पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले पहाडी जिल्लालाई लक्षित गरेर दुई पाङ्ग्रे सवारीको चालक अनुमतिपत्र जारी गर्न थालेको छ । यातायात कार्यालय बुटवलमा अत्याधिक चाप भएपछि उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश सरकारले पाल्पाबाट पनि दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र जारी गर्ने व्यवस्था मिलाएको हो ।
(ए) बर्ग मोटरसाइकल र (के) बर्ग स्कुटरको चालक अनुमती पत्र जारी गर्न लिखित परिक्षा लिएको छ । परिक्षामा २ सय जना परिक्षार्थीहरू सहभागी भएका छन् । लिखितमा ६० अंक ल्याएर पास हुने परिक्षार्थीहरुले प्राटिक्कल, अर्थात् ट्रायल परिक्षा दिन पाउने यातायात सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले बताए ।
सवारी चालक अनुमतिपत्र लिन देशभरीबाट आवेदन दिन सक्ने सुविधा रहेको छ । विशेषगरी पाल्पा सहित गुल्मी, अर्घाखाँची र स्याङजाका बासीलाई सहज हुने भएको छ । २०७५ सालमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले सवारी चालक अनुमतिपत्र र सवारी साधन नविकरण, सवारी जाँचपास र पञ्जिकरण सहित पटके पास सेवा उपलब्ध गराएको छ ।






