बर्दिया । बर्दिया कृष्णसार पाइने नेपालकै एकमात्र जिल्ला थियो । तर अहिले बर्दिया मात्र नभएर कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पनि कृष्णसार पाइने क्षेत्रको रुपमा आफुलाई परिचित गराउन सफल भएको छ । कृष्णसारको स्थानान्तरण सफल भएपछि शुक्लाफाँटा निकुञ्ज पनि अब कृष्णसार पाइने क्षेत्रका रुपमा परिचित भएको हुँदै गएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा यतीखेर कृष्णसार झुण्डझुण्डमा रमाइरहेका देखिन्छन् । त्यहाँ रमाइरहेका कृष्णसार बर्दियाका हुन् । सन् २०११ देखि २०१५ को अवधीमा बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट शुक्लाफाँटामा कृष्णसार स्थानान्तरण गरिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय शुक्लाफाँटाका अनुसार बर्दियाको कृष्णसार संरक्षण क्षेत्रसँगै बाँके र काठमाण्डौँको चिडियाखानाबाट पटकपटक गरी ४२ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो ।
करिव ७ वर्षको अवधीमा शुक्लाफाँटामा कृष्णसारको संख्या बढेर अहिले २ सय ६२ पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए । छोटो समयमा कृष्णसारको संख्यामा बृद्धि हुनुले शुक्लाफाँटा निकुञ्ज कृष्णसारका लागि उपयुक्त वासस्थान रहेको प्रमाणित भएको उनको भनाई छ ।
उनले एकै जात र एकै वंशका कृष्णसार एकै स्थान रहि रहदा कुनै समय घटनाचक्रका कारण लोप हुन सक्ने सम्भावना भएकाले वंशाणुगत मिश्रण गरी शुक्लाफाँटामा कृष्णसार स्थानान्तरण गरिएको कार्यक्रमका प्रमुख जोशीले बताए ।
शुक्लाफाँटा निकुञ्ज भित्र पर्ने हिरापुर फाँटाको ५८ दशमलव ०८ हेक्टर क्षेत्रफललाई कृष्णसारको वासस्थानका रुपमा व्यवस्थापन गरिएको छ । हिरापुर फाँटा घाँसे मैदान हो । यही घाँसे मैदानमा कृष्णसार रमाउँदै आएका छन् । कृष्णसारलाई बाघ, चितुवालगाएतका अन्य वन्यजन्तुबाट जोगाउन सो क्षेत्रमा विद्युतिय तारजाली लगाइएको छ ।
वन्यजन्तुको आक्रमणबाट हालसम्म कुनै क्षती नभएको संरक्षणकर्मीहरुको भनाई छ । हिरापुर फाँटामा कृष्णसारको भाले र पोथी संख्याको अनुपात पनि राम्रो मिलेको छ । हिरापुर फाँटामा कृष्णसारलाई उच्च निगरानी गर्ने गरिएको छ । कृष्णसारका लागि आहारा व्यवस्थापन, औषधी उपचार, अन्य जनावरको प्रवेश नियन्त्रणलगाएतका कार्यको उचीत प्रवन्ध भएकाले कृष्णसारको संख्या वर्षेनी बढ्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए । उनी भन्छन्, ‘यो निकुञ्ज सानो छ । तर विविधताले भरिएको छ । बाह्रसिंगे, बाघ, हात्ती, गैँडासँगै पछिल्लो समय कृष्णसारले पनि यस क्षेत्रको पर्यापर्यटनलाई निकै टेवा पुर्याएको छ ।’
बाह्रसिंगेका लागि प्रसिद्ध रहेको शुक्लाफाँटामा कृष्णसारको संख्या पनि बढ्दै जाँदा पर्यटन क्षेत्रमा पनि थप टेवा पुगेको संरक्षण तथा पर्यटनकर्मीहरु रामजी थापाले बताए ।






