पुस्तान्तरणको बाधक जनता कि नेता ?

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा अबको नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा पलाउँथ्यो । निजी स्वार्थभन्दा माथि उठेर समयानुकूल सरकारले परिवर्तन ल्याउँछ भन्ने सबैको विश्वास हुन्थ्यो । सरकारले पनि मुलुक र जनताको हितलाई सर्वोपरि ठान्थ्यो । तर उही सत्ता, उही प्रक्रिया, उस्तै नेतृत्व हेरफेर हुने भए पनि अहिले सत्ता परिवर्तन जनचासोको विषय बन्दैन । यसको कारण आशालाग्दा नयाँ अनुहारले सत्ताको नेतृत्व सम्हाल्ने मौकै पाउँदैनन् । उनै दुर्गन्धित स्वार्थी व्यक्तिहरू नै बराबर सरकारमा पुगेको परिदृश्य अहिले जनताको उत्साह होइन नैराश्यताको कारण बन्छ । पहिले फलानो बहादुर प्रधानमन्त्री भयो भन्ने सुन्दा जनताका कान ठाडा हुन्थे, तर अहिले फलानो बहादुर प्रधानमन्त्री हुँदै छ भन्ने सुन्दा जनताका कान खस्कन्छन् । बहादुर त दुवै नामका बहादुर हुन्, काँतर होइनन् तथापि उनीहरूको कार्यशैली भने नीतिगत रूपमा बहादुर हुँदैन ।

पछिल्लो समयको सत्ता फेरबदल ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने लोकोक्तिजस्तै बन्ने गरेको छ । अहिलेको सत्ताको फेरबदल सर्वसाधारणका लागि होइन, दलीय गुट उपगुटका लागि भने उत्साह र चासोको विषय बन्छ । विरोधी गुटलाई पछि पारेर आफ्नो गुट सत्तामा पुगे गुटगत फाइदाबाट लाभान्वित बन्न पाइने लालसाले नेता कार्यकर्ताका कान ठाडा हुन्छन् । यो राजनीतिक स्वार्थको पराकाष्ठा हो । हाम्रो मुलुकको राजनीति अहिले यही अवस्थामा पुगेको छ । लोकतन्त्रसँगसँगै भित्रिएको दूषित राजनीतिक वातावरणभित्र दलीय सिद्धान्तको भन्दा व्यक्तिगत स्वार्थले बढावा पाउँदै आयो । गुटगत राजनीतिलाई सुसंगठित बनाउन जस्तोसुकै हतकण्डा प्रयोग गर्न पनि नेताहरू पछि परेनन् । सत्तामा पुग्ने र टिकिरहने उद्देश्यले जनप्रतिनिधिहरूकै खरिद बिक्री हुनथाल्यो । सत्ता जोगाउन शीर्षस्थ नेताले नै यस प्रवृत्तिलाई प्रोत्साहित गराउँदै ल्याए । यस्तै दूषित राजनीतिक पृष्ठभूमिभित्र भ्रष्टाचारले मौलाउने अवसर पायो ।

लोकतन्त्रका नाममा गुटतन्त्र हावी हुँदै आएपछि व्यक्ति नै सर्वेसर्वा बन्नु स्वाभाविक हो । यही क्रममा राज्यका ऐन कानुनभन्दा नेताकै आदेश ठूलो ठानियो । विधिले भन्दा व्यक्तिको स्वेच्छाचारितामा राज्य सञ्चालित हुनथाल्यो । जनप्रतिनिधिमूलक सर्वोच्च संस्था संसद् र सिंगो पार्टीपंक्ति नै व्यक्तिको पछि लाग्ने अवस्था आएपछि जनताको भन्दा नेताको स्वार्थ महत्वपूर्ण बन्दै आयो । सरकारलाई लगाम लगाउने संसदै निरीह बनेपछि सरकार प्रमुख लगाम बेगर स्वतन्त्र विचरण गर्नु स्वाभाविक हो । दललाई भन्दा गुट उपगुटलाई ठूलो ठान्ने, गुट उपगुटभन्दा त्यसको नेतृत्वलाई सर्वेसर्वा मान्ने तथा दलीय शीर्षस्थ नेताले आफैंलाई राज्य ठान्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुक र जनताको हित हुँदैन । सबै दलका अहिलेका अधिकांश शीर्षस्थ नेताहरू यही मानसिकताका छन् ।

स्वेच्छाचारी र अवसरवादी नेताहरू नै बराबर पालोफेरोमा सत्तामा पुगिरहने तथा मुलुकले निकास नपाउने हो भने निकट भविष्यमा मुलुकमा अर्को राजनीतिक संकट आउनसक्छ । यसको संकेत हालै दुर्गा प्रसाईंको नेतृत्वमा सञ्चालित गतिविधिले दिइसकेको छ । यसर्थ, मुलुक र जनताको हित चाहने हो भने मुलुकमा अब राजनीतिक पुस्तान्तरण अनिवार्य छ । सरकारको नेतृत्व दोस्रो पुस्ताका दक्ष र इमानदार युवा नेताले सम्हाले राजनीतिक पुस्तान्तर भएको मानिन्छ । नेतृत्व तहमा पुगे राज्यलाई गतिशीलता प्रदान गराउने क्षमता भएका योग्य युवा नेताहरू अहिले प्रायः गरी सबै पार्टीमा छन् । यस्ता प्रतिभाशाली युवालाई स्वार्थको राजनीति गर्न खप्पिस अग्रज नेताले छायामा राख्दै आएका छन् । युवा नेताको जोश, जाँगर, परिपक्व र स्वच्छ विचार तथा इमानदार र उदार कार्यशैली राष्ट्रहितको कार्यमा समर्पित गराउने बेला यही हो । स्वेच्छाचारी, भ्रष्ट, असक्षम, बराबर कलंकित बन्दै आएका तथा राजनीतिबाटै अवकाश दिलाउनुपर्ने कतिपय शीर्षस्थ भनिने सबै दलका अगुवा नेतालाई अब जनताले पुनः सत्तामा पु-याएर आफ्नै खुट्टामा बन्चरो प्रहार गरेसरह हुनेछ ।

सत्तामा पुग्ने, टिकिरहने र दलीय एवं व्यक्तिगत स्वार्थमा मरिमेट्ने राजनीति स्वच्छ राजनीति होइन

अझै पनि अस्ताउँदा नेताकै हातमा राज्य सुम्पिने हो भने मुलुककै भविष्य अन्धकार हुन्छ । उदाउँदा युवा नेताको हातमा सत्ता सुम्पिए मुलुक चहकिलो बन्छ । बराबर सत्ताको स्वाद चाखेका अवकाशोन्मुख नेताका लागि राजनीतिक पुस्तान्तरको कुरा सैह्य नहुनसक्छ । किनकि, पार्टीमा देखिएको युवा शक्तिको उदय ज्येष्ठ पुस्ताका लागि घातक हुनु स्वाभाविक हो । हुन त कतिपय युवा नेतामा अग्रज पुस्ताकै अस्वस्थ्य राजनीतिक प्रभावको छाप परेको नहोला भन्न सकिन्न । तथापि, परीक्षणकै रूपमा प्रस्तुत हुने उनीहरूको कार्यशैली मुलुक र जनताका निम्ति लाभदायक बन्नसक्छ । किनकि, उनीहरूको राजनीतिक जीवन लामो छ र लोकप्रियता आर्जनका निम्ति सत्ता सञ्चालन उनीहरूको परीक्षणको कसी नै बन्नसक्छ । अस्ताउँदो सूर्यलाई भन्दा उदाउँदो सूर्यलाई नै सबैले पूजा गर्ने भएकाले युवा नेतृत्वप्रति सर्वसाधारणको विश्वास हुन्छ । विगतकै दृष्टान्त हेर्ने हो भने पञ्चायतकालमै केही युवा नेताले मन्त्रिमण्डलको नेतृत्व गरेका थिए । उनीहरूको कार्यसम्पादन पनि प्रभावकारी हुन्थ्यो ।

नेपाली जनतामा राजनीतिक चेतना आइसकेको भए पनि त्यो निष्प्रभावित रूपमै व्यवहारमा अझै निर्णायक रूपमा प्रस्तुत हुन पाएको छैन । किनकि, समस्याको भूमरीमा रहेका अधिकांश जनताका लागि राजनीतिभन्दा व्यक्तिगत समस्या महत्वपूर्ण ठानिने भएकाले उनीहरू नेताको स्वार्थप्रेरित लालचबाट उत्तिखेरै प्रभावित बन्न बाध्य हुन्छन् । विपन्न जनताको दयनीय अवस्थाको फाइदा नेताहरूले लिइरहेका छन् । क्षणिक स्वार्थ र प्रलोभनभन्दा मुलुकको दीर्घकालीन हित सर्वोपरी हो भन्ने मानसिकता सबैमा जागृत भए पनि व्यवहारमा पूर्ण रूपले रूपान्तरित भइसकेको छैन । जनताको जीवनस्तरमा सुधार र मुलुक विकासमा समर्पित रहने राजनीतिक प्रतिस्पर्धालाई अहिले स्वार्थको राजनीतिले विस्थापित गरिसकेको छ । पदलोलुप उही परम्परागत प्रवृत्तिकै नेताहरू बराबर अगाडि आइरहने कारण पनि यही हो । सत्तामा पुग्ने, टिकिरहने र दलीय एवं व्यक्तिगत स्वार्थमा मरिमेट्ने राजनीति स्वच्छ राजनीति होइन । यस्तो दूषित राजनीति गर्दै आएका व्यक्तिका निम्ति क्षमतावान्, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिका जानकार तथा विषयवस्तु’boutमा तार्किक ढंगले बहस र मूल्यांकन गर्नसक्ने सक्षम व्यक्ति घातक ठानिन्छन् । यस्तो सक्षम व्यक्तिभन्दा, नेताको नजरमा आफूप्रति अन्धोभक्ति देखाउने सामान्य लेखापढकै पिछलग्गु व्यक्ति बढी सहयोगी बन्ने भएकाले शीर्षस्थ नेताहरूले यस्तै ‘एस मेन’लाई संसद्मा पु¥याउँदै आएका छन् । संसद् निरीह बन्ने प्रमुख कारण पनि यही हो ।

वास्तवमा संघीय संसद्मा पुग्ने व्यक्ति मुलुकको राष्ट्राध्यक्ष र कार्यकारी प्रमुखकै उम्मेदवार बन्ने हैसियतको मानिन्छ । यो हाम्रो संवैधानिक विशेषता नै हो । संघीय संसद्को सांसद पदमा निर्वाचित जोसुकै पनि राष्ट्रपति र प्रधानमन्त्रीको पदमा पुग्नसक्छ भन्ने कुरा जनताले बुझेको भए पनि त्यस्तै व्यक्ति छनोट गर्ने क्रममा उसको योग्यता, राजनीतिक हैसियत र कार्यदक्षता, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीति’boutको ज्ञान, इमानदारिता तथा जनउत्तदरायी कार्यशैली कस्तो छ ? भन्ने ’boutमा जनता अझै संवेदनशील देखिँदैनन् । पार्टीले उम्मेदवार बनाएको व्यक्ति योग्य होस् वा नहोस्, जनतालाई मतलब हुँदैन । तर, त्यस्तै व्यक्तिलाई पार्टी प्रतिनिधिका रूपमा विजयी बनाउनु आफ्नो कर्तव्य भएको ठान्ने अदूरदर्शी जनदृष्टिकोणबाट शीर्षस्थ नेताले फाइदा लिइरहेका छन् । यसले गर्दा अधिकांश त नेताकै पिछलग्गुहरू नै संसद्मा पुग्ने गरेका छन् । यस्तै, सांसदहरू अनिर्णयको बन्दी बन्न पुग्दा एका दुई शीर्षस्थ नेताले नै पार्टीदेखि सरकारसम्म हालीमुहाली गर्दै आएका छन् ।

उदीयमान नेता स्थापित भए अस्ताउँदा नेता विस्थापित हुने संन्त्रासले दलीय शीर्षनेता नै पुस्तान्तरणको बाधक बनेका छन्

पछिल्लो समयमा मुलुकमा राजनीतिक परिवर्तन आयो, तर नेताहरूकै कार्यशैलीमा परिवर्तन आएन । राजनीतिक सिद्धान्तलाई वैचारिक बहस र चर्चाको विषय बनाउनुपर्नेमा नेताहरूबीचको व्यक्तिगत स्वार्थलाई बहस र चर्चाको विषय बनाइयो । गरिमामय जनप्रतिनिधिमूलक संघीय संसद्लाई, प्रतिभाशाली बौद्धिक व्यक्तित्वहरूकै अखडा बनाउनुपर्नेमा नेताकै पिछलग्गु दस्तामा रूपान्तरित गरियो । मुलुक र जनताको हितले भन्दा संसद्मा नेताको स्वार्थले महत्व पायो । कुसंस्कार र कुप्रवृत्ति अन्त्यका निम्ति संसद्मा पारस्परिक विचार र दृष्टिकोण मन्थन हुनुपर्नेमा व्यक्तिवादी दृष्टिकोण मन्थन हुँदै आयो । यस्तै, परम्परागत विकृतिको अन्त्य गरी मुलुकको राजनीति स्वच्छ र पारदर्शी बनाउन राजनीतिक पुस्तान्तर अत्यावश्यक छ । सात दशक पार गर्दा पनि अझै आफूलाई युवा ठान्ने संकुचित मानसिकताका अनुदारवादी निष्क्रिय नेतालाई नपन्छाएसम्म अब मुलुकको विकास हुनसक्दैन ।

मुलुकले अहिले स्वेच्छाचारिताको होइन सिद्धान्तको राजनीति गर्ने व्यक्ति खोजिरहेको छ । परम्परागत प्रवृत्तिलाई निरन्तरता दिने होइन, विकास र प्रगति गर्ने युवा नेता चाहेको छ । कस्तो व्यक्तिलाई राज्य सञ्चालनको दायित्व सुम्पने ? अब नेपालीले नै सोच्नुपर्छ । जनतालाई धोका दिने होइन, काम गरेर देखाउने नेतृत्व मुलुकले खोजेको छ । यसक्रममा मुलुक र जनताकै हितलाई सर्वोपरी ठान्ने, पदीय दायित्व कुशलतापूर्वक सम्पादन गर्नसक्ने, व्यवहार र कार्यशैली स्वच्छ र पारदर्शी भएको, निष्कलंक र उदार मानसिकताको, निस्वार्थ इमानदार तथा दृढ नेतृत्व वहन गर्ने खुबी भएको जनप्रिय युवा नेतालाई सत्तामा पु¥याइए मुलुकमा परिवर्तन आउनसक्छ । यसप्रति सबैको ध्यान पुग्न जरुरी छ ।

पुस्तान्तरणको बाधक को हो ?
नयाँ सोच र सुधारवादी दक्ष नेतृत्व सत्तामा नपुगेसम्म जनताको सर्वपक्षीय हित र मुलुकको विकास हुनसक्दैन । यसका निम्ति पुस्तान्तरण अपरिहार्य छ । यो सर्वसाधारण सबैले महसुस गरेको भए पनि व्यवहारमा लागू हुन सकेको छैन । पुस्तान्तरण गर्ने–गराउने प्रत्यक्ष दायित्व जनतामा निहित भए पनि पुस्तान्तरण स्थापित गराउने कार्यमा महत्वपूर्ण भूमिका राजनीतिक व्यक्तिकै हुन्छ । तर, राष्ट्रिय राजनीतिमा प्रभवशाली देखिँदैन आएका दलीय शीर्षस्थ नेताकै कारण पुस्तान्तरण व्यवहारमा स्थापित हुन सकेको छैन । शीर्षस्थ नेताहरू नै पुस्तान्तरण गरेर आफ्नो खुट्टामा आफैंले बन्चरो हान्न चाहँदैनन् ।

विगतको पछिल्लो आमनिर्वाचन र स्थानीय निर्वाचन परिणामले युवा पुस्तामा नेतृत्व सुम्पनुपर्ने संकेत गरिसकेको छ । तर, उदीयमान नेतालाई राजनीतिमा स्थापित गरिए अस्ताउँदा नेता विस्थापित हुनुपर्ने अवस्था आउने सन्त्रासले पनि राष्ट्रिय राजनीतिमा हालीमुहाली गर्दै आएका दलीय शीर्षस्थ नेता नै विपक्षमा उभिँदै आएका छन् । यस्तै मानसिताका नेता मात्र होइन, उनीहरूबाटै राज्य सुध्रन्छ भन्ने आकांक्षाले राष्ट्रिय राजनीतिमा मौका दिइरहने यथास्थितिवादी मतदाता पनि पुस्तान्तरणका बाधक हुन् । यसर्थ, सबै जनताको मानसिकता परिवर्तनकारी नभएसम्म मुलुकको हित र जनताको उत्थान गर्ने दक्ष, योग्य र इमानदार युवा नेता नेतृत्वमा पुग्नसक्दैन । यसतर्फ आमनेपालीले नै ध्यान पु-याउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

थलाराको शिक्षामा डिजिटल क्रान्ति