विराटनगर । हाल कोभिड १९ कोरोना भाइरसको रोकथामका लागि नेपाल लक डाउनमा रहेको अवस्थामा वन्यजन्तुको चोरी शिकारी गर्ने समुह सक्रिय रहेको पाइएको छ । मोरङ्ग जिल्लामा चारकोसे झाडी रहेको वनक्षेत्र वन्यजन्तुका लागि उपयुक्त बासस्थान मानिन्छ तर वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतनाको अभाव र मौका छोपी फाइदा लिने गलत समूहको कारण चोरी शिकारी रोकिन सकेको छैन ।
चोरी शिकारी भइरहेको भन्ने सूचनाको आधारमा शुक्रबार दिउँसो सवा ४ बजे सशस्त्र प्रहरी बल नेपाल हाईवे सुरक्षा पोष्ट सलकपुर मोरङ्गबाट सशस्त्र प्रहरी निरीक्षक विदुर भट्टराई र सवडिभिजन वन कार्यालयका रेन्जर विजय प्रजाको संयुक्त टोली सुन्दरहरैचा नगरपालिका ८ स्थित सलकपुर सामुदायिक वनको जङ्गलमा खटिएको थियो । अप्रेशन गर्ने शिलशिलामा अन्दाजी २५ जनाको शिकारी समूहसँग जम्काभेट भएको र सो समूहले अकस्मात गस्ती टोलीलाई ९ फायर खोलेको थियो । जवाफी फायरमा वन रक्षक टोलीले थ्रि नट थ्रि राइफलबाट ७ राउण्ड र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट १ राउण्ड फायर भएको थियो । सो दोहोरो फायरमा कुनै पनि मानवीय क्षति भएको छैन ।
सशस्त्र प्रहरी बल नेपाल र वन रक्षकको टोलीले सफलतापूर्वक अप्रेशन सञ्चालन गर्न सो सामुदायिक वनलाई कडन गरेकोमा अन्य शिकारी समूह भागेको र ३ जना शिकारी समूहलाई पक्राउ गर्न सफल भएको थियो । पक्राउ पर्नेमा मोरङ्ग केरावारी गाउँपालिका बस्ने ३५ वर्षीय डम्बर जोगी, सोही ठाउँ बस्ने २७ वर्षीय किसान कार्की, जिल्ला झापा बुद्धशान्ती गाउँपालिका बस्ने २७ वर्षीय किरण धिमाल छन् । उनीहरुको साथबाट भरुवा बन्दुक दुई थान, भरुवा बन्दुकमा लाग्ने बारुद अन्दाजी तीन सय ग्राम, भरुवा बन्दुकमा लाग्ने केप दुई थान मोबाइल सेट एक थान बरामद गरी आवश्यक कारवाहीको लागि सवडिभिजन वन कार्यालय सलकपुरमा बुझाइएको छ ।
मोरङ्ग जिल्लामा वन संरक्षण तथा वन्जयजन्तु संरक्षणका लागि डिभिजन वन कार्यालयसँग नियमित रुपमा सहकार्य गरिरहेको र यसरी हुने वन्यजन्तुको चोरी शिकारीलाई नियन्त्रण गर्न जुनसुकै प्रकारको कदम चाल्न पनि सशस्त्र प्रहरी बल नेपाल हरहमेशा तयार रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा.कंकालिनी मोरङ्गका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्र बहादुर कार्कीले बताए । नं. १ प्रदेशमा वन पैदावारको चोरी अवैध ओसारपोसार, वन्यजन्तुहरुको चोरी शिकारी नियन्त्रण गर्न मातहत सशस्त्र प्रहरी बल नेपालका युनिटहरुलाई निर्देशन दिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले बताए । उनले यस्ता कारवाही निरन्तर रहिरहने जानकारी दिए ।
मोरङ्ग जिल्लाको वन पैदावारको सुरक्षा र वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले अहम भूमिका खेलेको बताउँदै डिभिजन वन कार्यालय मोरङ्गका प्रमुख विशाल घिमिरेले आगामी दिनमा समेत सशस्त्र प्रहरी बल नेपालको सहयोग लिदै प्रभावकारी कार्य गर्ने बताए ।






