मुलुकका दुई छिमेकी देशहरू संसारमा सबैभन्दा बढी जनसंख्या भएका देश हुन् । यी दुई देशमा मात्र अढाई अर्ब मानिस बसोबास गर्छन् । जुन दुई छिमेकी देशको तुलनामा नेपालको जनसंख्या निकै नै थोरै देखिन्छ । तथापि, देशमा जनसंख्या वृद्धिदर उच्च रहेकाले नीति निर्मातालाई नेपालको बढ्दो जनसंख्याप्रति चिन्ता लाग्नु स्वाभाविकै हो । प्रत्येक वर्ष जुलाई ११ तारिकलाई विश्व जनसंख्या दिवसका रूपमा मनाइँदै आएको छ । फलतः विश्वमा देखापरेका प्रमुख समस्याहरूमा जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । जनसंख्या वृद्धिको कारणले जनसंख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ । यसरी जनसंख्या समस्याबाट कुनै पनि मुलुक अछुतो रहन भने सकेको छैन । जसलाई प्राकृतिकस्वरूप नष्ट गर्ने प्रमुख कारक तत्व जनसंख्याको अत्यधिक चाप पनि हो । यसले गर्दा सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याका रूपमा जनसंख्या वृद्धि नै हो ।
सन्दर्भ : विश्व जनसंख्या दिवस
हाल आएर विश्वको जनसंख्या झन्डै ८ अर्बको हाराहारीमा पुगेको अनुमान छ । यसलाई गणित हिसाब गने हो भने विश्वमा प्रत्येक २ सेकेन्डमा नौ जना शिशुको जन्म र सोही समयमा तीन जना शिशुको मृत्यु हुने सम्बन्धित विशेषज्ञको अनुमान छ । यसरी प्रति २ सेकेन्ड ६ जना नयाँ शिशुको अनुहार थपिनाले प्रत्येक वर्ष विश्वमा ७ करोड ६० लाख बढी मानिस थपिन्छन् । जसमा हेर्ने हो भने जनसंख्याको प्रमुख बोझ विकासशील देशमा परिरहेको छ । यसलाई तथ्यांकीय आधारमा अवलोकन गर्ने हो भने पनि विकसित मुलुकमा कुल जनसंख्याको २० प्रतिशत र अविकसित मुलुकमा ८० प्रतिशत जनसंख्या बसोबास गर्छन् ।
यसैगरी, विश्वको कुल प्रजननदर २.३८ रहेको छ । विश्वको वार्षिक सरदर जनसंख्या वृद्धिदर १.५ प्रतिशत मात्र रहेको भए तापनि अविकसित देशमा यसको वृद्धिदर २ प्रतिशत बढी हुनाले सन् २०२५ मा ८ अर्ब ३१ करोड र सन् २०५० मा ८ अर्ब ९० करोड मानिसको जमघट हुनेछ । यसमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ४५ प्रतिशत रहेको छ । जनसंख्या वृद्धिको काहलीलाग्दो चापले अल्पविकसित देशको समाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । अतः विकासशील देशको पंक्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसंख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।
जनसंख्या वृद्धिको काहलीलाग्दो चापले अल्पविकसित देशहरूको समाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ
नेपालको जनसंख्या वृद्धिदर अझै अतिउच्च नै छ । देशमा १२औं जनगणना लिने कार्य २०७८ सालमा भयो । देशको पछिल्लो जनसंख्या अर्थात् २०७८ को जनगणना अनुसार २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यसरी सर्सर्ती हेर्ने हो भने १० वर्षको अवधिमा २६ लाख ९७ हजार ९ सय ७६ जनाले वृद्धि भएको जनाएको छ । यसरी विगत १० वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । जुन अधिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको थियो । यसमा महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ अर्थात् कुल जनसंख्याको ५१ दशमलव शून्य ४ प्रतिशत पुगेको छ भने पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ अर्थात् कुल जनसंख्याको ४८ दशमलव ९६ प्रतिशतमा पुगेको छ ।
यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको ६ लाख ९ हजार ८ सय ५८ जना जनसंख्या बढी देखिन्छ । मुलुकको जनसंख्या वृद्धिदर तीव्र गतिमा वृद्धि हुँदै गएको विगतका जनगणनाबाट स्पष्ट हुन्छ । १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भए तापनि २००९÷११ सालदेखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक तरिकाबाट लिइएको मानिन्छ । २०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसंख्या वृद्धिदर २.२५ प्रतिशत रहेको देखिएको छ । औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजननदर भने निकै लामो समयदेखि ६ सन्तान प्रतिआमाकै हाराहारीमा रहेकाले नै जनसंख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । यही वृद्धिदर कायम रहेमा ३३ वर्षभित्र नेपालको जनसंख्या दोब्बर हुन जाने अनुमान छ ।
२०५८ सालको जनगगणनामा नेपालको कुल जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ रहेको अनुमान गरिएको थियो । त्यसरी नै २०६८ सालको जनगणनाअनुसार १० वर्षको अवधिमा ३३ लाख ४३ हजार जनसंख्या वृद्धि भएको जनाएको छ । यसमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । महिलाको जनसंख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात् कुल जनसंख्याको ५१ दशमलव ५ प्रतिशत पुगेको छ भने पुरुषको संख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात् कुल जनसंख्याको ४८ दशमलव ५ प्रतिशतमा झरेको छ । यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको झन्डै ८ लाख जनसंख्या बढी देखिन्छ । यसरी पछिल्लो जनगणनाले देशको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको देखिएको छ जसलाई प्रतिशतको आधार भन्ने हो भने शून्य दशमलव ९ प्रतिशत बिन्दु घटेको हो ।
विद्यमान जनसंख्यालाई भरणपोषण गर्न असमर्थ हामी आउँदा वर्षमा वृद्धि हुने जनसंख्यालाई भरणपोषण कसरी गरौंला
नेपालमा प्रतिघण्टा ६१ जना, प्रतिदिन १ हजार ४ सय ६४ जना र प्रतिवर्ष झन्डै ५ लाख ३२ हजार ३ सय ३६ मानिस थपिन्छन् । त्यसैगरी यस धर्तीबाट बिदा लिनेकोे संख्या प्रतिघण्टा २६ जना, प्रतिदिन ६ सय २४ जना, र प्रतिवर्ष २ लाख ३० हजार ३ सय ८१ पुग्छ र जन्मनेको संख्या प्रतिघण्टा ७ जना, प्रतिदिन २ हजार ८८ जना र प्रतिवर्ष ७ लाख ६२ हजार ७ सय १७ जना हुन्छन् । जनसंख्या वृद्धिदर नियन्त्रित गर्ने आजसम्मका प्रयास सफल नभएको यो एक उदाहरण हो । आजको विद्यमान जनसंख्यालाई त भरणपोषण गर्न हामी असमर्थ छौं भने अब आउँदा वर्षमा वृद्धि हुने जनसंख्यालाई भरणपोषण गर्ने साधन र क्षमता हामीसित के रहनेछ ? जनसंख्या नियन्त्रणतर्फ प्रभावकारी नीति निर्देशनको आवश्यकता उपेक्षा गर्नु भयावह समस्यालाई निम्त्याउनु होइन र ?
मुलुकको जनसंख्या झन्डै तीन दशकदेखि उच्च गतिमा वृद्धि हुँदै छ । यसको मुख्य कारण हो एकातिर मृत्युदरमा कमी आउनु र अर्कोतिर उच्च प्रजनन दर कायमै रहनु हो । विश्वका विभिन्न देशको तुलनामा नेपालको जनसंख्या वृद्धिदर निकै उच्च भएको तथ्य २०४८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या १ करोड ८४ लाख ९१ हजार ९७ पुगेको थियो । कुल जनसंख्या मध्ये ४९.८७ प्रतिशत पुरुष ५०.१३ प्रतिशत स्त्री रहन गएको थियो । यही गतिमा जनसंख्या वृद्धि हँुदै गएमा आगामी ३१ वर्ष अर्थात् २०८२ सालभित्रै जनसंख्याको दृष्टिकोणले अर्को सिंगै नेपाल थपिन जाने अनुमान गरिएको छ ।






