उदयपुर । उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय लुकेर बसेको पाइएको छ । उनीहरूले लकडाउन अघि नै आएको दाबी गरे पनि स्थानीयबासीले भने लक डाउनपछि चोर बाटोबाट आएको हुन सक्ने बताउँछन् ।
मस्जिदमा उनीहरूसँगै चार नेपाली समेत छन् । दुई दिन अघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि यहाँ पनि अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए । १२ भारतीयको परिचय पत्र रहेको र अन्य ४ जना नेपाली रहेको पाइएको छ । उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानीयले घुलमिल गरि रहेको दाबी गरेका छन् ।
स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएका थिए । ती सोह्रै जनाको स्वाब परीक्षण गर्न टोली परिचालन गरिएको प्रजिअ पहाडीले बताए । प्रशासनका अनुसार १२ भारतीयले बिराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएको बताएका छन् । उनीहरू सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३–५ गते भएको नेपाल इज्तिमा सहभागी हुन आएको अनुमान गरिएको छ ।
स्वाब संकलनसँगै उनीहरूको ‘ट्राभल हिस्ट्री’ पनि खोजिने प्रजिअ पहाडीले बताए । उनका अनुसार १६ जनालाई मस्जिदमै सुरक्षा निकायको निगरानीमा राखिएको छ । गाईघाट, देउरी र जलजलेमा रहेका मस्जिदमा पनि अनुगमन गरिएको छ ।






