काठमाडौं । राजधानी दैनिकका जुम्लास्थित संवाददाता मानबहादुर कुँवर सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्
सामुदायिक सूचना नेटवर्क (सीआईएन) आफ्नो १५औं वर्ष प्रवेशको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच कुँवरसहित रेडियो मध्यपश्चिममा कार्यरत सुशीला ओली र सीआईएनमा कार्यरत सुनिलराज भारतलाई पुरस्कृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालका अध्यक्ष अर्जुन गिरीले तीनै जनालाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।
रिपोर्टिङको गुणस्तर, सक्रियता र निरन्तरताका आधारमा सीआईएनले आफ्नो स्थापना दिवसका अवसरमा बर्सेनि सामुदायिक रेडियोकर्मी पुरस्कृत गर्दै आएको छ ।
सीआईएनलाई सूचना र विज्ञतामार्फत सहयोग गर्ने वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. सुधांशु दाहाल, शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाशकुमार सन्जेल, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा. चन्द्र ढकाल, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर र राष्ट्रिय महिला आयोगका उपसचिव एवं प्रवक्ता चमिला भट्टराईलाई सीआईएनले प्रशंसापत्रले सम्मान गरेको छ ।






