काठमाडौं । संगठनात्मक र दरबन्दी संरचना परिवर्तन नभएको भए सशस्त्र प्रहरी बलको सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका थोरै नायब उपरीक्षक (डिएसपी) मात्रै अहिले उपरीक्षक (एसपी)मा बढुवा हुन्थे । सिसं ३ बेसिकका सशस्त्र प्रहरी निरीक्षकहरू सबै जना एसपीमा बढुवा हुन अझै केही वर्ष लाग्थ्यो । यी सशस्त्र प्रहरी अधिकृतमा वृत्ति विकासको बाटो नै पूरै अवरुद्ध हुँदा चरम निराशा छाएको थियो । डिएसपी भएको १६ वर्षसम्म पनि एउटै पदमा अल्झिरहनु पर्दा उनीहरूमा दर्ज्यानी चिह्नप्रतिको मोह पनि हराइसकेको थियो ।
तर, सशस्त्र प्रहरी बलको नयाँ नेतृत्वले बढुवा जाम समस्यामा विशेष ध्यान दिँदाको परिणाम हो, आइतबार सशस्त्र प्रहरी बल मुख्यालयमा देखिएको खुसीको उमंग । आइतबार एकै दिन ५५ जनाले एसपीको दज्र्यानी चिह्न ग्रहण गरे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको हातबाट । सशस्त्र प्रहरीको इतिहासमै एकैपटक यति धेरै संख्यामा एसपीले दज्र्यानी चिह्न ग्रहण गरेको यो नै पहिलोपटक हो । बढुवा ५६ जना भएकोमा एक जना भने नेपालबाहिर रहेकाले छुट्न पुगे ।

सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका दर्शन गिरीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल ।
योसँगै २०६० सालमा भर्ना भएका सशस्त्र प्रहरी निरीक्षकको जम्बो टोली सबै जना एसपी भएका छन् । अब पालो चौथो ब्याचको हो । संगठनात्मक र दरबन्दी संरचना परिवर्तन नभएको भए चौथो ब्याचलाई एसपी बन्न अझै नौ वर्ष लाग्थ्यो । सो ब्याचका केही अधिकृत अहिले नै एसपीको लाइनमा आइसकेका छन् । एक दर्जन एसपी पद अझै रिक्त छ ।
सशस्त्रमा पहिलो ब्याचका नौ जनामध्ये चार जना डिआइजी बनिसकेका छन् भने सिसं २ का केही एसएसपी बनिसकेका छन् । केही एसपीमै कार्यरत छन् । तर, सिसं ३ का थोरै मात्र एसपी बनेका थिए । अहिले संख्या नबढेको भए सिसं ३ बेसिकका इन्सपेक्टरले एसपीमा बढुवा हुन अझै केही वर्ष कुर्नुपर्ने थियो । जबकि, सिसं १ र ३ मा इन्सपेक्टरमा भर्ना भएकाबिचको फरक १५ महिना मात्रै छ ।

सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका प्रेमप्रकाश सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल ।
सशस्त्र प्रहरी बलको नयाँ संगठनात्मक एवं दरबन्दी संरचना विशेषगरी संगठनले हाल जवानदेखि सशस्त्र प्रहरी उपरीक्षक (एसपी)सम्मले बढुवाका लागि भोग्दै आएको समस्या समाधानतर्फ केन्द्रित भएको देखिन्छ । सशस्त्र युद्धताका गठन भएको सशस्त्र प्रहरी बलमा त्यसबेलाको परिस्थितिअनुरूप स्थापनाकालदेखि ६÷७ वर्षसम्म छोटोछोटो समयमा ठुलो संख्यामा जवान, सहायक निरीक्षक र सशस्त्र प्रहरी निरीक्षक भर्ना गरिएकोमा त्यसपछिका दिनमा माथिल्लो दरबन्दी संरचना पुनरावलोकन नहुँदा बढुवा प्रक्रिया लगभग ठप्पै थियो । एउटै पदमा १५÷१६ वर्षसम्म अल्झिनुपर्दा उनीहरूमा चरम निराशा र संगठनप्रति नै वितृष्णा पैदा हुँदै गएको थियो ।
नयाँ संगठनात्मक एवं दरबन्दी संरचनाअनुसार, डिएसपीको संख्या ४ सय ६० बाट २८ बढाएर ४ सय ८८ पु¥याइएको छ । यसको प्रत्यक्ष लाभ अहिले सिसं ७ का इन्सपेक्टरले लिएका छन् । २०६४ सालमा भर्ना भएका सिसं ७ का सशस्त्र प्रहरी निरीक्षक १६ वर्षदेखि अझै केही सोही पदमा कार्यरत थिए । उनीहरू सबै जना डिएसपीमा सिफारिस भइसकेका छन् ।

सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका सूर्य तिमिल्सिनालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल ।
यस्तै, सशस्त्र प्रहरी निरीक्षकको संख्या १ हजार १ सय २ बाट ४७ बढाएर १ हजार १ सय ४९, वरिष्ठ सईको ४८ बाट ५८ बढाएर १ सय ६, हबलदारको ३ हजार ५ सय ९ बाट १ हजार ९ सय १४ बढाएर ५ हजार ४ सय २३, सहायक हबलदारको ६ हजार २ सय ३६ बाट १ हजार ९ सय ४१ बढाएर ८ हजार १ सय ७७ पु¥याइएको छ । यसबाट ठुलो संख्यामा कनिष्ठ अधिकृत र बिल्लादारहरू पदोन्नत्ति भएका छन् । बिल्लादार जवानतर्फ एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित भएका छन् ।

सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलबाट दर्ज्यानी चिन्ह पाएपछि तस्बिर खिचाउँदै भानुभक्त लम्साल ।
नयाँ ओ एन्ड एमपछि साधारण समूह, साधारण उपसमूहतर्फ १२ जना एसएसपीमा, ५६ जना एसपीमा, ८४ जना डीएसपीमा, ७३ जना इन्सपेक्टरमा, ५० जना वरिष्ठ सईमा, १ सय ४३ जना सईमा, ८२ जना असईमा बढुवा भएका छन् । यसैगरी, सशस्त्र प्रहरी वरिष्ठ हबलदारमा १ सय ९८ जना कन्फर्म भएका छन् भने १ सय १८ जना बढुवा भएका छन् । यस्तै, सशस्त्र प्रहरी हबलदारमा १ हजार ९ सय २७ र सहायक हबलदारमा ३ हजार ८ सय ७१ जना बढुवा भएका छन् ।
यसैगरी, सशस्त्र प्रहरी सेवा, साधारण÷प्राविधिक समूह, लेखा÷कानुन उपसमूह, स्वास्थ्य÷सञ्चार तथा इन्जिनियरिङतर्फ डिएसपीमा एक जना (कानुन), पाँच जना (लेखा), चार जना (स्वास्थ्य) बढुवा भइसकेका छन् ।
यसैगरी, सञ्चार तथा इन्जिनियरिङतर्फ प्राविधिक डिएसपीमा तीन जना, प्राविधिक सशस्त्र प्रहरी निरीक्षकमा तीन जना, प्राविधिक सई र असईमा एक÷एक जना, हबलदारमा पाँच, सहायक हबल्दामा नौ र सहायक हबलदारमा २७ जना बढुवा भएका छन् । नयाँ ओ एन्ड एमपछि ६ हजार ६ सय ७३ जना बढुवा भएका छन् ।






