीले सबैभन्दा ठूलो पीडा र क्षति बेहोर्नु परिरहेको छ । एक महिनाको अवधिमा मात्रै इटालीमा ५० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने एक महिनाको अवधिमा ४ हजार बढीको मृत्यु भएर अहिले मृत्यु हुनेको संख्या ८ हजार पुग्ने क्रममा छ । यदि नेपालमा पनि हामीले सरकारले गरेको लकडाउनलाई उल्लंघन गर्दै गयांै भने इटालीकै जस्तो भयानक क्षति बेहोर्नुपर्ने छ । त्यतिखेर हामी जोसुकै पनि मृत्युको मुखमा पर्न सक्छांै । त्यसैले, कोरोना भाइरस संक्रमण रोकथाम, न्यूनीकरण र नियन्त्रणमा गर्न सबै जना घरमै बसेर काम गरांै, कुनै किसिमको लापर्बाही नगरांै ।






