सरकारले आलु, प्याजलगायत विदेशबाट आयात हुने फलफूलमा समेत भ्याट लगाउने निर्णय गरेपछि नेपालीको भान्सा महँगिएको छ । तरकारी एवं फलफूलमा आत्मनिर्भर भइसकेको बेला तरकारीजन्य वस्तुमा कर बढाउनु भनेको सर्वसाधारणका जीवनशैली थप महँगो बनाउनु नै हो । हुने खानेलाई त खासै समस्या नहोला ज्याला मजदुरीलगायन सामान्य जागिर खानेको जीवन अब थप कष्टकर हुने निश्चित छ । अन्य तरकारीका कुरा छाडौं दैनिक प्रयोग हुने आलु, प्याज, गोलभेडा जस्तातरकारी पनि विदेशबाटै आयात गर्ने चलन छ हाम्रोमा । फलफूल त आँप र केराबाहेक बजार धान्नका लागि विदेशबाट नल्याई सम्भवै छैन ।
विदेशबाट आयातित तरकारी एवं फलफूलमा भ्याट लगाउनुलाई यसरी पनि बुझ्न सकिन्छ । विदेशबाट आयातित तरकारी एवं फलफूलमा भ्याट लगाएपछि नेपालमै उत्पादनको सम्भावना हुन्छ । बेला मौकामा नेपालका तरकारी उत्पादकले विदेशी तरकारीका कारण आफ्नो तरकारी बिक्री नभएको गुनासो गर्दै प्रदर्शन समेत गरेकाले सरकारलाई लागेको होला ‘अब नेपाली किसानले राहत पाउछन् ।’ तर, सरकारको नीति नेपाली किसानलाई आत्मनिर्भर बनाउनेमा केन्द्रित भएको देखिँदैन ।
यदि साँच्चै विदेशबाट तरकारी आयात कम गर्दै जाने र नेपाली किसानलाई तरकारी उत्पादनमा अब्बल बनाउने हो भने केबल निर्यातमा कर लगाएर मात्रै हुन्न । सबैभन्दा पहिला नेपाली किसानलाई अब्बल बनाउनेतर्फ योजना बनाउनुपर्छ । तरकारीमा सबैभन्दा धेरै खपत हुने आलु र प्याजकै कुरा गरौं न । नेपालमा वार्षिक कति आलु प्याज खपत हुन्छ भन्ने तथ्य समेत सरकारसँग छैन ।
अर्को कुरा आलु र प्याजको खेती हिमालदेखि तराईसम्म नै गर्न सकिन्छ तर, खेती प्रणालीको विकासमा भने सरकारले पटक्कै ध्यान दिएको छैन । सामान्य प्रविधि र बिउ प्रयोग गरेर उत्पादन गर्न सकिने बालीमा समेत ध्यान नदिने सरकारले आयात रोक्न भन्दै कर बढाउने निर्णय गर्नु भनेको सर्वसाधारणको ढाड सेक्नुबाहेक केही होइन ।
अहिलेको समयमा सबै कुरा आफंैले उत्पादन गर्छु भनेर सम्भव छैन । जुन, वस्तु जुन ठाउँमा धेरै उत्पादन गर्न सकिन्छ गर्ने हो र जुन कुरा उत्पादन गर्न सकिँदैन किन्ने नै हो । आयातित तरकारी फलफूलमा कर बढाउने सरकारले यसैपालिदेखि नेपाली उत्पादन बढाउन विस्तृत योजना बनाउनुपर्छ । नेपालमा सहजै उत्पादन हुने तरकारी एवं फलफूल विदेशमा समेत निर्यात गर्न सकिने वातावरण बन्यो भने नेपाली किसान त्यति धेरै दुःखी हुने छैनन् ।
आशा गरौं, तरकारी एवं फलफूलमा करको दर बढाएको सरकारले यसै वर्षदेखि नेपालमै उत्पादन हुने तरकारीजन्य वस्तु उत्पादनमा ध्यान केन्द्रित गर्ने छ र नेपालमै उत्पादित तरकारी खरीद गरेर नेपाली किसानले पनि भान्सा सस्तिएको महसुुस गर्ने छन् ।






