काठमाडौं । सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब संकलन भएको छ । कोषकाअनुसार गत असोज मशान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका छन् ।
कोषमा सहभागिताको हिसावले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ठूलो छ । सोही कारण योगदानको हिसाबले पनि उनीहरुले नै बढी गरेका छन् । कोषकाअनुसार वैदेशिक रोजगारी क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना कोषमा आवद्ध भएका छन् । यो कुल योगदानकर्ताको करिव ७५ प्रतिशत हो ।
त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा आवद्ध भएका छन् । औपचारिक क्षेत्रअन्तर्गत सातै प्रदेशबाट योगदानकर्ता आबद्ध भएका छन् ।
प्रदेशगत रूपमा वागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । त्यसपछि लुम्बिनी, मधेस, गण्डकी, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् । वागमतीमा रोजगारदाता संस्थाको संख्या पनि सबैभन्दा धेरै छ । तथ्यांकअनुसार औपचारिक क्षेत्रबाट २३ हजार ८०७ रोजगारदाता संस्था कोषमा आवद्ध छन् ।
प्रदेशगत रूपमा बागमतीमा १५ हजार ५५१ रोजगारदाता संस्था छन् । कोशीमा २ हजार ७०३, मधेशमा १ हजार ३२१, गण्डकीमा १ हजार ४२८, लुम्बिनीमा २ हजार १९०, कर्णालीमा ३१४ र सुदूरपश्चिममा ३८० रोजगारदाता संस्था आवद्ध छन् ।
यसले सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रको सहभागिता बागमती प्रदेशमा सबैभन्दा बढी केन्द्रित रहेको देखाएको छ । विशेषगरी निजी कम्पनी, उद्योग, प्रतिष्ठान तथा अन्य संगठित संस्थामार्फत औपचारिक क्षेत्रका श्रमिक कोषमा जोडिएका छन् ।
कोषमा आवद्ध हुने योगदानकर्ताको संख्यामा वैदेशिक रोजगारी क्षेत्र सबैभन्दा अगाडि छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने व्यवस्था कार्यान्वयनमा आएपछि यस क्षेत्रबाट ठूलो संख्यामा योगदानकर्ता थपिएका हुन् ।
औपचारिक क्षेत्रपछि योगदानकर्ताको ठूलो हिस्सा वैदेशिक रोजगारी क्षेत्रको छ । तर अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता भने निकै न्युन छ । कुल ३२ लाखभन्दा बढी योगदानकर्ता आबद्ध हुँदा अनौपचारिक क्षेत्रका १ हजार १६८ र स्वरोजगार क्षेत्रका १ हजार ४९२ जना मात्रै कोषमा जोडिएका छन् ।
यसले श्रम बजारमा ठूलो हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन अझै चुनौती रहेको देखाएको छ ।
चार योजनामा योगदान संकलन
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनामार्फत योगदान रकम परिचालन गर्दै आएको छ ।
कोषको तथ्यांकअनुसार यी योजनासहित अन्य योगदान तथा प्रतिफलसमेत जोड्दा हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ । यस अवधिमा कोषबाट विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले सुविधा लिँदै आएका छन् ।
कोषमा आवद्ध श्रमिकले योगदानका आधारमा स्वास्थ्य उपचार, दुर्घटना तथा अशक्ततासम्बन्धी सुरक्षा, आश्रित परिवारलाई सुविधा र वृद्धावस्थामा पेन्सन तथा अवकाश सुविधासमेत पाउने व्यवस्था छ ।
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुन तोलामै ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि घट्यो
स्याङ्जामा आलुमा आत्मनिर्भर बनाउन अनुदान
फूलखेतीले फेरिँदै धनगढीका किसानको आर्थिक अवस्था
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
अमेरिकी चुनावपछि विश्व बजारमा घट्यो कच्चा तेलको मूल्य
नश्ल सुधारमा एक फड्कोः मुरा भैंसी र बोयर बाख्रा अब मधेशमा पाइने
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक: अर्थमन्त्री डा. वाग्ले





