अव्यवस्थित तार १५ दिनभित्र व्यवस्थित गर्न निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढी तारका कारण जोखिमसँगै कुरूप बन्दै गएको छ । धनगढीमा मुख्य सडकसँगै सहायक सडकका पोलमा इन्टरनेट तथा केवल टिभीका तारका गुजुल्टा नै छन् ।

तारहरूको व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले गत ४ मंसिरमा इन्टरनेट र केवल नेटवर्क कम्पनीसँग बैठक गरेको थियो । उपमहानगरपालिकाले बैठकमा तार व्यवस्थित बनाउन भनेको थियो । तर, इन्टरनेट र केवल कम्पनीले बेवास्ता गरेका छन् । नगर प्रमुख गोपाल हमालले बैठकमा सबै कम्पनीलाई तार व्यवस्थित बनाउन भनिएको बताए । उनले भने, ‘पोलमा आगो लाग्ने मात्र कुरा होइन । पोलको आगो घरमा सल्किने जोखिम छ । हामीले बैठक बोलाएका थियौं, बैठकमा तार व्यवस्थित बनाउन भनेका थियौं । तर, अहिलेसम्म व्यवस्थित भएको छैन ।’

इन्टरनेट तथा केवल टिभीका कम्पनीले विद्युत् प्राधिकरणका पोलमा तार विस्तार गर्दै आएका छन् । उनीहरूले मासिक विद्युत् प्राधिकरणलाई पोलमा तार विस्तार गरेको भाडासमेत दिने गरेका छन् । तर, अव्यवस्थित तारका कारण आगलागीसँगै सहर कुरूप हुँदा पनि प्राधिकरणले बेवास्ता गर्दै आएको छ ।

पोलमा भएको आगलागीले घरमासमेत क्षति हुने सम्भावना भए पनि विद्युत् प्राधिकरणले वास्ता गरेको छैन । विद्युत् प्राधिकरण, धनगढीका निमित्त प्रमुख मानदेव जोशीले तार व्यवस्थित गर्न प्राधिकरणले समेत आग्रह गर्दै आएको बताए । उनले भने, ‘तारकै कारण आगो लाग्ने त हुँदैन । तर, विद्युत् तारको आगो तल झरेमा समस्या हुन सक्छ । तारका कारण हामीलाई समेत कहिलेकाहीं समस्या हुने गरेको छ । पोलमा तार भएपछि नराम्रो पनि देखिन्छ ।’

चिसोयामभन्दा गर्मी मौसममा धनगढीका बिजुलीको तार सर्ट हुने समस्या छ । विद्युत् प्राधिकरणका पोलमा विस्तार गरिएका तारमा समेत आगो सल्किने गरेको छ । सडकका पोलबाट सल्किएको आगो घरसम्म पुग्ने जोखिम छ । अव्यवस्थित तारका कारण दुर्घटनाको डर बढेको मात्रै नभएर धनगढीलाई कुरूप पनि बनाएको छ ।

धनगढीका सुन्दर घरलाई नै कुरूप बनाउने गरी सबैतिर माकुरोको जालो जस्तै रहेका तारले आकर्षक घरलाई मात्रै नभई सिंगो नगरलाई नै कुरूप बनाइएको छ । तार १५ दिनभित्र व्यवस्थित गर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ । नगर प्रमुख हमालले १५ दिनभित्र तार व्यवस्थित बनाउन सूचना सार्वजनिक गरेको बताए ।

‘अहिले सूचना निकालेका छौं । १५ दिनभित्र सुधार भएन भने, हामी तार काट्छौं । इन्टरनेटका ग्राहक र कम्पनीलाई क्षति हुन्छ,’ उनले भने, ‘प्रदेशको अस्थायी राजधानी धनगढी अव्यवस्थित तारका कारण कुरूप बन्दै गएको छ । धनगढीका सडक पोलमा इन्टरनेट तथा केवल नेटवर्क कम्पनीले मनोमानी तार तान्ने गरेका छन् ।’

विद्युत् प्राधिकरणले पोल प्रयोग गर्न अनुमति दिने गरेको छ । तर, पोलबाट भाडा असुल गर्दै आएको प्राधिकरणले अव्यवस्थित तारका कारण हुने जोखिम र सहरको सुन्दरतालाई भने ध्यान दिने गरेको छैन । साथै विद्युत्सँगै टेलिफोन, इन्टरनेट, केवल टेलिभिजनलगायतका तार भूमिगत गर्न सके यस्तो समस्या दीर्घकालीन रूपमा हल हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार