काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ गतवर्ष चलचित्र प्रसाद–२ बाट निस्कासित भइन् । यो चलचित्रको लागि करिब दुई महिना अभिनय कार्यशाला सम्पन्न गरेर सिनेमाको छायांकन स्थलमा पुगेकी यी अभिनेत्रीले सो चलचित्रमा काम गर्न पाइनन् । नम्रताको ठाउँमा सो चलचित्रमा केकी अधिकारीलाई लिइयो । चलचित्र भने व्यावसायिक रूपमा त्यति सफल हुन सकेन ।
त्यसपछि खाली बसेकी अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला नयाँ चलचित्रको छायांकनमा छिन् । उनी अहिले चलचित्र ‘ह्यासट्याग माया’को छायांकनका लागि बर्दिया पुगेकी छन् । यो चलचित्रको कथा केही फरक र सिनेमाको निर्माण टिम राम्रो भएकाले आफूले ह्यासट्याग मायामा काम गरेको अभिनेत्री नम्रताले बताएकी छन् ।
थ्रिलर जनरामा निर्माण हुँदै गरेको यो चलचित्रमा नम्रताले सारूक ताम्राकार र रोयदीप श्रेष्ठसँग यो चलचित्रमा दोहोरो प्रेम गर्नेछिन् । यो चलचित्रको चार दिन अघिबाट छायांकन सुरु भएको हो ।
नम्रतासँगै यो चलचित्रमा निकिता आचार्य, केनिपा सिंह, सुदाम सीकेलगायतको पनि अभिनय रहनेछ । यो चलचित्रमा राजीव गुरुङको निर्देशन रहेको छ । फिल्मको निर्माता अनुप पौडेल हुन् । यो चलचित्रलाई आशुतोष श्रेष्ठ र निर्देशक राजिबले लेखेका हुन् ।
अभिनेत्री नम्रता चार वर्षपछि फिल्मको छायांकनमा यतिबेला उत्रिएकी हुन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र जाइरा २०७६ मा रिलिज भएको थियो । त्यसपछि बल्ल उनी यो चलचित्रमा आबद्ध भएकी हुन् ।






