काठमाडौं । सरकारले आज १० माघदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजात’bout स्पष्ट पारेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणका लागि यसअघि जारी भएको निर्णय खारेज गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो ।
विभागले मंगलबार वेबसाइटमार्फत ट्राभल एड्भाइजरी जारी गर्दै यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ । सम्बन्धित मुलुकको प्रवेशाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ ।
यस्तै, दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने जनाएको छ ।
विभागका अनुसार भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलरबराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट र क्रेडिट कार्ड) पनि हुनुपर्नेछ ।
यस्तै, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषणा गर्नुपर्ने र स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने नयाँ व्यवस्था गरेको जनाएको छ । भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपालीलाई समयमै फर्किन स्वघोषणा गर्न भनिएको छ ।
‘भिजिट भिसामा गएका नेपालीहरू उल्लिखित मितिमा फर्कने गरेका नपाइएकाले असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वघोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ ।’
बिचौलियाहरूले महिलाहरूलाई भिजिट वा पर्यटक भिसामा पु¥याई वर्किङ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने गरेको भन्दै विभागले सचेत रहन आग्रह गरेको छ ।
विदेश जानुअघि सो मुलुकको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न पनि विभागले अनुरोध गरेको छ । भिजिट भिसामा नक्कली कागजात, झुठा विवरणसमेत तयार पारी द्वन्द्वग्रस्त मुलुकसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन अनुरोध गरेको छ ।
साथै, अध्यागमन विभागले भारत र बेलायती सेनामा बाहेक अरू मुलुकको सेना वा सशस्त्र समूहमा भर्ना हुने काम गैरकानुनी र राष्ट्र हितविपरीत भएको सचेत गराएको छ । पछिल्लो समय रुस युक्रेनलगायतका मुलुकको सेनामा धेरै नेपाली भर्ना भएकाले यस्तो सूचना जारी गरिएको हो । त्यहाँ सेनामा भर्ना भएका नेपालीका लागि उद्धारमा कठिनाइ भएको छ ।






