१२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरस्केलको महाभूकम्पको पनि आठ वर्ष बितिसकेको छ । आठ वर्षको अवधिभित्र पनि हामीकहाँ थुप्रै भूकम्पका पराकम्पहरू गएका थिए । नेपाल सरकार राष्ट्रिय भूकम्प मापन केन्द्रको पछिल्लो तथ्यांकनुसार ५ कात्तिक २०८० महाअष्टमीका दिन धादिङ केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पले काठमाडौंलगायतका क्षेत्रहरू हल्लाएको थियो तर मानवीय र भौतिक क्षति भने हुन पाएन । त्यसैगरी, सोही दिन सोही केन्द्रबिन्दु भएर ५, ४ दशमलव ४, ४ दशमलव १ र ४ दशमलव ३ रेक्टरस्केलका पराकम्प पनि गएका थिए । ३ साउन कास्की केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसैगरी, हुम्ला केन्द्रबिन्दु भएर ४ दशमलव ६, दार्चुला र लम्जुङ केन्द्रबिन्दुु भएर ४, बाजुराकेन्द्र बिन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो भने १६ असोज मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६ दशमलव ३, बझाङकै तालकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरको भूकम्पबाट एक जनाको ज्यान गएको, २६ जना घाइते र ४८ भवनमा क्षति पुगेको थियो ।
यी विविध भूकम्पका परिवेश हेर्ने हो भने नेपालमा भूकम्पको जोखिम कायमै रहेको देखिन्छ । नेपालमा मात्रै नभएर भूकम्प छिमेकी मुलुक भारत, चीनलगायत विश्वमै गई नै रहेका छन् । भूकम्पबाट बच्नका लागि पूर्वसावधानी उत्तम उपाय हो । यसलाई सबैले पालना गर्ने र भूकम्पप्रतिरोधी संरचनाहरू निर्माण गर्नसकिएको खण्डमा मानवीय क्षति हुने कुरामा दुईमत हुन सकिँदैन । भूकम्पको पछिल्लो रेकर्डनुसार नेपाल अझै अति जोखिम क्षेत्रमै पर्ने हुँदा हामी सबै सतर्क भई सावधानी र भूकम्पको पूर्वतयारी कार्यमा जुट्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
भूकम्पीय दृष्टिकोणले पहिलो नम्बरमा परेको नेपालमा पछिल्लो समय पश्चिमी नेपालका विभिन्न स्थानमा भूकम्प गई नै रहेका छन् । नेपालमा मात्रै होइन विश्वका अनेकन सहरमा भूकम्प गई नै रहेका छन् । जसका कारण कयौंको मृत्यु भएका छन् भने कयौं घाइते तथा घरवारविहीन हुन पुगेका समाचारहरू आइरहेकै छन् । बर्खायामको समाप्ति हुनलाग्दासमेत भूकम्पको धक्का आइरहँदा आमनागरिक त्रसित बन्नु स्वाभाविकै हो तर यस’bout बच्नका लागि पूर्वतयारी र पूर्वसावधानी हरेक तह र तप्काबाट हुनुपर्ने आवश्यकता रहेको देखिन्छ । २०७२ सालको भूकम्पले छियाछिया पारेको पहाड र जमीन कुनबेला भासिने हो यकीन गर्न सकिँदैन । अहिले बर्खायाममा थुप्रै स्थानमा राजमार्ग अवरुद्ध भएका छन् । सुक्खा तथा लेदोरहित पहिरो झरिरहेका छन् । कतै यी भूकम्पकै कारणले त भएको होइन ? यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक रहेको छ ।
भूकम्पप्रतिरोधी संरचना निर्माण गर्न सकिएको खण्डमा मानवीय क्षति कम गर्न सकिने कुरामा दुईमत छैन
६ फेबु्रअरी २०२३ मा टर्की केन्द्रबिन्दु भएर गएको भूकम्पले टर्की र सिरियामा हजारौंको संख्यामा ज्यान गयो, हजारौं घाइते भए र भग्नावशेषमुनि अज्ञात संख्यामा नागरिकहरू बेपता भए । तिनको उद्घारका लागि हजारौंको संख्यामा उद्घारकर्ताहरूसमेत खटाइएको थियो । सो दिन गएको भूकम्पले टर्कीका मुख्य १० सहर काहमानमार्ससहित किलिस सहर र सिरियाको अलेप्पोसहित टार्टस सहरसहित चारवटा सहर धेरै प्रभावित भई थुप्रै सर्वसाधारण नागरिक र भौतिक संरचनाहरू ध्वस्त भएका थिए । टर्कीमा सन् २०११ र सन् १९९९ मा गएका भूकम्पमा २३ हजारभन्दा बढीको मृत्यु भएको थियो । विश्वमा गएका यस्ताखाले भूकम्पले गर्दा अति जोखिममा रहेको नेपालले पनि भूकम्पीय क्षति न्यूनीकरणका उपायहरू खोज्नु अतिआवश्यक भइसकेको छ ।
भूकम्पीय घटनाहरू झट्काको तीव्रताको आधारमा मापन गरिन्छ । यो तीव्रता भूकम्पको समयमा ऊर्जाको रिलिजसँग सम्बन्ध हुने भएकाले रेक्टरस्केलमा मापन गरिन्छ । भूकम्पको तीव्रता शून्यदेखि १० रेक्टरस्केलसम्म रहेको हुन्छ । नेपाललगायत विश्वमा जाने भूकम्पको तीब्रता ५ रेक्टरभन्दा बढी गएको खण्डमा अत्यन्त विनाशकारी परिणाम ल्याउने गर्छ । उदाहरणका लागि नेपालमा २०७२ सालको भूकम्प र टर्कीमा हालै गएको ७ दशमलव ५ रेक्टरभन्दा बढी रेक्टरस्केलको भूकम्पलाई लिन सकिन्छ । त्यसैगरी, ८ रेक्टरभन्दा बढीको भूकम्प जाने सम्भावना थोरै रहेको विज्ञहरूले बताउँदै आएका छन् ।
भूकम्प कुनै सूचना दिएर आउँदैन । यो एक प्रकारको दैवीप्रकोप नै हो । यसबाट बच्नका लागि पूर्वसावधानी एउटा उपाय हो । तर, यो नै मात्र सबथोक भने होइन । भूकम्पले पहाडी क्षेत्रमा पहिरो जान सक्छ र ठूलो जनधनको क्षती पु¥याउँछ भने हिमाली क्षेत्रमा हिमपहिरो जानेलगायतका घटना घट्न सक्छन् । त्यसैगरी, ठूलाठूला बाँधहरू भत्केर बाढीको बितण्डा मच्चाउन सक्छ । समुन्द्री छाल बढेर सुनामी आउन सक्छ । अर्कोतर्फ मानव निर्मित भवनहरू, रेलवे, सडक, पुलहरू र आवासीय क्षेत्रहरू विनाश गर्न सक्छ । २०७२ सालमा आएको भूकम्पले धेरै जनधनको क्षति गरेको थियो भने भौतिक संरचना, मठ, मन्दिरहरू भत्किएका थिए । तिनको पुनर्निर्माण कार्य हाल भई नै रहेका छन् । त्यसैगरी भारत, टर्की, जापानलगायतका मुलुकहरूमा पनि भौतिक संरचनाहरू भत्किएका थिए । काठमाडौं सहर भूकम्पीय सुरक्षाको दृष्टिकोणले अगाडि नै रहेको छ । यसले गर्ने क्षतिले सबैलाई मर्माहित र दुःखी तुल्याउँछ तर पनि अझै हामी सचेत र सतर्क अनि जिम्मेवार बन्नसकेका छैनौं । अबका वर्षहरूमा यस्तो विध्वंश भोग्न नपारोस् भन्ने आमनागरिकको धारणा रहेको छ । तर, यो अवस्था आउनुमा हामी पनि दोषी छौं ।
२०७२ सालको भूकम्पलाई चट्ट बिर्सिएर फेरि लुकीछिपी, नक्सा पास नगरी थोरै जग्गामा गगनचुम्बी भवन बनाई नै रहेका छौं । नेपाल सरकारले तोकिदिएको भवन आचारसंहितालाई हामीले पालना गरेका छैनौं । राजधानीलगायत मुलुकका कैयन् सहरहरू अहिले पनि अस्तव्यस्त, अव्यवस्थित हुनुको मुख्य कारण नेपाल सरकारले कहाँ, कुनकुन स्थानमा कस्तोकस्तो किसिमको घर, भवन निर्माण गर्ने भन्ने गुरुयोजना तयार गरी कार्यान्वयन गर्न नसक्नु नै हो । अहिले काठमाडौंलगायत नेपालका ठूल्ठूला सहरहरू कंक्रिटमा परिणत भइसकेका छन् । यसले सुख होइन दुःख नदेला भन्न सकिँदैन । त्यसैगरी, अवैज्ञानिक तरिकाले निर्माण गरिएका पूर्वाधारहरूले पनि सहरलाई उच्च जोखिममा पारेको कुरामा दुईमत हुन सकिँदैन । सहर मात्रै होइन गाउँघरमा समेत भूकम्पपछि आउने पहिरोले नसताउने होइन । नेपाल सरकारले बर्सेनि भूकम्प सुरक्षाका नाममा दर्जनौं बैठक, सेमिनारहरूमा खर्च गर्दैआइरहेको छ । तर, नागरिकहरूलाई भूकम्पबाट बच्नका लागि सचेतना कार्यक्रमहरू प्रभावकारी रूपमा भएका पाइँदैनन् ।
भूकम्प आउनेबित्तिकै राहत वितरण र दक्ष स्वयंसेवक परिचालनले भूकम्पपीडितलाई अकाल मृत्युबाट बचाउन सकिन्छ
कुनै घटना, दुर्घटना हुनुभन्दा पहिले सुरक्षा उपायहरू खोज्नुपर्छ । भूकम्पअघि प्राथमिक उपचार विधि जानिराख्ने, गह्रांै सामानहरू दराजको तल्लो खण्डमा राख्ने, नयाँ घर निर्माण गर्दा भूकम्पीय सुरक्षा उपायहरू अपनाउने, बत्ती, पंखा, ठूला ऐना, तस्बिर आदि झुन्ड्याइएका सामानहरू नखस्नेगरी राख्ने, फर्निचर, अग्ला सरसामानहरू नढल्ने र नखस्नेगरी बलियोसँग राख्ने गर्नुपर्छ । भूकम्पले हल्लाउन छोड्नासाथ सुरक्षाको स्थिति हेरेर मात्र घरबाहिर निस्कने, भूकम्प फर्किएमा त्यसका लागि तयार रहने, आगो निभाउने, तुरुन्त प्राथमिक उपचार गर्ने, खुला ठाउँमा भेला हुने, संकटकालीन सेवा कार्यमा बाधा पर्नेगरी टेलिफोन प्रयोग नगर्ने, रेडियो खोल्ने र भूकम्पको खबर तथा त्यससम्बन्धी सूचनाहरू सुन्ने, घर सुरक्षित छ भन्ने सुनिश्चित नभएसम्म कुनै पनि घरभित्र नपस्ने गर्नुपर्छ ।
विशेषतः भूकम्प भनेपछि हामी तर्सने र आत्तिने गर्ने गर्छौं तर त्यसो नगरी नआत्तीकन बस्नुपर्छ । यदि, भूकम्प गएका बेला घरभित्र छौं भने कहिल्यै झ्यालबाट हामफाल्नुहुँदैन । ढोकामा उभिने वा टेबुल, डेस्क, खाटमुनि बस्नुपर्छ । भत्कन सक्ने झ्यालनजिक कहिल्यै बस्नुहुँदैन । भुइँतलामा ढोकानजिकै छौं भने बाहिर निस्कनुपर्छ । त्यस्तै, घरबाहिर सवारीसाधन चलाइरहेका छौं भने सडकबाट हटेर सुरक्षित स्थानमा गई रोक्नुपर्छ ।
बिजुलीको तार, लाइन र भवननजिक बस्नुहुँदैन । आवतजावत गर्ने बाटो साँघुरो छ र दायाँबायाँ अग्ला घरहरू छन् भने ढोकामा गएर उभिएर बस्नुपर्छ । भूकम्पका बेला अतिआवश्यक पर्ने टर्चलाइट, सुक्खा चिजहरू चाउचाउ, चिउरा, रेडियो, डोरी, मलम, औषधि, पानी, अति महŒवपूर्ण कागजातहरूको फोटोकपीहरू ब्यागमा सहजै देखिने र भेटिने ठाउँमा राख्नुपर्छ । यसरी हामीले पूर्वतयारी गर्नसकेको खण्डमा आफू पनि बच्न सक्छौं र अरूलाई पनि बचाउन मद्दत पु¥याउन सक्छौं ।
घर बनाउँदा गुणस्तरीण निर्माण सामग्री प्रयोग र प्राविधिकहरूको अनुगमन तथा आचारसंहितालाई पूर्णरूपमा पालना गरी भूकम्पलाई न्यूनीकरण गर्न सकिन्छ । अहिलेको अवस्थामा हामी आमनागरिकहरू भूकम्प’bout पूर्वतयारी गरी अघि बढ्नु जरुरी रहेको छ भने नेपाल भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त छ भन्ने कुराको सधैं ख्याल राख्नुपर्छ । भूकम्पबाट बच्नका लागि पूर्वतयारीका साथसाथै व्यवस्थापनका ’boutमा विद्यालयस्तरको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्नुपर्छ । त्यसैगरी, पूर्वसावधानीका प्रयोगात्मक तरिकासमेत सिकाउनुपर्छ ।
भूकम्पजस्तो विपद्बाट जोगिनका लागि स्थानीय सरकार, प्रदेश र संघ सरकारले पर्याप्त मात्रामा बजेटको व्यवस्था मिलाइराख्नुपर्छ । भूकम्प आउनेबित्तिकै राहतका कार्यलाई तीव्रता दिई अघि बढ्नका लागि दक्ष कर्मचारी, स्वयंसेवकहरूको व्यवस्था गर्नसकेको खण्डमा भूकम्प गइहालेको खण्डमा समयमै पीडितहरूले राहत पाउनसक्छन् । अकाल मृत्युबाट बचाउन सकिन्छ । अतः भूकम्पजस्तो विपद्बाट बच्नका लागि अवलम्बन गरिएका नियमहरू सबैले पालना गर्नु अपरिहार्य भएको छ ।






