५० वर्षपछि चुरे पूर्व विद्यार्थीहरुको पुर्नमिलन

बर्दिया । ठाकुरबाबा नगरपालिकास्थित चुरे माध्यमिक विद्यालयबाट २०३६ सालमा पहिलो ब्याचका रुपमा एसएलसी परीक्षा दिएका ठाकुरबाबा–३ मानपुरका देविप्रसाद देवकोटा शुक्रबार निकै प्रफुल्लित देखिन्थे । लामो समयको अन्तराल पछि आफुसँगै पढेका सहपाठी र आफु भन्दा जुनियर पूर्व विद्यार्थीहरुलाई विद्यालयको सभा हलमा भेट्न पाउँदा उनीमा खुसीको सीमा नै थिएन ।

हाल काठमाण्डौ बस्दै आएकी अनिता पौडेल पनि लामो समय पछि आफना सहपाठीहरुलाई विद्यालयमै भेट्न पाउँदा निकै खुशी देखिन्थिन । सहपाठीहरुसँग अतितका मित्रताको सुमधुर क्षणलाई स्मरण गर्दै अनिताले विद्यालयमा करिव ३ घण्टा बिताइन् । अतितलाई सम्झदै अनिताले आफुले पढेको विद्यालय, कक्षाकोठा र सहपाठीका तस्बिरहरु आफनो मोवाइलमा कैद गरिन् । लामो समयपछि सहपाठीहरुसँग विद्यालयमा भेट्न पाउँदा निकै खुशी लाग्नुका साथै विद्यार्थी जीवनका पलहरु पुर्नताजगी भएका उनले सुनाइन् ।

करिव ५ दशकको अन्तरालमा शुक्रबार विद्यालयमा भएको पूर्व विद्यार्थीहरुको जमघटले विद्यालयको माहोल नै रंगीन तथा उल्लासमय बनेको थियो । विद्यालयले दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चुरे पूर्व विद्यार्थी पुर्नमिलन कार्यक्रममा पूर्व विद्यार्थीहरुको जमघट भएको हो । पेसा, व्यवसाय तथा अन्य कामका लागि बाहिर रहेर दसैँ मनाउन घर आएका पूर्व विद्यार्थीहरु कार्यक्रममा भेला भएका थिए ।

विद्यार्थी जीवन पछि हाल विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा जागिरे जीवन विताइ रहेका पूर्व विद्यार्थीहरुले कार्यक्रममा एकआपसमा शुभकामना आदनप्रदान गर्नुका साथै आआफना अनुभव र सुःखदुःख साटासाट गरे । पूर्व विद्यार्थी तथा हाल काठमाण्डौ एपीवन टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत निरजराज जोशीले पुर्नमिलन कार्यक्रममा सहभागी हुन पाउँदा निकै गर्व महशुस भएको बताए ।

जिल्लाकै गर्बिलो इतिहास बोकेको चुरे माध्यमिक विद्यालयले यस विद्यालयका पूर्व विद्यार्थीहरुलाई एकै स्थानमा पुर्नमिलन गराउने उद्वेश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यपक राजेशकुमार यादवले बताए । सामाजिक सञ्जाल प्रयोग गरी विद्यालयले पूर्व विद्यार्थीहरुलाई आमन्त्रण गरेको थियो । कार्यक्रममा सहभागी हुन आएकी यस विद्यालयकी पूर्व विद्यार्थी तथा हाल लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा कुश्मा थारुले कार्यक्रमको प्रशंसा गर्दै विद्यालयको थप उन्नती र प्रगतीका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरिन् ।

पूर्व विद्यार्थी तथा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, ठाकुरबाबा नगरपालिकाका पूर्व नगरप्रमुख घननारायण श्रेष्ठ, बारबर्दिया नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाबहादुर थारु, ठाकुरबाबा–३ का वडाध्यक्ष श्रीकृष्ण थारुले विद्यालयले आयोजना गरेको पूर्व विद्यार्थी पुर्नमिलन कार्यक्रमले विद्यालयको शैक्षिक विकासका लागि आफुहरुलाई झनै जिम्मेवार बनाएको धारण राखे ।

चुरे माध्यमिक विद्यालय २०३० सालमा स्थापना भएको हो । यसै वर्ष पुस महिनामा विद्यालयले ५० औँ जन्मजयन्ती तथा स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । स्वर्ण महोत्सव भब्य र सभ्य बनाउनका लागि विद्यालयको विभिन्न समिति, उपसमिति बनाएर कार्य विभाजन गरी तयारी अघि बढाइएको विद्यालयका प्रधानाध्यपक राजेशकुमार यादवले बताए ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालय परिसर स्वर्ण स्तम्भ, सभा मञ्च निर्माण, अक्षय कोष स्थापना र स्वर्ण स्मारिका प्रकाशन गर्ने योजना रहेको प्रअ यादवले जानकारी दिए । स्वर्ण महोत्सवलाई भब्यरुपमा सफल बनाउन सम्पूर्ण चुरे पूर्व विद्यार्थीहरुको साथ र सहयोग प्राप्त हुने प्रअ यादवले अपेक्षा गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा