जहाँ धमाधम भइरहेको छ विकासको काम

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि गरिएको लकडाउनमा सडक विभागले सवारीसाधन र मानिसको भीड कम भएको मौका छोपेर आफ्नो कामलाई निरन्तरता दिएको छ । सडक विभाग डिभिजन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न सडकमा सडकको मार्किङ गर्ने काम धमाधम गरिरहेको हो ।

डिभिजन प्रमुख कुवेर नेपालीले अहिले काठमाडौंका विभिन्न ठाउँमा जेब्राक्रसिङ बनाउने, स्टेट लाइन छुट्याउने र सडकका दुवैपट्टि पहेँलो चिह्न लगाउने काम भइरहेको बताए । उनले उपत्यकामा दर्जनौं जेब्रा क्रेसिङ निर्माण भइसकेको जानकारी दिए । उनका अनुसार ४–५ किलोमिटर सडकमा स्टेट लाइन र पहेंलो पेन्टिङको काम सम्पन्न भएको छ । यसअघि एक समूहमा काम हुँदै आएकामा आइतबारदेखि दुई समूहमा विभाजन गरेर काम सुरु गरिएको छ ।

लकडाउनमा दर्जनौं ठाउँमा जेब्राक्रसिङ र रोड मार्किङ | केही सडकखण्डको मर्मत तथा विस्तारको काम थालिने

हिजो आइतबारसम्म काठमाडौं डिभिजनले महाराजगन्ज–बालुवाटार, धुम्बाराही–हाँडीगाउँ, थापाथली–माइतीघर, माइतीघर–पुतलीसडक खण्डको मार्किङको काम सकेको छ । आइतबार तीनकुनेदेखि विमानस्थल र बबरमहल क्षेत्रको सडकको मार्किङको काम थालिएको छ । सडकमा मजदुरले रङ पकाउने, डोरी तान्ने र यन्त्रबाटै सडक मार्किङ गरिरहेका छन् ।

साइटको काम थाल्ने तयारी
लकडाउनमा सवारीसाधन र मानिसको भीड कम भएको मौकामा सडक विभागले अन्य समयमा व्यस्त हुने केही सडकखण्डको काम अगाडि बढाउने तयारी गरेको छ । कोरोना भाइरसका कारण सीमित जनशक्ति प्रयोग गरेर काठमाडौं डिभिजनले उपत्यकाका विभिन्न ठाउँमा सडक मार्किङको काम गर्दै आएकामा अब अति व्यस्त हुने केही सडकको मर्मत तथा विस्तारको काम थाल्ने तयारी गरेको हो ।

डिभिजन प्रमुख कुवेर नेपालीले १–२ स्थानमा यही मौकामा सडक मर्मत तथा विस्तारको काम गर्ने तयारी गरिएको बताएका छन् । ‘अहिले गरिएको कामको प्रतिक्रिया राम्रो पाएका छौं, अब सवारी कम भएको अवस्था र भीडभाड पनि नभएको अवस्थामा चावहिल गौशालाको काम गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं,’ उनले राजधानीसँग भने ।

डिभिजन प्रमुख नेपालीले सरकारले लकडाउनमा केही खुकुलो अपनाउने नीति लिएकाले यस्तो गर्ने तयारी गरे पनि सरकारले कडाइ गरेमा पुनः पुनर्विचार गरिने जनाए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शनिबार अपराह्न मार्किङ गरिरहेको सडक क्षेत्रको स्थलगत अनुगमनसमेत गरेका छन् । उनले सो क्रममा कर्मचारीलाई उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिए । ‘आवश्यक सुरक्षाका उपाय अपनाएर सडक मार्किङलाई तीव्रता दिनुपर्छ, मन्त्रालयले के सहयोग गर्नुपर्ने हो, हामी सहयोग गर्छौं,’ उनले भने ।

उनले खानेपानीको पाइपलाइन विस्तारलगायत विभिन्न कारणले क्षति पुगेको गौशाला–चावहिल सडक व्यवस्थापनमा लाग्नसमेत डिभिजन प्रमुख नेपालीलाई निर्देशन दिएका थिए । नेपालीका अनुसार उक्त सडक व्यवस्थापनको आवश्यक प्रक्रिया सुरु भइरहेको छ । खानेपानीको काम सकिएकाले अब सडकको कामलाई निरन्तरता दिने योजना अघि सारिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती