इटहरी । मध्यदिउँसो घामको चर्को रापले पोलिरहँदा मन भने त्यो भनेभन्दा बढी पोलेको छ । घरमा सहानुभूति दिन आइरहेका छन् एक, दुई गर्दै दर्जनौं मानिसहरू । मानिसलाई के थाहा ? सहानुभूतिले घाउलाई झनै पोल्छ भनेर ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ (साविकको मधुवन गाविस १)का २६ वर्षीय राजेशकुमार स्वर्णकारको इजरायलको द्वन्द्वमा परी मृत्यु भएपछि अहिले परिवारजन विक्षिप्न बनेका छन् । राजेका बाबुआमासहित दाजुभाइदेखि छरछिमेकसम्म यतिबेला पीडादायी क्षणमा छन् । राजेशको मृत्यु भएको कल्पनाजस्तै लागे पनि तीतो यथार्थलाई स्वीकार गर्नुको विकल्प छैन ।
गतभदौ २४ गते मात्रै नेपालबाट ११ महिनाका लागि इन्टर्न गर्न गएका राजेशको २७ दिनको दिन नै मृत्युको खबर आएपछि भावविह्ल भएको मृतक राजेशका जेठा दाजु मुकेश स्वर्णकारले बताए ।
मृतक राजेश चार दाजुभाइमध्ये घरको साईँलो छोरा हुन् । सानैदेखि मिहिनेती, लगनशील र कर्मठ उनी २७ दिनअघि मात्रै इन्टर्नसिपका लागि गएका थिए । ‘भाइको खबरले दर्द भयो, ठुलो मिस्टेक भयो । आफूलाई पर्दा धेरै दुख्दोरहेछ,’ मुकेशले भने, ‘जहाँ परीक्षा दिन्थ्यो, त्यहाँ नाम निस्किन्थ्यो । अब कलेजमाथि कसरी विश्वास गर्ने ? देशमाथि कसरी विश्वास गर्ने बेकार पठाएँ ।’
उनी भाइलाई इन्टर्नसिपका लागि विदेश पठाएकोमा अहिले आफैंलाई धिक्कार्छन् । उनी भन्छन्, ‘कस्तो ठाउँमा पठाइदिएँ ? दाइ पासपोर्ट बुझाम् कि नबुझाम् भनेर सोधेको थियो, त्यो कुरा सम्झिँदा निकै पोलिरहेको छ ।’
परिवारमा सहानुभूति दिन आएका स्थानीय जनप्रतिनिधि, प्रशासन र साथीभाइसँग उनी भक्कानिन्छन् । घरपरिवारमा आमा र बा अचेतजस्तै छन् । परिवारका लागि काम गर्ने बेला भाइ गुमाउनुपरेको कुरा व्यक्त गर्न नसक्ने अवस्थामा पुगेका उनले भने, ‘यो बेला भाइ बाँचेको मात्रै भए पनि घरको ऋण बिस्तारै तिरिन्थ्यो । अहिले घरको लागि गर्नेबेला भगवानले खोस्यो ।’
इजरायल’bout जानकारी भएको भए, आफूले नपठाउने र कलेजलाई विश्वास गरेकोमा पछुतो भएको उनको भनाइ छ ।
‘कति दुःख गरेर मेरो भाइ पढ्यो, कहाँबाट हुन्छ पैसा, सबै ऋण गरियो सब व्यवस्था मिलाइयो । अब घरपरिवार हेर्ला, ऋण सब व्यवस्था मिलाउला भन्ने थियो, गइहाल्यो,’ रोदनमिश्रित आवाजमा मुकेश भन्छन्, ‘जति सम्बन्धित परिवारलाई पोल्छ, त्यति अरूलाई वास्तै हुँदैन । भाइ सानो हुँदादेखिको कुरा सुनेर ममी रोइरहनुभएको छ । मैले कसरी सम्झाउनु ?’
गतशुक्रबार मात्रै घरगाउँमा जितिया पर्व मनाइएको थियो । आमाले स्वास्थ्य र दीर्घायुको कामनासाथ व्रत बसेको स्मरण गर्दै मुकेश भन्छन्, ‘अब त भगवान छैन जस्तो लाग्यो । भगवान थिए भने त भाइ मर्नबाट जोगिन्थ्यो । कहाँ छन् भगवान ?’
मुकेशले विगत स्मरण गरे । ‘बुबाको सानो सरकारी जागिर थियो । खेतीपाती र जागिरबाट दुःख गरेर हामी सबैलाई पढाउनुभयो,’ उनले सुनाए, ‘म पनि इन्जिनियर थिएँ, भाइलाई जसरी पनि इन्जिनियर नै बनाउँछु भन्ने सपना देखेको थिएँ । तर, भाइले कृषि पढ्ने भन्यो । उसको सपना पूरा हुनै पाएन । यदि, मैले इन्जिनियर पढाउन सकेको थिएँ भने आज यो घटनै हुने थिएन ।’
घरी कलेजप्रति, घरी देशप्रति त घरी आफैंप्रति उनी धिक्कार मानिरहेछन् ।
राजेशसँगै कक्षा १ देखि अध्ययन गरेका बाल्यकालका साथी कलामुद्विन अन्सारीले उनी इमानदार रहेको बताए । ‘गाउँमा पढेलेखेको ऊ (राजेश) नै थियो,’ उनले भने, ‘गाउँघरका कार्यक्रमदेखि विभिन्न ठाउँमा अगाडि बढ्न चाहने केटो थियो । गाउँका केटाकेटीदेखि सबैले उसलाई मान्थे ।’
खेती, किसानी गरेर घरपरिवारले पढाएको यतिका उमेरपछि भने मृत्युवरण गर्न देश छाड्नुपरेकामा निकै पीडादायी क्षण रहेको उनी सुनाउँछन् । ‘बाउ आमाले दुःख गरेर पढाएका थिए, नेपाल छाडेको एक महिना नभई मृत्युको खबर आउँदा कस्तो हुन्छ ?’ उनले भने ।
स्थानीय अलाउद्विन अन्सारीले गाउँको इमानदार र मिहिनेती साथी गुमाउनुपर्दा दुःखी भएको सुनाए । अहिले आफूसँग दुःखको शब्द नै नरहेको उनको भनाइ छ ।
स्थानीय माउन्ड भ्यु स्कूलमा कक्षा ८ सम्म अध्ययन गरेका उनले एसएलसी भने इनरुवाको नवयुग एकेडेमीबाट उत्तीर्ण गरेका थिए । कक्षा १२ विराटनगरको शिक्षादीप कलेजबाट उत्तीर्ण गरेका राजेश चार वर्षअघि कृषि पढ्नका लागि सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसमा भर्ना भए । अहिले चौथो वर्षको आठौं सेमेस्टर सकेर इन्टर्नसिपका लागि गएका उनको निधन भएपछि परिवार मात्रै नभई देश नै शोकमा डुुबेको छ ।
यसैबीच सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीकी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मी, बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीसहित स्थानीय जनप्रतिनिधिले पीडित परिवारलाई भेटेर चाँडै शव नेपाल ल्याउनका निम्ति पहल गर्ने आश्वासन दिएका छन् ।
‘शव इजरायलस्थित नेपाली दूतावासमार्फत ल्याउनुपर्ने हुन्छ,’ प्रजिअ पाण्डेले भनिन्, ‘हामीले शव चाँडै नेपाल ल्याउन पहल गर्ने छौं । परिवारलाई परेको यो पीडा र दुःखले राज्यका लागि पनि क्षति भएको छ ।’






