थरीथरीका भीड !

सरोज मिश्र

केही दिनअघि भक्तपुर दरबार स्क्वायरले राम्रै भीड देख्यो । म आफैं भक्तपुर दरबार स्क्वाएर क्षेत्रमै जन्मेर हुर्केको हुँदा त्यस क्षेत्रमा वा पाँचतले मन्दिर क्षेत्र टौमढीमा लाग्ने नियमित भीडका ’boutमा जानकारी छ । गाईजात्राका दिन दरबार इलाकामा ठूलै भीड लाग्छ । त्यस दिन जात्राको समापन नै त्यस क्षेत्रमा हुन्छ । त्यहाँको भूपतिन्द्र मल्लको सालिकलाई सातपटक परिक्रमा गरेर जात्रा समापन गरिन्छ । हरेक वर्ष टौमढीमा बिस्का जात्राको अवसरमा लाग्ने भीडको कुरै गर्नुपरेन । यही जात्राको अवसरमा लिंगो उभ्याइँदा वा ढाल्दा योसिंखेलमा लाग्ने भीड सबैले देखेका छन् । बडादसैंको दशमीका दिनमा भक्तपुर नगरको पूर्वतर्फ स्थित ब्रह्मायणी मन्दिरमा लाग्ने भीड उल्लेख्य हुन्छ ।

माथि उल्लिखित भीडहरू नियमित अर्थात् हरेक वर्ष निश्चित दिनमा देखिने भीड हो । गत ७ असोजमा देखिएको भीडचाहिँ नियमित होइन । त्यसदिन पूर्वराजा ज्ञानेन्द्र शाह त्यहाँ रहेको तलेजु भवानी एवं भैरव मन्दिर दर्शन गर्न पुगेका रहेछन् र दर्शकको भीड लागेको थियो । आज म भक्तपुर नगरले देखेको भोगेको अलि पुराना यस्तै आकस्मिक वा अनियमित भीडका ’boutमा उल्लेख गर्दै छु ।

२०२२–२३ सालतिरको कुरो होला । म आफू ५–६ वर्षे बालक थिएँ । ठ्याक्कै हुबहु सम्झिन सकिनँ । तर, साँझको ८–९ बजेको समयतिर भक्तपुर तलेजु ढोकाअगाडिको स्क्वायरमा ठूलो भीड लागेको थियो । खटिएका सुरक्षाकर्मीलाई बन्दोबस्त मिलाउन हम्मेहम्मे परिरहेको थियो । कुनै अंग्रेजी सिनेमाको सुटिङ भइरहेको थियो । सायद सिनेमाको नाम ‘वेज टू काठमान्डु’ थियो । भीड अचम्मैको थियो । कसैले केही बुझिरहेको थिएन । एउटा मोटरसाइकल बारम्बार गुड्दै थियो, ठूलो आवाज गर्दै । भीडमा फगत जिज्ञासा र कौतूहलता थियो । त्यसभन्दा पनि अघि त्यसै ठाउँमा अर्को एउटा ठूलो भीड लागेको थियो । सायद चिनियाँहरूले सर्कस देखाउन ल्याएका थिए । भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले बल नै प्रयोग गरेको थियो । विदेशी पाहुनाहरू अफगानिस्तानका राजा जहिर शाह र डेनमार्ककी तत्कालीन राजकुमारी आउँदा त्यस क्षेत्रमा देखिएको भीडको पनि मलाई सम्झना छ । भक्तपुर दरबार स्क्वायरमा लागेका यी भीड केकस्ता कुराबाट प्रेरित थिए ? खुट्याउन गाह्रो छ । सायद धेरै हदसम्म कौतूहलता, अनि थोरै मनोरञ्जन र थोरै त बाध्यता पनि होला !

२०३१–३२ देखि २०४६ सालसम्मको कालखण्डमा काठमाडौंले कैयन् ‘अभूतपूर्व’ पञ्च -यालीहरू पनि देखेकै हो । ती पञ्च -यालीहरूमा ‘हाम्रो राजा…’ र ‘रगत दिन तयार छौं’ भन्दै जोसिँदै उफ्रँदै गरेका पञ्चहरू पनि भोगेकै हो ।

अब म भक्तपुरबाट निस्केर काठमाडौंले भोगेका केही ठूला भीडको कुरा गर्न चाहन्छु । जनमत संग्रहमा बहुदलीय पक्षलाई पराजित गराइएपछि प्रतिपक्षको मनोबल धेरै हदसम्म गिरेको थियो । तत्कालीन पञ्चहरू टिमिक्क मिलेका दौरा सुरुवालमा सज्जिँदै प्रतिपक्षलाई ‘मुठीभरका’ भन्दै व्यंग गर्थे । ‘नेपाली मात्रका आशाका किरण माहाराजाधिराज सरकार’को जयजयकारले आकाश धर्ती गुञ्जायमान भइरहेको थियो । त्यत्तिकै पहिलोपटक पञ्चायती व्यवस्थाले पनि बालिग मताधिकारका आधारमा निर्वाचन गरायो । मुलुकभरीबाट १ सय १२ जना राष्ट्रिय पञ्चायतमा चुनिए । काठमाडौंबाट दुई जना चुनिए, नानीमैया दाहाल र जोगमेहर श्रेष्ठ । दाहालले ९६ हजार भोट पाइन् भने दोस्रो भएर जित्ने श्रेष्ठले ३०–३२ हजार भोट ल्याए । नानीमैया अचम्मको पात्र थिइन् । समाजको तल्लो वर्गको सेवामा समर्पित तर अनियन्त्रित महिला । उनीउस्तै परे सरकारी सचिव वा मन्त्रीलाई आपत्तिजनक अश्लील शब्दसमेत प्रयोग गर्थिन् । वास्तवमा काठमाडौंका जनताले एकखाले प्रयोग गरेका थिए, आक्रोश पोखेका थिए र पञ्चायती व्यवस्थालाई व्यंग्य गरेका थिए । उनी विजयी भएको दिन काठमाडौंको सडकमा अभूतपूर्व जुलुस निस्कियो । ट्रकमा चढेकी नानीमैयालाई हजारौंले पछ्याइरहेका थिए, नारा लगाइरहेका थिए । सडक र बार्दली अनि झ्याल कौसीबाट उनको स्वागत गर्ने त कति थिए थिए ! नाराचाहिँ सयौं समूहले सयथरीका लगाइरहेका थिए । कोही ‘भ्रष्ट त्रिविवि मुर्दावाद’ भन्दै थिए भने कोहीचाहिँ ‘यो जित कसको ? बहुदलवादीको’ भन्दै थिए । जुलुस ठूलो थियो, जोशिलो थियो र लयबद्ध थियो । वास्तवमा भन्ने हो भने त्यो अजंगको भीडको १–२ प्रतिशत मात्र नानीमैयाका सच्चा समर्थक थिए । बाँकी सबै आआफ्नो आक्रोश पोख्न जम्मा भएका थिए ।

२०३१–३२ देखि २०४६ सालसम्मको कालखण्डमा काठमाडौंले कैयन् ‘अभूतपूर्व’ पञ्च ¥यालीहरू पनि देखेकै हो । ती पञ्च ¥यालीहरूमा ‘हाम्रो राजा…’ र ‘रगत दिन तयार छौं’ भन्दै जोसिँदै उफ्रँदै गरेका पञ्चहरू पनि भोगेकै हो । ती ¥यालीको शोभा बढाउन लामालामा बाँस नचाउँदै धिमे बाजासहित सामेल भएका काठमाडौंका किसान ज्यापू समुदायको तस्बिर कसरी बिर्सन सकिएला र ! २४ चैत २०४६ का दिन मरिचमानलाई बर्खास्त गरेर लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाइएपछि स्वतस्फूर्त रूपमा ललितपुरबाट सुरु भएको र काठमाडौंभरी फैलिएको जुलुस कतिलाई याद छ ? २६ चैत राति बहुदलीय व्यवस्थाको पुनस्र्थापनालगत्तै २७ चैतको दिन निस्किएको जुलुस बिर्सन सकिएला र ? २७ गते को सो विजय जुलुसमा केही समयअघि पञ्च ¥यालीमा धिमे बाजाका साथ बाँस नचाउँदै सामेल भएका समूहहरू नै हर्षोल्लासका साथ नाच्दै हिँडेको त झन कसरी बिर्सनु ?

२०३९ साउन महिनामा बीपी कोइरालाको शवयात्रामा काठमाडौंले एउटा बेग्लैखाले भीड देख्यो । तमाम बन्देज र भयका वाबजुद असंख्य जनता बीपीलाई श्रद्धाञ्जली दिन सडकमा ओर्लिए । त्यहाँ स्वतस्फूर्त श्रद्धा र सत्ताप्रति विद्रोहको भावना थियो । ४६ सालको परिवर्तनपछि स्वरसम्राट नारायणगोपालको शवयात्राका रूपमा अर्काे एउटा भीड देखियो । त्यसबेलाचाहिँ उन्मुक्त स्वतस्फूर्त सम्मान थियो । पछि पनि मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका शवयात्रामा सडकमा जम्मा भएका ठूल्ठूला भीड देखिए । राजपरिवारको सामूहिक हत्यापश्चात्को २० जेठ २०५८ को भीडको आफ्नै प्रकृति थियो भने २२ जेठमा राज्यरोहणपश्चात् दरबार फर्किंदै गर्दा ज्ञानेन्द्रले सामना गर्नुपरेको र छल्न निकै कसरत गर्नुपरेको भीडका ’boutमा बताइरहनु नपर्ला ! अनि २०६२–६३ सालको जनआन्दोलनको अन्त्यतिर चक्रपथ घेर्ने त्यो विशाल भीड ! सीएनएनका संवाददाताले भनेका थिए, ‘दक्षिण एसियाको राजनीतिक रिपोर्टिङको मेरो क्यारियरमा मैले यत्रो भीड देखेको थिइन !’

अब पुनः भक्तपुरतर्फ नै फर्कौं । २०४५ सालको भूकम्पपश्चात् कोर भक्तपुर सहरले एउटा अस्वाभाविक भीड देख्यो । आफैंले अत्यधिक भोट दिएर जिताएका राष्ट्रिय पञ्चायत सदस्य कर्णप्रसाद ह्योंजूलाई मध्यान्ह दिउँसै भीडले बेइज्जत गर्दै सहर घुमायो र छाता आदि इत्यादिले घोच्दै मा¥यो । त्यो भीड कोर भक्तपुरका स्थानीयवासीकै थियो । त्यसलगत्तै भक्तपुर सहरले ह्योंजूको विशाल शवयात्रा देख्यो । तत्कालीन प्रधानमन्त्रीदेखि तमाम पञ्च सम्मिलित भक्तपुर सहरका लागि आयातीत भीड !

आज तलेजु प्रांगणले र टौमढी टोलले एक अर्काे भीड देखेको छ । तलेजु ढोकाअगाडिको स्क्वायर वा टौमढी पाँचतले मन्दिर प्रांगणमा खचाखच चाङ मिलाएजस्तो मानिस उभियो भने संख्या कति होलान् ? जवाफ दिनुअघि एकपटक सोच्नोस् । काठमाडौं खुलामञ्चमा खचाखच कोच्ने हो भने ३५ हजारसम्म मानिस अट्छन् ! अब के तलेजु प्रांगणमा ७–८ हजारभन्दा बढी अट्लान् ? अनि त्यहाँ खचाखच चाङ मिलाएजस्तो मानिस थियो ? भएकामध्ये भक्तपुरका साविक २१ गाविसबाट कतिकति जनाका दरले भित्याइएका थिए ? साइडसाइडमा उभिएर तमासा हेर्ने स्थानीय कति थिए ? टेलिभिजनलाई ‘बाइट’ दिएर राजभक्ति प्रकट गर्नेहरू त सबै नै ’roundका ‘काँठ’कै थिए त ! एक जना कान्छा महन्तका छोरा जंगम थरलाई चाहिँ रैथाने नै मान्नुपर्छ !

भीड स्वतस्फूर्त हुनसक्छ । त्यो स्वतस्फूर्ति पनि श्रद्धा, मनोरञ्जन, आक्रोश वा कौतूहल जे कारणले पनि हुनसक्छ । अनि भीड आयोजित, नियोजित वा प्रायोजित अथवा कसैको तत्वावधान वा परिचालनमा जम्मा हुनसक्छ । यसरी नियोजित भीड हो भने त्यसको निहित उद्देश्य हुन्छ । स्वतस्फूर्त भीडलाई पनि कसैले नेतृत्वदायी हस्तक्षेप गरेर निहित उद्देश्यतर्फ परिचालित गर्नसक्छ । ज्ञानेन्द्र शाहको तलेजु दर्शनका अवसरमा जम्मा भएको भीड केकस्तो प्रकृतिको हो भन्ने खुट्याउने र त्यो भीडले निहित उद्देश्य प्राप्त गर्ला त भनेर निक्र्योल गर्ने जिम्मा पाठकलाई नै छोड्न चाहन्छु ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?