विचारसहित आऊ नयाँ पुस्ता

नेपाली राजनीतिमा नयाँ पुस्ता विचारविहीन बन्दै गएपछि भूतपूर्व प्रधानमन्त्री वा शीर्ष नेताको झुन्डको खाइखेलोमा वाहवाही छाएको छ । यो कुरा सर्वसाधारण जनता र भोटरसमेतलाई अपाच्य हुँदै गएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पदमा ‘भुतपूर्वहरूको क्लब’को एकाधिकार तोडिनुपर्ने कुरा उठाउँदै आएका छन् । यो आवाज प्रवल वा सुषुप्त रूपमा सबै राजनीतिक पार्टीहरूमा रहेका युवा नेताले उठाउने पनि गरिरहेका छन् । नेपालमा विभिन्न राजनीतिक दलका शीर्ष नेता मात्र घुमिफिरी प्रधानमन्त्री हुने पालो लगाउने गरेकाले पनि थापाले गरेको यस्तोपटक उद्घोषले चर्चा पाउने गरिरहेको छ । सत्तापक्षीय होस् वा प्रतिपक्षीय गठबन्धन जुनसुकैमा पनि भूतपूर्व प्रधानमन्त्री वा शीर्ष नेताको झुन्डबीच पद बाँडफाँट गरिने भएकाले पनि सर्वसाधरणले समेत अब प्रधानमन्त्री को होला भन्ने सहजै अड्कल गर्ने गर्छन् । यो नेपाली प्रजातान्त्रिक परिपाटीको मूल कुरा पो हो कि भन्ने भान सबैलाई पर्न थालेको छ । यसले गर्दा जनस्तरसम्म सिंगो प्रजातान्त्रिक प्रणालीप्रति वितृष्णा पनि जाग्दै गएको छ ।

तर, यो समस्याको समाधानको विकल्प देखिएको छैन । शीर्ष नेताले भागबन्डा गरी खान छाड्ने देखिँदैन । युवा आउन सक्ने वातावरण पनि बनेको छैन । यो अत्यासलाग्दो अवस्थाको अन्त्य गरेर अघि बढ्ने साहस न त शीर्ष नेतामा छ न त युवामा नै । त्यसैले पनि राजनीतिक दल तथा यिनका नेता जनताबाट दिनप्रतिदिन अस्वीकृत र अलग अलग हुँदै गइरहेका छन् । तर, यस्तोखाले राजनीतिक प्रवृत्ति शीर्ष नेताहरूका कारण मात्र सिर्जना भएको भने होइन । एक कालखण्डमा स्थापित भएका पुराना वा शीर्ष नेता अबको बदलिएको परिस्थितिमा सिर्जित नवीनतम् समस्या सम्बोधन तथा समाधान गर्न सक्ने अवस्थामा छैनन् । यो फगत आरोप मात्र होइन, व्यावहारिक रूपमा पटकपटक अभिव्यक्त भएको यथार्थता पनि हो । तर, यही प्रक्रिया दोहरिइरहेको छ किन ? यसको पछाडि राजनीतिक तथा वैचारिक कारण छन् । यी राजनीतिक तथा वैचारिक कारण हरेक राजनीतिक दलका नयाँ पुस्तासँग अभिन्न रूपमा यक्षप्रश्न बनेर जोडिका छन् । कुनै जमानाका समस्या आजका शीर्ष नेता, जो पूर्वप्रधानमन्त्री पनि भइसकेका छन्, ले सम्बोधन र हल गर्ने वा दिने विश्वास राख्थे । तर, आज उनीहरू पटकपटक असफल ‘टेस्टेड’ भइसकेका छन् ।

नेपाली जनता र नेपाली समाज आजको सामाजिक अन्तरर्विरोध समाधान गर्न सक्ने नयाँ पुस्ता सत्तामा आएको हेर्न र आफ्ना समस्या समाधान भएको देख्न चाहन्छन् । जनताको अपेक्षा नयाँ नेतृत्वको उदयप्रति छ । तर, दोहरिन्छ उही भूतपूर्वहरूको गनगने विरासत । यसको पछाडि राजनीतिक दलका युवा नेतामा अहिलेको सामाजिक अन्तरर्विरोध ठम्याउने र हल गर्न सक्ने वैचारिक ल्याकतको अभावले काम गरिरहेको छ । हरेक राजनीतिक दलको अन्तरसंघर्षमा युवापुस्ताले कुनै पनि प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । यो भनेको युवा नेताहरूले थोत्रो विरासत बोकेका पुराना पार्टीमा नयाँ विचार ल्याएर पुनर्जीवन भर्न वा ल्याउन नसक्नु नै हो । पार्टीमा पुनर्ताजकी ल्याउन हैसियत नराख्ने युवापुस्तालाई पुराना वा शीर्ष नेताहरूले केका आधारमा नेतृत्व मान्ने र नेतृत्व हस्तान्तरण गर्ने ? यसको स्वाभाविक परिणति र विकल्प त जनताबीच के हुन गएको छ भने सिंगा ठुल्ठुला राजनीतिक दल र तिनका हात्तीजत्रा देखिने गठबन्धनलाई एक्लै परास्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी हुन गइरहेको छ । यो जनताका अगाडि एक बाध्यात्मक विकल्प बनेको छ । त्यसैले नेपाली कांग्रेस, प्रतिपक्षी एमालेलगायतका राजनीतिक दलभित्र रहेका युवा नेताले वर्तमान नेपाली समाजमा सिर्जित समस्या समाधान गर्न सक्नेगरी नयाँ विचार लिएर नेतृत्वमा देखा पर्न सक्नुपर्छ । युवा नेतामा देखिएको विचारविहीनताको अन्त्य हुनुपर्छ । युवा नेताहरूले नयाँ विचार लिएर आऊ !

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली