पोखरा । पोखरा–१३ काहुँखोलाकी ४० वर्षीया लक्ष्मी महर्जनले २ वर्षअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँ जम्मा गरिन् । मुद्दती खातामा राखेको सो रकमको राम्रै ब्याज आयो । पहिला १४ प्रतिशत ब्याजदरमा बचत गरेकामा गत वर्ष बढाएर झन् १७ प्रतिशत दिने आश्वासनपछि सो रकम उनले निकालिनन् ।
भविष्यको गर्जो टर्ला भनी आशामा सावाँ र ब्याज गरी सबै सूर्यदर्शनमै राखिन् । तर, गत वर्षको साउनदेखि सहकारीले बचत फिर्ता नगरी सञ्चालक नै भागेको थाहा पाएपछि उनी छाँगाबाट खसेझैं भइन् । ब्याज त के सावाँ पनि नआउने भएपछि अहिले उनी निकै चिन्तित छन् ।
पोखरा–१४ मझेरीपाटनकी ४३ वर्षीया पार्वती शर्माले १५ वर्षअघि सूर्यदर्शनमै आफ्नो नाममा खाता खोलेकी थिइन् । उनी अलिअलि रकम जम्मा गर्ने र निकाल्ने पनि गर्थिन् । सहकारी सञ्चालक र कर्मचारीको आश्वासनमा उनले गत वर्ष १ लाख रुपैयाँ मुद्दती खातामै राखिन् । तर, अहिले सावाँ न ब्याज भएको छ ।
पोखरा–१८ सराङकोट जैसिथोकका भीमप्रसाद चपाईं उमेरले ७७ वर्षका भए । चपाईं दम्पतीका एक छोरा र एक छोरीमध्ये दुवैको विवाहदान भयो । बूढेसकालमा काम गरी खान नसक्ने भएपछि ब्याजले घरधन्दा चलाउँला भन्ने आशले चपाईं दम्पतीले अंशबन्डापछि १६ लाख रुपैयाँ बैंक तथा सहकारीमा जम्मा गर्ने विचार गरे । सहकारीका सञ्चालक आपूmलाई खोज्दै घरमै आएपछि उनीहरूले सो रकम केही वर्षअघि सूर्यदर्शन नै रोजेर जम्मा गरेका हुन् । ब्याज र सावाँ जोड्दा उनीहरूले लिनुपर्ने रकम २० लाख पुगिसकेको थियो ।
उनै चपाईं अहिले आफ्नो जिउने सहारा डुब्ने देखेपछि सकिनसकी आन्दोलनमा छन् । कहिले जिल्ला प्रशासन कार्यालय, कहिले पोखरा महानगर त कहिले काठमाडौंस्थित सरोकारवाला निकाय तथा व्यक्ति भेट्न उनी धाइरहेका छन् । चपाईं आक्रोशित हुँदै भन्छन्, ‘सरकारले ल्याएको गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ नाराबमोजिम सहकारीको विश्वास गरी पैसा जम्मा गरियो, अहिले उठिबास भयो, आफूसहित हजारौं बचतकर्ताको रकम फस्दा न सरकार बोल्छ, न नेता ?’ सहकारी समस्याग्रस्त हुनुमा ‘नेता–गुन्डा साँठगाँठ’ भएको उनले बताए ।
उता, पोखराको न्युरोड बस्ने दीपकुमार झाको पनि समस्या फरक छैन । मेसिनमा काम गर्दा खुट्टा गुमाएका उनले परिश्रमको काम गर्न नसक्ने भएपछि विगतमा कमाएको सहित आमासँग मिलेर १५ लाख रुपैयाँ सूर्यदर्शनमै जम्मा गरेका थिए । बैशाखीको भरमा हिँडडुल गर्नुपर्ने दीपकुमारलाई १५ लाख रुपैयाँ सहकारीमा फस्दा निद्रा न भोक छ । कहिलेकाहीँ राति सुत्दासमेत उनी बर्बराउने गरेको उनकी आमाले सुनाइन् ।
पोखराको नालाको मुखमा कार्यालय रहेको सूर्यदर्शन त्यही सहकारी हो, जसले राष्ट्रिय स्वतत्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नाममा गोर्खा मिडिया नेटवर्कको खातामा १ करोड रुपैयाँ पुलेसो कर्जामार्फत सारिएको पुष्टि भएको छ । सो रकम फछ्र्यौट भएको देखाइए पनि रकम सहकारीमा फिर्ता आएको पाइँदैन । सहकारीका संस्थापक अध्यक्ष रहेका गितेन्द्रबाबु (जीबी) राई सो टेलिभजनका अध्यक्ष हुन् भने लामिछाने तत्कालीन प्रबन्ध निर्देशक । टेलिभिजन छोडेर राजनीतिक करिअर थालेका लामिछाने सो प्रकरणमा उम्के पनि राई सहकारी ठगीका मुख्य आरोपी हुन् । विज्ञको प्रतिवेदनअनुसार सहकारीबाट गोर्खा मिडिया नेटवर्कलाई पेस्की र ऋणसहित कम्तीमा १० करोड रुपैयाँ सारिएको पाइएको छ ।
२६ असार २०६५ मा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा ‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा, कास्की’ नाममा संस्था दर्ता भएको थियो । विज्ञको प्रतिवेदनअनुसार सहकारीमा १८ हजार ७ सय बचतकर्ता छन् । सहकारीमा कुल १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ निक्षेप जम्मा भएकामा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९ सय ८ रुपैयाँ कर्जा लगानी गरिएको छ ।
जसमा ४ सय ३३ जनाको नाममा विभिन्न शीर्षकमा कर्जा प्रवाह गरी आर्थिक हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । कारोबारका क्रममा सहकारी ऐनको पालना गरिएको छैन भने तमसुक तथा कुनै महत्वपूर्ण कागजात पाइँदैन । सहकारी ऐन, २०७४ को दफा ५० मा सहकारी संस्थाले आफ्ना सदस्यको मात्र बचत स्वीकार गर्न, सोको परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्नसक्ने व्यवस्था छ । यसरी ऐनविपरीत नाफामूलक कम्पनीलाई ऋण प्रवाह गर्नु कानुनविपरीत हो ।
सहकारी ऐन, २०७४ तथा मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरमा सहकारी ठगीमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिमाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
पक्राउ परेका सहकारी कोषाध्यक्ष कुमार रम्तेललाई २१ असोजमा न्यायाधीश कृष्णप्रसाद बास्तोलाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । दुई दिनअघि मात्र पक्राउ परेका सहकारी उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई कास्की प्रहरीको जिम्मा लगाइएको छ । रम्तेल र दर्लामीबाहेक १७ जना प्रतिवादी अझै फरार सूचीमा छन् ।
सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जीबी राईसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे)विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्न लागेको छ । त्यसका लागि गत ५ पुसमा कास्की प्रहरीले चारै जनाविरुद्ध इन्टरपोलमार्फत खोजी गर्नेगरी डिफ्युजन नोटिसका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो ।
रवि लामिछानेको नाममा गएको १ करोड कर्जा ‘एड्भान्स क्लियर’ भन्ने देखिए पनि यसरी अन्य सहकारीले ऐनविपरीत पेस्की लिएको हुनसक्ने तथ्यलाई गम्भीरताका साथ उठाइएको छ ।
– भरतराज पौडेल, शाखा प्रमुख पोखरा महानगर सहकारी शाखा
यसबाहेक सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठको पनि खोजी भइरहेको छ ।
कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी गरी जाहेरी संकलन गरेको थियो । सोबमोजिम २४ भदौमा जीबी राईसहित सात जनालाई पक्राउ पुर्जी जारी गरिएको दोस्रो दिनमै रम्तेल पक्राउ परेका थिए । ठगी प्रकरणमा आवश्यक छानबिन गर्न पोखरा महानगर सहकारी शाखाले गठन गरेको विज्ञको प्रतिवेदनबमोजिम थप १२ गरी सहकारीका पूर्वसञ्चालक, हालका सञ्चालक, कर्मचारीलगायत गरी कुल १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सूर्यदर्शनमा समस्या देखिएपछि अध्ययनका लागि पोखरा महानगर सहकारी शाखाले गत १० भदौमा चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने र दीपकप्रसाद आचार्य सम्मिलित विज्ञ टोली गठन गरेको थियो । टोलीले तयार पारेको ४ सय ४० पृष्ठ लामो प्रतिवेदनअनुसार सहकारीका सानाठूला गरी १८ हजार ७ सय बचतकर्ता छन् । विज्ञको प्रतिवेदन एवं अभियोगपत्रानुसार सहकारीले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर थुप्रै बचतकर्ताको लाखौं रुपैयाँ अपचलन गरेको भेटिएको छ । सबैभन्दा कम ७ सयदेखि ७ करोड ९२ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ता छन् ।
आफूहरू ठगिएको थाहा पाएपछि बचतकर्ताहरूले गत फागुनमा संघर्ष समिति नै गठन गरी निरन्तर आन्दोलन चर्काइरहेका छन् । सूर्यदर्शन सहकारी संघर्ष समिति अध्यक्ष हुन्, किरण श्रेष्ठ । पीडितले कहिले प्रशासन त कहिले अदालतमा धर्ना दिने गरेका छन् । विभिन्न सरकारी निकाय एवं प्रमुख राजनीतिक दललाई ज्ञापनपत्र बुझाइसकेका छन् । संघर्ष समिति संयोजक श्रेष्ठले तत्काल आरोपितलाई पक्राउ गर्नुपर्ने र आफूहरूको बचत फिर्ताको माग प्रमुख भएको बताउँछन् ।
मुद्दा कमजोर बनाउने प्रयास भइरहेको आशंकामा आफूहरूले दिनहुँ धर्ना दिने गरेको श्रेष्ठले बताए । २०७९ साउनदेखि सहकारीले सानो–सानो बचतकर्ताको पनि रकम फिर्ता दिन नसकेको उनले बताए । त्यसबेला अलिअलि गाईंगुईं हल्ला चल्न थाल्यो । भदौदेखि त सञ्चालक नै सम्पर्कविहीन भएपछि बचतकर्ताहरू बिचल्लीमा परेका हुन् । सञ्चालकहरू पहिलेदेखि नै पोखरा नबस्ने, ठगी गर्ने नियतले काठमाडौं केन्द्रित हुँदा आज यो समस्या आएको उनको भनाइ छ ।
पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारी सूर्यदर्शन सहकारीमा समस्या आउनुमा विभिन्न कारण देख्छन् । उनले सहकारीका सञ्चालकले व्यक्तिगत फाइदाका लागि रकम लिने, आफन्तलाई लाभ दिने, कर्मचारीले पनि त्यहीनुसार रकम दुरुपयोग गरेका कारण करिब १९ हजार बचतकर्ताको बिचल्ली भएको बताउँछन् ।
यस सहकारीले कहिले, कहाँ साधारणसभा ग¥यो ? भन्ने केही थाहा नहुने, आर्थिक हिसाबकिताब पारदर्शी नहुने तथा धेरै फाइल घुमाउने गरेको तिवारीले बताए । सहकारी सञ्चालकले मिलेर छुट्टाछुट्टै नाममा मुलुकभरि सहकारीका शाखा सञ्चालन गरेको देखिएको छ ।
जस्तो, एउटा सहकारीमा अध्यक्ष भएको व्यक्ति अर्कोमा उपाध्यक्ष, एउटामा उपाध्यक्ष भएको अर्कोमा सचिवलगायत गरी एउटै व्यक्ति विभिन्न नामका सहकारीको सञ्चालक समितिमा बसेर रकम ठगी गर्ने नियत राखेको प्रतिवेदनमा पाइएको बताए ।
यता, पोखरा महानगरपालिका सहकारी शाखा प्रमुख भरतराज पौडेलले रवि लामिछानेको नाममा गएको १ करोड कर्जा ‘एड्भान्स क्लियर’ भन्ने देखिए पनि यसरी अन्य सहकारीले ऐनविपरीत पेस्की लिएको हुनसक्ने तथ्यलाई गम्भीरताका साथ उठाएको बताउँछन् । उनी भन्छन्, ‘यो पनि एउटा जोखिमको क्षेत्र हो भने देखाएको हो, यो अनुसन्धान पूर्ण छैन, यद्यपि तत्तत् क्षेत्रमा जोखिमको सम्भावना छन् भन्ने कुरा उल्लेख गरिएको हो, अबका दिनमा सबै सचेत हुनुपर्ने देखिन्छ ।’ उनका अनुसार बजारमा सरसर्ती हेर्दा कुनै सहकारीले ऋण नलिएकै सेयर सदस्यलाई ऋण खडा गरिदिएको पाइन्छ । साँच्चै लिएका तथा ठूलो रकम ऋण लिएकालाई पनि घटाएर राखेको देखिन्छ । ‘सहकारी अब समस्यामा पर्ने भयो’ भनेपछि बचत खाताको रकम घटबढ गरिएको पनि छ । यो विषय अनुसन्धान गरेपछि तथ्यमा पुग्न सकिएला ।
कास्कीमा हाल पाँच सहकारीको आर्थिक हिनामिना भएका आधारमा उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये उजुरी आधारमा हालसम्म करिब २ अर्ब ८५ करोड रुपैयाँ हिनामिना भएको प्रवक्ता डीएसपी श्रवणकुमार बिकले बताए । पाँचमध्ये सबैभन्दा बढी सूर्यदर्शनबाट ठगी रकम बढी हो । साथै, शिवशिखर बहुउद्देश्यीय सहकारी, छवि बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी र मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम पनि अपचलन भएको पाइएको छ ।






