हिमालयन इन्टरप्राइजेजले कानुनी तवरबाट प्राप्त गरेको जग्गामाथि बखेडा

काठमाडौं । हिमालयन इन्टरप्राइजेज प्रालिले कानुनबमोजिम प्राप्त गरेको जग्गालाई बिनाआधार र प्रमाण अनर्गल भ्रम फैलाई सामूहिक रूपमा जग्गामाथि अनधिकृत हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन अनुरोध गरेको छ ।

२०३८ सालदेखि विभिन्न तहगत न्यायिक निकायबाट कानुनी उपचारका माध्यमबाट आफ्नो नाममा हक कायम भएको ललितपुरको पुल्चोकस्थित कित्ता नं. ४३ को ४–४–१–० रोपनी जग्गामाथि केही दिनदेखि केही समूहले अनधिकृत रूपमा हक कायम गर्ने प्रयास गरेपछि कम्पनीले सो अनुरोध गरेको हो ।

सञ्चालकहरूको व्यक्तिगत मान तथा प्रतिष्ठामा आँच आउनेगरी भ्रमपूर्ण समाचारहरू सम्प्रेषण भएका भन्दै कम्पनीले आपत्तिसमेत जनाएको छ । हिमालयन इन्टरप्राइजेजले १० जेठ २०५१ मा कम्पनी खरिदसँगै कम्पनीको सम्पत्तिका रूपमा आएको सो कि.नं. ४३ को जग्गा छुट दर्ता सम्बन्धमा सर्वोच्च अदालतबाट ३२ जेठ २०५७ मा भएको फैसला एवं (संवत् २०५९ को रिट नं. २७९९) ०१ कात्तिक २०६२ मा भएको परमादेशको आदेशमा मालपोत कार्यालयबाट कानुनबमोजिम गर्नु भनी भएको फैसलाअनुरूप कारबाही हुँदा १२ साउन २०६६ मा वडा नं. ३ को कार्यालयबाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल ञवाः खललगायतका सम्पूर्ण गुठी तथा सम्बन्धित पक्षहरूले कम्पनीको जग्गा भनी सर्जमिन गरेपश्चात् सो जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भएको जनाएको छ । सोअनुरूप २९ पुस २०६७ मा हिमालयन इन्टरप्राइजेजका नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जासमेत जारी भई आएको पनि कम्पनीले उल्लेख गरेको छ ।

सो जग्गा सम्बन्धमा विभिन्न व्यक्तिले हकदाबी गरी मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरे तापनि सो जग्गा कम्पनीको कायम हुने भनी सर्वोच्च अदालतबाट २३ फागुन २०७९ मा अन्तिम फैसला भएको थियो ।

कम्पनीले आफूले कानुनबमोजिम प्राप्त गरेको जग्गालाई बिनाआधार र प्रमाण भ्रम फैलाई सामूहिक रूपमा जग्गामाथि अनधिकृत रूपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन तथा सत्यतथ्य नबुझी समाचार सम्प्रेषण नगरिदिनसमेत अपिल गरेको छ ।

हिमालयन इन्टरप्राइजेजले धर्म, संस्कृति, सम्पदाको संरक्षणमा समेत आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पार्दै सम्पदा संरक्षणका नाममा कानुनी मान्यता पाइसकेका संरचनामाथि कुनै प्रकारको प्रश्न र विवाद सिर्जना नगर्नसमेत आग्रह गरेको छ ।

जिल्ला, पुनरावेदन अदालत पाटन हुँदै सर्वोच्च अदालतमा जग्गाको स्वामित्व दाबी गर्दै चलेका तीनवटा छुट्टाछुट्टै मुद्दामा सर्वोच्चले सो जग्गा हिमालयन इन्टरप्राइजेजकै नाममा हुने ठहर गरेको थियो ।

कानुनी रूपमै सो जग्गा हिमालयन इन्टरप्राइजेजका नाममा किटानी भइसकेको अवस्थामा संस्कृति सम्पदाको संवेदनशीलतालाई जोडेर स्वामित्वमाथि विवाद खडा गर्न खोजिनु मनासिव नहुने हिमालयन इन्टरप्राइजेजको भनाइ रहेको छ ।

सो जग्गा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित ञवाः गुठीको जग्गा रहेको जिकिर गर्दै केही समूहले इन्टरप्राइजेजले जग्गा हडप्न खोजेको भन्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् ।

सो जग्गामा रहेका विभिन्न स्थानीय गुठीका कूलदेवतालाई पूजा आजा र नियमित पर्व सञ्चालन गर्न आजसम्म हिमालयन इन्टरप्राइजेजले कहिल्यै अवरोध नपु¥याएको कम्पनीले उल्लेख गरेको छ । यस्तो अवस्थामा अहिलेसम्म कुनै विवाद नभएकामा हाल आएर केही पक्षले अकस्मात विवाद सिर्जना गर्न खोज्नुले आफूहरूलाई दुखित र आश्चर्यचकित बनाएको सञ्चालकहरूको गुनासो रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ