सहर बजारमा सञ्चालनमा आएका कतिपय सुविधा सम्पन्न अस्पतालले गतिलो सेवासुविधा दिन नसकेको गुनासो आइरहेको बेला जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ठ अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन एवं मुल्यांकन गर्दा उक्त अस्पताल मुलुकभरमै उत्कृष्ट हुन सफल भएको थियो । पाँच जना विषेशज्ञसहित १२ जना डाक्टर कार्यरत उक्त अस्पतालले दिने सेवाप्रति सर्वसाधारण सन्तुष्ट मात्रै छैनन् अन्य सुविधा सम्पन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई ती चिकित्सकले सन्देश पनि दिएका छन् । ‘इमानका साथ काम गर । कामको मूल्यांकन हुन्छ ।’
बैतडी अस्पतालमा जो चिकित्सक कार्यरत छन् ती अन्त अवसर नपाएर बैतडी पुगेका होइनन् । अन्य सुविधा सम्पन्न अस्पतालमा कार्यरत चिकित्सक जत्तिकै दक्ष छन् । कतिपय चिकित्सक एवं कर्मचारी दुर्गम क्षेत्रमा सरुवा भएर पनि जान नमानिरहेको हामीले देखेकै छौं । यदि नियत खराब थियो भने तिनले पनि सोर्सफोर्स लगाएर भए पनि सहरी क्षेत्रकै सुविधायुक्त अस्पतालमा काम गर्न सक्थे । अस्पालकै छेउछाउमा क्लिनिक वा औषधी पसल थापेर बिहान बेलुका मज्जैको आम्दानी गर्ने हैसियत राख्थे । क्षमता हुँदा हुँदै पनि त्यो काम गरेनन् ।
केही चिकित्सकका खराब शैली रुखो व्यवहारकै कारण समग्र चिकित्सकको नियतमाथि प्रश्न उठ्ने पनि गरेको छ । चिकित्सकको व्यवहारकै कारण अस्पताल तोडफोड समेत भएका घटना हाम्रैसामु छर्लंग छ । त्यस अर्थमा जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक त्यस्ता पात्र हुन् जसको कर्मले आमचिकित्सकको शिर उचो बनाउने काम गरेको छ । अस्पताललाई मुलुककै उत्कृष्ठ बनाउनमा कार्यरत चिकित्सकको भूमिका त छ नै अस्पतालका प्रमुख डा. दिपेश श्रेष्ठको समन्यकारी र मितव्ययी भूमिकालाई पनि बिर्सन मिल्दैन ।
आफूले काम गरेको संस्थालाई नमुना बनाउन भूमिका निर्वाह गर्ने कर्मचारी सीमित छन् । सीमित ठाउँमा खुलेका अस्पताल, विद्यालय वा अन्य त्यस्तै सेवाग्राहीयुक्त संस्थालाई नमुना बनाउन ती संस्थामा कार्यरत कर्मचारीको भूमिका अहं हुन्छ । जसले इमानका साथ काम गरेर आपूm कार्यरत संस्थाको गरिमा उचो बनाउन भूमिका निर्वाह गरेका छन् तिनको मूल्यांकन हाम्रो मुलुकमा पटक्कै हुँदैन । धेरै कुरा गर्नै पर्दैन ।
नेपाल सरकारले हरेक वर्ष विभिन्न शीर्षकमा ९ सय बढीलाई विभिन्न पदक दिएर सम्मान गर्छ । त्यसरी पदक थाप्नेको सूचीमा दुर्गम क्षेत्रमा इमानका साथ काम गर्नेहरूको संख्या साह्रै कम हुने गरेको छ । जब राज्यले दिने सम्मान पुरस्कारमा इमानदारको सहभागिता हुँदैन तब सम्मानको गरिमा त घट्छ नै इमानका साथ काम गर्नेहरूको आत्मबल पनि क्रमशः कमजोर हुँदै जान्छ । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको आधारमा मूल्यांकन गर्दै आएको स्वास्थ्य मन्त्रालयको पनि भूमिका अहं हुन्छ उत्कृष्ठ काम गर्नेलाई उत्कृष्ठ घोषणा गर्नका लागि आशा गरौं आगामी दिनमा मन्त्रालयकै पहलमा इमानका साथ काम गर्नेहरू वास्तवमै सम्मानित भएको देखिने छ ।






