काठमाडौं । एक त आफुले गुरु मानेको नेपालका अग्रज कलाकारहरुबाट आफ्नो जन्म दिनमा शुभाषिश पाउनु । अर्कोतर्फ आफुहरुले दुई दशकदेखि देखेको सपना साकारको यात्रा थालनी गर्नु । यो दुबै हिसाबले हास्य अभिनेता कुमार कट्टेल ‘जिग्री’को लागि यसपटकको जन्मदिन विशेष रह्यो ।
‘मेरो लागि आजको दिन जीवनकै एउटा उत्कृष्ट दिन हो । एक त यतिधेरै अग्रज कलाकारहरुमाझ आफ्नो जन्मदिन मनाउन पाएको छु भने अर्को तिर पहिलो पटक आजबाट ठुलो पर्दाको चलचित्र निर्माता निर्देशकको शुभारम्भ गर्दैछु ।’ शुक्रबार दिउँसो काठमाडौंमा एक समारोहबीच आफ्नो जन्मदिन मनाउँने क्रममा यसो भन्दै गर्दा जिग्री भावुक देखिए । चलचित्रको निर्देशकीय जिम्मेवारी पाउनु आफ्नो लागि ठुलो उपहाररहेको पनि उनको कथन थियो ।
हुन पनि जहिलेबाट जोडी बनेर जिग्री पाँडेले सानो पर्दामा यात्राको थालनी गरे । त्यहीबाटदेखि उनीरुको एउटै सपना थियोकी ठुलो पर्दामा पनि सफलता हाँसिल गर्ने । त्यो सफलताको लागि शुक्रबारबाट आफुहरुको यात्रा सुरु भएको जिग्रीको जिकिर थियो । जिग्रीको जन्मदिनको अबसर पारेर उनको निर्देशन निर्माणमा बन्ने नयाँ चलचित्र ‘लाज शरणम्’को निर्माण घोषणा गरियो ।
आर्थिक कारणले विज्ञापन कम्पनी तथा निर्माण पक्ष मिडिया हबसँगको विवादपछि जिग्री पाँडेले एक दशक लामो टेली सृँखला भद्रगोलको निर्माण निर्देशन यात्रा टुँग्याएका थिए । तीनै मिडिया हबका सञ्चालक सोम धिताललाई विशेष सम्मान गरेर यी जोडीले चलचित्र निर्माणको नयाँ यात्रा थालनी गरेका छन् ।
अग्रज हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, दीपाश्री निरौला, निर्मल शर्मालगायतसँग आर्शिवाद लिएर जिग्री पाँडेले नयाँ चलचित्रको निर्माण यात्रा प्रारम्भ गरेका छन् ।
भद्रगोल छाडेपछि अर्को हास्यटेली सृँखला ‘सक्किगोनि’ थालेका जिग्री पाँडेको टिमले यो सृँखलाको दुई सय एपिसोड दर्शकमाझ ल्याए । अहिले तेश्रो सृँखलाको ६१ औं भाग उनीहरुले सार्वजनिक गरिसकेका छन् । चलचित्र लाग सरणमको निर्माणमा आफुहरु भए पनि सक्किगोनीलाई निरन्तता दिने पाँडे अर्थात अर्जुन घिमिरेको कथन छ ।
लाज सरणममा जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले सिनेमाको लेखन तथा निर्देशन गर्नेछन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहेका छन् । यसपटक आफुले अभियन भन्दा लाज शरणममा निर्देशकीय जिम्मेवारी लिएको जिग्रीले खुलाएका छन् ।
सुदीप बरालको छायांकन रहने यो चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठ शिर्ष भुमिकामा रहनेछ । यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर यो चलचित्र प्रदर्शनमा ल्याउने जिग्री पाँडेले घोषणा गरेका छन् । अब वर्षा कम भएपछि आफुहरु छायाँकनमा जाने पनि उनीहरुले बताएका छन् ।






