ट्रान्सफर्मर निर्यातले देखाएको सम्भावना

ट्रान्सफर्मर निर्माण उत्पादन गर्दै आएको नेपाल इन्जिनियरिङ कम्पनी लिमिटेड ‘निक’ले पुनः भुटानमा ट्रान्सफर्मर निर्यात सुरु गरेको छ । कुनै समय ट्रान्सफर्मरलागयत विद्युत् उत्पादन र वितरणमा प्रयोग हुने सबै सामग्री नेपालले दोस्रो मुलुकसँग किन्दै आएको थियो । प्रविधिको विकाससँगै निजी क्षेत्रको प्रयासमा उत्पादन भएको ट्रान्सफर्मर विदेशमा निर्यात हुनु नेपालका लागि आफैंमा सुखद खबर हो ।

यस्ता उपकरण निर्यातले धनराशी बाहिरिनबाट मुलुकलाई जोगाउँदैन मात्रै नेपाली उत्पादनको विश्वव्यापीकरणमा पनि प्रभाव पार्छ । आज भुटानमा उपकरण निर्यात गर्ने कम्पनीले भोलि अन्य मुलुकमा पनि निर्यातका लागि सम्भावनाको ढोका खुला गरेको छ । विदेशमा सामान निर्यात प्रक्रिया प्रतिस्पर्धाको आधारमा हुने भएकाले नेपाली व्यवसायीलाई प्रतिस्पर्धी बनाउन पनि भूमिका निर्वाह गर्छ ।

निकले विश्वका विभिन्न मुलुकलाई ट्रान्सफर्मर बिक्री गर्दै आए पनि विश्वव्यापी कोरोना संक्रमणको कारण पछिल्लो तीन वर्षदेखि निर्यात रोकिएको थियो । कोरोना संक्रमण लगभग सकिएपछि पुनः निर्यात सुरु मात्रै भएको छैन आगामी दिनमा अन्य मुलुकमा समेत निर्यातको सम्भावना बढाएको छ । बिजुली उत्पादन र निर्यातमा अक्रामक रूपले अघि बढिरहेको भुटानले नेपालमा उत्पादन भएको सामग्री खरिद गर्नु भनेको अन्य मुलुकलाई समेत नेपालको सामग्री प्रयोग गर्न प्रेरित गर्नु हो ।

अत्यावश्यक कच्चा पदार्थ विदेशबाट आयात गरेर हेटौंडास्थित कारखानामा ट्रान्सफर्मर उत्पादन एवं वितरण गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै आएको उक्त कम्पनीले नेपालमै ७ हजार ट्रान्सफर्मर बिक्री गरिसकेको छ । महँगो शुल्क तिरेर किन्नुपर्ने ट्रान्सफर्मर नेपालमै उत्पादन हुनु आफैंमा राम्रो त हो नै विदेशमा निर्यात समेत हुन थालेपछि नेपालमा उद्यम गर्दै गरेको अन्य व्यवसायीलाई पनि राहत मिलेको छ ।

ट्रासफर्मर वा अन्य उपकरणका लागि आवश्यक कच्चा पदार्थ नेपालमै उत्पादन हुँदैन । धेरै सामग्री विदेशबाटै आयात गर्नुपर्छ । यो समस्या नेपालको मात्रै हैन । अन्य मुलुकले पनि कच्चा पदार्थ अन्य मुलुकबाट किनेरै उत्पादन गर्ने हुन् । उद्योगको प्राथमिकता र प्रभावकारिता हेरेर कच्चा पदार्थ आयातमा उद्यमीहरूलाई सरकारले सहुलियत दिन सक्ने हो भने उद्यमीको आत्मबल मात्रै बलियो हुँदैन । उत्पादित सामग्रीको लागत पनि कम पर्छ ।

अर्को कुरा ट्रान्सफर्मर वा अन्य उपकरण नेपालमै उत्पादन हुनु भनेको नेपालमै रोजगार वृद्धि हुनु पनि हो । सरकार आफैंले उद्यमशिलताको विकास गर्न नसकेर लाखौं युवा कामका लागि विदेसिएको बेला यस्ता उद्योगलाई प्रवद्र्धन गर्नु राज्यको पनि दायित्व हो । अहिले भुटानमा निर्यात भइरहेको ट्रान्सफर्मर भुटानबाहेकका मुलुकमा पनि निर्यात गर्न सक्ने वातावरण सरकारले बनाइदिने हो भने व्यवसायी र सरकारको सम्बन्ध सुमधुर मात्रै हुने छैन नेपाली पैसा बिदेसिनबाट पनि रोकिने छ ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली