नवौंपटक विस्तार हुँदा पनि सरकार अपूर्ण

काठमाडौं । नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । नवौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि सरकार अझै अपूर्ण छ ।

राष्ट्रपति पौडेलले बुधबार कांग्रेस सांसद धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरू सरकारमा सहभागी भएसँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ ।

सरकारमा सहभागी गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतले स्वास्थ्य तथा जनसंख्या र लिम्बूले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनीहरू तीनै जनाले शपथपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि ३ वैशाखमा आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसबखत कांग्रेस सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरिएको थियो ।

यस्तै, त्यसअघि १७ चैतमा कांग्रेसका तर्फबाट चार सांसद सातौंपटकको विस्तारमा मन्त्री नियुक्त भएका थिए । त्यसबखत पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, सीता गुरुङ सहरी विकास र रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए ।

त्यसअघि १६ फागुन, १४ फागुन, २३ माघ, १४ माघ र ३ माघमासमेत मन्त्रिपरिषद् विस्तार भएको थियो भने प्रधानमन्त्री प्रचण्डले ११ पुसमा प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए ।

अझै पनि प्रधानमन्त्री मातहत वन मन्त्रालय र खानेपानी मन्त्रालय छ । सत्ता गठबन्धनबीचमा मन्त्रालय भागबन्डा गर्दा वन मन्त्रालय जनता समाजवादी पार्टीको भागमा परेको थियो भने खानेपानी मन्त्रालयबाट जनमत पार्टीका अब्दुल खान बाहिरिएपछि प्रधानमन्त्री आफैंले सम्हाल्दै आइरहेका छन् । जसपाले वन मन्त्रालयमा कसलाई पठाउने अझै निर्णय लिएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन