लमजुङ । समाज बदल्नका लागि नयाँ सोच र व्यवहार जरुरी हुन्छ भन्ने लमजुङ जिल्लाको एक विकट गाउँ यतिबेला उदाहरण बन्न सफल भएको छ । जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेको क्व्होलासोंथर गाउँपालिका–८ वडाभर अकबरे खुर्सानी खेती अर्गानिक हुँदैमा महँगो हुन्छ वा बेच्नुपर्छ भन्ने हुँदैन भन्ने उपमा बन्न सफल भएको हो ।
सो वडामा सो अभियान स्थानीय घाम्राङ निवासी सामाजिक कार्यकर्ता गमप्रसाद गुरुङले चलाएका हुन् । ‘अर्गानिक उत्पादन महँगो हुँदैन भन्ने सन्देश हामी हाम्रो वडा र घाम्राङ गाउँबाट मुलुकभर दिन चाहन्छौं,’ उनले गर्विलो स्वरमा भने ।
उनका अनुसार अहिले अकबरे खुर्सानीको बजार मूल्य प्रतिकेजी ३ सय रुपैयाँदेखि ७ सय रुपैयाँसम्म छ । उनले भने, ‘हामीले ३ सय रुपैयाँमा दिइरहेका छौं, यो तीन वर्षअघिकै मूल्य हो ।’ आफूले करिब ६ रोपनी जग्गामा अकबरे खुर्सानीको खेती गरेको बताउने गुरुङले भने, ‘बजारको अभाव हुन्छ भन्ने लाग्दैन, हुन त अहिले पनि हाम्रो केही उत्पादन पोखरा गएको छ, अकबरे खुर्सानीको ठूलो माग छ, ग्यास्ट्रिक, पेट पोल्नेलगायतका पेटको रोग ठीक गर्छ भन्दै मानिसहरू यो खोज्न गाउँमै आउँछन्, माग धान्न सकिएको छैन ।’
पोखरामा होलसेलमा २ सय ५० रुपैयाँ प्रतिकेजीमा पठाउने गरेको र खुद्रा बिक्री गाउँमा प्रतिकेजी ३ सयमा बिक्री गरिरहेको गुरुङले बताए । गाउँघरमा अकबरे खुर्सानीलाई डल्ले खुर्सानी भन्ने प्रचलन छ । ‘हामी यसको मूल्य नियन्त्रण गर्ने सोचमा छौं, यो शुद्ध अर्गानिक उत्पादन हो, ३ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भएको अकबरे खुर्सानी केही वर्ष सोहीदरमा बेच्ने योजना छ,’ उनले भने, ‘हामी अर्गानिक हुँदैमा त्यो महँगोमा बिक्री गर्नुपर्छ भन्ने सोचको विरोधी हौं, देशभर अर्गानिक वस्तु महँगो हुँदैन भन्ने सन्देश दिन चाहन्छौं ।’
सामाजिक अगुवा गमप्रसाद गुरुङको जन्मथलो रहेको घाम्राङ गाउँमा उनले पछिल्ला ८ वर्षदेखि हिमालय हर्ब सेन्टर फार्म नै दर्ता गरेर सोमार्फत प्रयोगात्मक अभ्यास गरी विभिन्न जडिबुटीको परीक्षण गर्दै आएका छन् । उनका अनुसार अहिले अकबरे खुर्सानीका लागि गाउँ नमुना भन्नलायक भएको छ । अब अकबरे खुर्सानीको बीउसमेत उत्पादन गर्नेतर्फ उनी लागेका छन् ।
यो खेती गर्नका लागि इलामबाट एकजना व्यक्तिमार्फत अकबरेको बीउ मगाइएको गुरुङले जानकारी दिए । उनका अनुसार सुकेको दाना किनेर ल्याएर यहीँ बीउ निकालेर नर्सरी तयारी गरी बिरुवा बिक्री गरिएको हो ।
गत वर्ष मात्र प्रतिगोटा २० रुपैयाँका दरले करिब १२ हजार बिरुवा बिक्री भएको उनले सुनाए । ‘हामी कुनै केमिकलयुक्त विषादी र विकासे (युरिया)लगायतको मल प्रयोग गर्दैनौं, यो शुद्ध अर्गानिक उत्पादन हो,’ उनले दाबीका साथ भने, ‘विषादी आवश्यक परेमा स्थानीय स्तरमा वनस्पतिको झोलबाट बनाउँछौं, यदि कुनै रोग नियन्त्रण गर्न नसक्नेगरी देखियो भने त्यसको बोट नै उखेलेर फ्याँक्ने योजना छ तर पनि हामी उन्नत विषादिको प्रयोग गर्दैनौं ।’
उनले पेट्रोल बढ्यो भन्दै बाहना बनाएर, यो त अर्गानिक उत्पादन हो भनेर मनपरी ढंगबाट मूल्यवृद्धि गर्ने बजारमा जुन प्रवृत्ति बसेको छ, त्यो प्रवृत्तिलाई ब्रेक गर्ने आफ्नो सोच रहेको बताए । उनले प्रश्न गरे, ‘’cause यसमा न त पेट्रोल न त विकासे (युरिया) टाइपकै मल प्रयोग गर्नुपर्छ, उत्पादन लागत बढी हुँदा मूल्य बढ्ने हो तर यसमा त खासै लागत बढ्दैन अनि किन बढाउनुप¥यो मूल्य ?’
मलका लागि चार प्रकारका अर्गानिक मल उत्पादन प्रविधि त गाउँलेलाई सिकाइसकिएको अर्काे अकबरे खुर्सानीको व्यावसायिक खेती गरिरहेका किसान कमलप्रसाद गुरुङले बताए । उनका अनुसार अहिले घाम्राङ र मपिङ गाउँ मात्र होइन आसपासका चरागाउँ, पसगाउँ, मालिङ, भोजे आदिमा पनि अकबरे खुर्सानीको व्यावसायिक उत्पादन गर्ने संख्या वृद्धि हुन थालेको छ ।
खुर्सानी नै फल्दैन भनिएको गाउँ अहिले अकबरेमा आत्मनिर्भर
पूर्वशिक्षकसमेत रहेका ५१ वर्षीय गमप्रसाद गुरुङले भने, ‘म सानो छँदा घाम्राङ गाउँमा खुर्सानी फल्दैन भन्ने मान्यता थियो र खुर्सानी कसैले लगाउँदैन थिए पनि । गाउँका केहीले बजारबाट किनेर र केहीले मागेरै काम चलाइएको अवस्था थियो ।’
आफ्नै गाउँको जस्तो हावापानी भएका गाउँमा अकबरेको राम्रो उत्पादन भएको थाहा पाएका उनले भने, ‘यो खुर्सानीको परीक्षण गर्ने निधो गरेर खेती थालेको राम्रो भयो ।’
पछिल्ला दुई वर्षबाट यो गाउँका कुनै पनि व्यक्ति कसैको पनि घरमा खुर्सानी माग्न जाँदैनन् । पछिल्लो चार वर्षको बीचमा घाम्राङ मात्र होइन त्यससँगैको मपिङ गाउँमा पनि त्यही अभ्यासमा छ । घाम्राङ गाउँमा ६५ घरपरिवार बसोबास गर्छन् भने मपिङमा ४० घरपरिवार बस्दै आएका छन् । त्यस वडामा ती दुई गाउँबाहेक घिचे, घिचेबेंसी र घाम्राङबेंसी गाउँसमेत रहेको गुरुङले जानकारी दिए । उनले भने, ‘वडामा कुल २ सय ४२ घर छन्, तीन–चारवटा बोट अकबरे खुर्सानी नभएको कुनै घर भेट्नुहुन्न ।’
यतिबेला गाउँमा ‘मोही माग्नेलाई दिनु, खुर्सानी माग्नेलाई नदिनु’ भन्ने नारा र अभियान नै चलाइएको छ । उनी भन्छन्, ‘भैंसी सबैले पाल्न सक्दैन तर खुर्सानीका दुई–चार बोट त जसले पनि लगाउन सक्छ, बारी छैन भने आँगनको छेउमा पनि हुन्छ खुर्सानी ।’ अन्ततः यो अभियान सफल भएको र आर्थिक रूपमा पनि सम्पन्नतातर्फ जाने एउटा पाटो बनेको उनले बताए ।
उनले भने, ‘मैले अकबरे खुर्सानीमा गाउँलाई आत्मनिर्भर बनाउने सपना चार वर्षअघि देखेक थिएँ, पहिलो वर्ष आफ्नै बारीमा त्यसको परीक्षण सुरु गरें, खुर्सानी फल्दैन भनिएको गाउँमा अकबरे खुर्सानी लगाएर लटरम्म फलाएर देखाएँ, त्यसपछि गाउँलेहरू जिब्रो टोक्दै दंग मात्र परेनन्, आफूहरूसमेत खुर्सानीको खेती गर्न थालेका छन् ।’
अहिले घाम्राङ गाउँका १० घरपरिवारले अकबरे खुर्सानीको व्यावसायिक उत्पादन थालेको उनको भनाइ छ । ‘अन्य सबै घरले आफ्नो परिवारलाई पुग्नेगरी अकबरेको खेती गर्न थालेका छन्,’ गमप्रसाद गुरुङले गर्वका साथ भने ।
उनका अनुसार यस वर्ष धेरै घरले सयभन्दा बढी बिरुवा लगेका छन् । ‘गत वर्ष पैसा छैन भन्नेलाई एउटा बिरुवाको मूल्य २० रुपैयाँ हो, छैन भने १० रुपैयाँ दिनुस् भन्यौं, त्यो पनि छैन भन्नेलाई दुई–तीनवटा बिरुवा निःशुल्क पनि दिने गरियो तर यस वर्ष करिब ३ हजार विरुवा निःशुल्क वितरण गरें,’ गमप्रसादले भने । उनका अनुसार यसरी आज यो गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर बनेको हो ।
‘एउटा बोटले चार–पाँच वर्षसम्म उत्पादन दिन्छ भन्ने जानकारीमा आएको छ, त्यो पनि परीक्षण गर्दैछु,’ गुरुङले भने ।






