पोखरा । रेष्टुरेन्टमा कार्यरत् एक युवतीलाई होटलमा लगेर हत्या गरेको अभियोगमा फरार प्रतिवादी ८ महिनापछि पक्राउ परेका छन् ।
२०८० फागुन ५ गते पोखरा ८, नागढुंगास्थित युनिक होटलमा तनहुँ भीमादकी ३२ वर्षीया सुकु बिक अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा निज युवतीले घाँटीको सुनको सिक्री र आइफोनसमेत नभएको तथा घटनास्थल तथा लासजाँच मुचुल्का र पोस्टमार्टम रिपोर्ट आधारमा कर्तव्य गरी मारेको यकिन भएको थियो । उक्त हत्याकाण्डमा संलग्नको खोजी गर्ने क्रममा ८ महिनापछि बागलुङ गलकोटका २९ वर्षीय सञ्जय बिक पक्राउ परेका हुन् । गलकोट नगरपालिका ९, मल्म घर भई हाल पोखरा ७, घारीपाटन बस्दै आएका उनी हत्याकाण्डपछि नवलपुरको गैंडाकोटमा डेरा लिएर लुकिछिपी बस्दै आएका थिए ।
सुकुलाई विवाह गरौं भन्दा नमानेपछि हत्या गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन् । तर प्रहरीले भने सुनको सिक्री र आईफोन प्रलोभनमा उनले हत्या गरेको हुनसक्ने प्रहरी अनुमान रहेको पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले बताए ।
उनलाई साउन २ गते इलाका प्रहरी कार्यालय गैँडाकोटको सहयोगमा उनकै डेराबाट पक्राउ गरी कास्की ल्याइएको छ । नवलपुरमा डेरा कोठा बस्नुअघि केही समय ती युवक भारतमा समेत लुकेर बसेको तथा केही समय पोखरा आई फेरि भारत गएर नवलपुर फर्किएको खुल्न आएको छ ।
सिरानीको सहयोगमा युवतीको घाँटी थिची हत्या गरेको खुल्न आएको छ । उनले घाँटीको सिक्री तथा आईफोनसमेत चोरेर भागेका थिए । त्यही आइफोन सहयोगमा प्रहरी अभियुक्तसमक्ष पुग्न सफल भएको हो ।
प्रहरीले आइएमइआई आधारमा सुकुको मोबाइल खोज्न थाल्यो । खोजी गर्ने क्रममा महोत्तरीको बर्दिबास ७ का २६ वर्षीय राजेश बुढाथोकीले सो मोबाइल चलाएको पत्ता लागेपछि घटनाको १० दिनपछि १५ मंसिरमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुकुको मोबाइल बरामद गर्न सफल भयो । खानतलासी लिँदा उक्त मोबाइल उनै सञ्जयले ४० हजार ५ सय रुपैयामा आफूलाई बिक्री गरेको प्रहरी अनुसन्धानले जनाएको छ ।
शव परीक्षण प्रतिवेदन आधारमा घाँटी चिथी हत्या यकिनसँगै कर्तव्य गरी ज्यान लिने उनै सञ्जय भएको पुष्टि भएपछि सुकुकी दिदीले किटानी जाहेरी दिइन् । कास्की प्रहरीले हत्याकाण्डको करिब १ महिनापछि १ पुसमा जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिई सञ्जयलाई पक्राउ गर्न विभिन्न स्थानमा प्रहरी टोली खटाएको थियो ।
मजदुरी काम गर्ने सञ्जय कक्षा ३ सम्म पढेका छन् । उनी यसअघि पनि २०७२ सालमा चोरी कसूर तथा २०७३ मा अभद्र व्यवहार कसुरमा कास्की प्रहरीले पक्राउ गरी कारबाही चलाएको खुल्न आएको छ ।






