चरित्र हत्या गरिएको भन्दै साहु महाजन आन्दोलित

सप्तरी । मिटरब्याजीको नाममा आफूहरूको चरित्र हत्या एवं निर्दोषलाई फसाउने काम भइरहेको भन्दै सप्तरीका साहु महाजनले त्यसविरुद्ध संघर्ष समिति गठन गरेका छन् ।

सोमबार बसेको जिल्ला भेलाले राजविराज ९ मलेठ निवासी रामकिसुन यादवको अध्यक्षतामा साहु महाजन पीडित संघर्ष समिति गठन गरिएको हो ।

पहिलो चरणमा गठित संघर्ष समिति सानो आकारकै बनाइए पनि आगामी जेठ १९ गते जिल्लाभरिका साहु महाजनको बृहत् भेला बोलाई संघर्ष समितिलाई बिस्तार र पूर्णता प्रदान गरिने अध्यक्ष यादवले बताए ।

‘समस्यामा परेका बेला सहयोग लिने तर तिर्नेबेला मिटरब्याजी भनेर प्रहरीमा निवेदन दिने अवसरवादीविरुद्ध अब हाम्रो पनि आन्दोलन सुरु हुन्छ,’ अध्यक्ष यादवले भने ।

पहिलो भेलामा जिल्लाका ६६ जना साहु महाजन सहभागि भएका थिए । उनीहरूले आगामी १९ गते हुने बृहत् भेलापश्चात् प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने तयारी समेत गरेको भेलामा सहभागी एक साहु महाजनले भने ।

सरकारले मिटरब्याजी पीडितको समस्या समाधानको नाममा र दबाबमा अध्यादेशमार्फत कानुन ल्याएर निर्दोष साहु महाजनलाई समेत उठिबास र बदनाम गराउन खोजेको भन्दै उनीहरूले संगठित रूपमा आवाज उठाउन संघर्ष समिति गठन गरिएको जनाएका छन् ।

उनीहरूले लगानी गर्न चाहने इच्छुक साहु महाजनलाई १० प्रतिशत ब्याजमा ऋण लगानी गर्न पाउने यसअघि दिइएको अधिकारलाई निरन्तरता दिनुपर्ने तथा साहु महाजनलाई अनावश्यक दुःख दिने नियतले ल्याइएको कानुनको धारा २४९(क) को खारेजीको मागसमेत गरेका छन् ।

सरकारले मिटर ब्याजबाट पीडित भएकाहरूलाई जिल्ला प्रशासन कार्यालयको उजुरी शाखामा आवेदन दिन आह्वान गरेपछि हालसम्म १ हजारभन्दा बढी उजुरी परिसकेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम