वर्षभरि काम गरिदिनुपथ्र्यो । तर, वर्षमा एकपटक मात्रै ज्याला पाउँथे । त्यही ज्याला पनि श्रमको मूल्यअनुसार थिएन । फलामको काम गर्ने र लुगा सिलाउनेले लामो समयदेखि समस्या भोग्दै आएका थिए । एकाध गाउँ हैन सिंगै मुलुककै चलन यस्तै थियो एक समय । कृषिमै आश्रित समाजका लागि कुटो, कोदालो, हँसिया, करौंतीजस्ता घरेलु सामग्री अनिवार्य आवश्यकताको साधन भए पनि ती साधन मर्मत, सम्भार निर्माण गर्नेहरूको श्रमको भने उचित मूल्यांकन भएन । समाजले चलिआएको चलनका रूपमा व्याख्या गरिरहँदा राज्यले वास्तै गरेन । अहिले पनि केही गाउँमा यस्तै चलन जारी नै छ । वर्षभरि काम गर्ने एकपटक ज्याला लिने ।
मकवानपुर जिल्ला, हेटौडा उपमहानगरपालिका १५ फारलाइनका खिलबहादुर विश्वकर्माले भने त्यही परम्परागत पेसालाई व्यवसायीकरण गरेका छन् । उनी उपभोक्ताको आवश्यकताअनुसारको सामान बनाउँछन् र श्रमको उचित मूल्य लिन्छन् । हजुरबाको पालामा सुरु भएको परम्परागत आरनलाई आधुनिक बनाएका मात्रै छैनन्, ६ जनालाई रोजगारी पनि दिएका छन् । नेपालमा अवसरै छैन भन्दै विदेसिने युवाका लागि खिलबहादर आफैंमा उदहारण हुन् जसले पुर्खाले गर्दै आएको कामलाई व्यवसायीकरण गरे । आपूm पनि काम गर्छन् अरूलाई पनि गराउँछन् ।
आरन कतिलाई सामान्य लाग्दो हो । तर, गम्भीर भएर सोच्ने हो र यसलाई व्यवस्थित गर्ने हो भने हजारौं युवालाई यसैबाट रोजगार दिन सकिन्छ । आरनमा विशेष गरी भान्सादेखि खेतबारीसम्म प्रयोग हुने फलामका औजारहरू बनाइन्छ । घरेलु औजार सहरदेखि दुर्गम गाउँसम्म नभइहुन्न पनि । नेपालमा गाउँघरमै निर्माण हुने कुटो कोदालोदेखि चुलेसी, चक्कु निकै बलिया र भरपर्दो हुन्छन् । तर, पनि हाम्रा भान्सादेखि खेतबारीमा विदेशमा बनेका फलामे सामग्री प्रयोग हुन थालेका छन् । जबकि, ती औजारको गुणस्तर नेपालको आरनमा बनेकोभन्दा कम हुन्छ । विदेशी औजार निर्वाध आयात हुनुमा सरकारको कमजोरी त हो नै । हाम्रा आरन व्यवसायीको निर्धोपनालाई पनि बिर्सन सकिँदैन ।
नेपाल आफैंमा सानो मुुलुक हो । अर्थतन्त्रको आकार पनि छिमेकी मुलुकको तुलनामा सानै छ । मेसिनजन्य वा अन्य प्रकृतिका सामान उत्पादन गरेर विदेशमा निर्यात गर्ने हैसित पनि राख्दैन । यस्तो अवस्थामा यही मुलुकमा खपत हुने यही उत्पादन हुने सामग्रीलाई व्यवस्थित गर्न सक्ने हो भने आयात रोक्नुको साथै रोजगार पनि दिन सकिन्छ । धेरै ठूला काम गर्नै पर्दैन ।
मुलुकका विभिन्न ठाउँमा सञ्चालित आरनलाई आधुनिकीकरण गर्दै आफ्नै मुलुकलाई आवश्यक पर्ने कृषि औजार उत्पादन गर्ने हो भने गाउँ गाउँमै आम्दानी गाउँ गाउँमै रोजगारी खोज्न सकिन्छ । हरेक तहमा स्थानीय सरकार भएकाले अब प्रत्येक स्थानीय सरकारले आफ्नो क्षेत्रमा भएका आरनको लागत निकालेर आधुनिकीकरण गर्न ढिला भइसकेको छ । अहिले प्रायः ठाउँमा बिजुली बत्तीको पहुँच भएकाले आधुनिकीकरण गर्न खास गाह्रो पनि छैन । स्थानीय सरकारसँगै आरन सञ्चालकको पनि पहल जरुरी छ ।






