काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बिहीबार दिउँसो केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता तथा डिआइजी कुवेर कडायतले प्रतिनिधिसभा सदस्य डा. शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको पाइएपछि पक्राउ गरिएको बताए । ‘उहाँले शैक्षिक प्रमाणपत्र किर्ते गरेको देखियो,’ कडायतले भने, ‘डा. शर्मासहित तीन जनालाई पक्राउ गरिएको छ ।’
सिआइबीले प्रतिनिधिसभा सदस्य शर्मा पक्राउ परेको जानकारी संसद् सचिवालय सिंहदरबारलाई समेत दिइसकेको छ । सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सिआइबीले सो जानकारी गराएको हो । सिआइबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएका’bout जानकारी समेटिएको पत्र बोकेर बिहीबार अपराह्न संसद् सचिवालय पुगेका थिए ।
प्रतिनिधिसभा सदस्य डा. शर्मालाई प्रहरीले यस्तो बेला पक्राउ गरेको छ, जुनबेला उनी आबद्ध दल नेपाली कांग्रेस स्वयं सरकारमा छ । अर्काे कुरा, २ साउनमा त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० किलो सुन प्रकरणमा उनले दिएको अभिव्यक्ति पनि उनको पक्राउसँग जोडिएको छ । सुन प्रकरणमा उनले अर्थमन्त्री डा. प्रकाशशरण महत र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गदै आएका छन् । उनले गत १० साउनको संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनीसमेत दिएका थिए । अर्थमन्त्री डा. महत उनी आबद्ध दलकै नेता हुन् । शर्मा कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिन्छन् ।
यद्यपि, आफूहरूले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको र त्यसपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा आफूहरू पुगेको सिआइबीले जनाएको छ ।
‘उहाँ (सुनिल शर्मा)लाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको पुरानै मुद्दामा पक्राउ गरिएको हो, प्लस टु उत्तीर्ण गर्न नम्बर नपुग्दा उहाँ आफैंले थपेको पनि पाइएको छ,’ सिआइबी स्रोतले भन्यो ।
मेडिकल व्यवसायीसमेत रहेका प्रतिनिधिसभा सदस्य डा. शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको सिआइबीको दाबी छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका डा. शर्माले भारतबाट कक्षा १२ उत्तीर्ण भनी ल्याएको प्रमाणपत्र नक्कली पाइएको सिआइबीले जनाएको छ । सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सिआइबीको दाबी छ ।
पक्राउ परेका अन्य दुई जनामा पिपरा–८ महोत्तरी घर भएका डा. रञ्जितकुमार यादव पनि छन् । उनको पनि १२ कक्षाको सर्टिफिकेट नक्कली र भारतीय भएको खुलेको प्रहरीको भनाइ छ । यस्तै, शिक्षण अस्पताल महाराजगन्जका डा. अमृत चौधरी पनि पक्राउ परेका छन् । प्रहरीको अप्रेसन ‘फोक्सट्रोट चार्ली’अन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकालाई लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा राखिएको छ । सिआइबीले सो घर भाडामा लिएर सो स्थानबाट पनि कार्य गर्दै आएको छ ।
सांसद पद धरापमा
नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा पक्राउ गरिएका कांग्रेस सांसद डा. सुनिल शर्माको सांसद पद धरापमा परेको छ । उनीमाथि जुन अभियोग लागेको छ, त्यो प्रमाणित भएको अवस्थामा डा. शर्माको सांसद पद त जानेछ नै उनले सात वर्षसम्म कैद सजाय पनि पाउन सक्छन् ।
उनी अहिले जुन कसुरमा पक्राउ परेका हुन्, त्यो भनेको फौजदारी कसुर हो । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्नेबित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्ने प्रावधान छ । सिआइबीले उनी पक्राउ परेको केही समयमै सभामुख देवराज घिमिरेलाई पक्राउको सूचना दिइसकेको छ । अब सभामुखले उनी पक्राउ परेको जानकारी सदनलाई दिनुपर्छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ अनुसार संविधानको धारा ३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेको छ ।
सोही नियमको उपनियम ३ मा कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ । यो व्यवस्थाअनुसार सांसद शर्मा निलम्बन हुन सक्नेछन् ।
यस्तै, अभियोग प्रमाणित भएमा उनले फौजदारी कसुरअन्तर्गत लिखत किर्तेसम्बन्धी कसुरमा सजाय पाउन सक्नेछन् ।
कांग्रेस बैठकमा सामान्य छलफल
प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मा पक्राउ परेको विषयमा कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा सामान्य छलफल भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकमा सांसद शर्मा पक्राउ भएका’bout कुराकानी भएको थियो । बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मालाई पक्राउ गरेको विषय जानकारीमा रहेको बताए ।
सांसद शर्माले के कसुर गरेका हुन् र के छानबिन हुन्छ भन्ने’bout आधिकारिक जानकारी लिएपछि मात्रै पार्टीले बोल्ने उनले बताए ।






