मुलुकमा राजनैतिक उतारचढावले सरकार परिवर्तन हुने क्रम रोकिएको छैन। विगत १९ महिनाको अवधिमा मुलुकमा चौथो पटक सत्ता परिवर्तन भैसकेको छ। यसले चौतर्फी रुपमा निराशा छाएपनि भर्खरै गठन भएको नयाँ सरकारपछि भने एउटा महत्वपूर्ण क्षेत्रमा अपत्यारिलो किसिमको उत्साह जागेको छ। त्यो क्षेत्र पुँजीबजार बनेको छ। पुँजीको दीर्घकालीन परिचालन हुने बजार नै पुँजीबजार हो। यस बजारमा पुँजीको निर्माण, पुँजीको माग र पुँजीको आपूर्ति हुने गर्छ। दीर्घकालीन पुँजीको परिचालन गर्ने भएकाले शेयर बजारलाई समष्टिगत रूपमा पूँजीबजार समेत भन्ने गरिन्छ। शेयर बजारलाई अझ स्पष्टसँग व्यक्त गर्नुपर्दा धितोपत्रको दोस्रो बजार अर्थात् स्टक एक्सचेन्जको रूपमा समेत व्यक्त गर्ने गरिन्छ। यसैगरी, ‘नेप्से’ नेपाल स्टक एक्सचेन्जको समग्र बजार सूचकांक हो। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि निरन्तर रुपमा नेप्से परिसूचक एवं शेयर कारोबार बढ्दै गएको देखिएको छ। अर्थमन्त्री पौडेलले शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा परिभाषित गरेका थिए। यसको अर्थ शेयर बजार सकारात्मक बनेको खण्डमा मुलुकको समग्र अर्थतन्त्र समेत सकारात्मक हुने भन्न खोजिएको हुनुपर्छ। तर, यथार्थमा भने त्यस्तो देखिएको छैन।
लामो समय सुस्ताएको शेयर बजारमा गत जेठ अन्तिम सातातिरबाट वृद्धिको संकेत देखिएको थियो। त्यसपछि नेपाली कांग्रेस र एमालेको गठबन्धनमा सरकार बन्ने सुनिश्चितता भएपछि नेप्से वृद्धिले गति समातेको देखिन्छ। नयाँ सरकार गठन भएपछि सार्वजनिक भएको लगानीमैत्री नाम दिइएको मौद्रिक नीतिले समेत यसलाई थप उचाईमा पुग्न मद्धत पुग्यो। सरकारले ल्याएको लचिलो मौद्रिक नीतिले शेयर बजारका लगानीकर्ताहरुलाई उत्साहित बनाएको देखियो। गत असार १७ मा यी दुई दलबीच सहकार्यको सम्झौता भएको थियो। उक्त दिन नेप्से परिसूचक करिब २ हजार ५३ अंकमा थियो । त्यसयता नेप्से करिब ९ सय अंकभन्दा धेरैले बढेको छ। गत साता मात्र नेप्से परिसूचक २ हजार ९ सय ७४ अंकमा पुगेर बन्द भएको थियो। यसैलाई आधार बनाएर शेयर बजार बुल चरणमा रहेको आंकलन गरिएको छ। वृद्धि नेप्सेमा मात्र सीमित छैन। कारोबार रकम पनि उल्लेख्य रूपमा बढिरहेको छ। गत साउन २८ गते सोमबारका दिन करोबार रकम हालसम्मकै उच्च बनेर नयाँ रेकर्ड कायम गरेको छ। त्यसदिन शेयर बजारमा सवा २७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। अघिल्लो दिन आइतबार पौने २६ अर्ब रुपैयाँको कारोबार भएको थियो। साउन १६ मा पनि कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो। यसरी करोबार रकमले समेत हरेक दिन नयाँ उचाइ बनाउँदै आएको छ। अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको लगानीकर्ताहरुको भनाई छ।
शेयर कारोबार र नेप्सेमा भएको बढोत्तरीसंगै धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता समेत बढ्दै गएको देखिएको छ। २०७९ असारसम्म ५३ लाख ४६ हजार डिम्याट खाता (हिताग्राही खाता) रहेकोमा २०८० असारसम्म करिब ८.९ प्रतिशतले वृद्धि भई ५८ लाख २३ हजार पुगेको थियो। शेयर किनबेचका लागि अहिलेसम्म ६३ लाख ७३ हजार भन्दा बढी लगानीकर्ताले डिम्याट खाता खोलेका जनाइएको छ। यो नेपालको कुल जनसंख्याको करिब २२ प्रतिशत हो । गत साउनसम्म ३८ लाख ५१ हजार २ सय ९४ लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबारका लागि खाता खोलेका छन् । तीमध्ये २३ लाख ३१ हजार ३ सय ५० जनाले अनलाइनमार्फत आफैं सेयर किनबेच गरिरहेका छन् । १५ लाख १९ हजार ९ सय ४४ जनाले अझै पनि ब्रोकरमार्फत (अफ लाइन) सेयर किनबेच गर्दै आएको नेप्सेले जनाएको छ । दोस्रो बजारका कुल लगानीकर्तामध्ये ३८ लाख ४२ हजार ५ सय ४० जना व्यक्तिगत लगानीकर्ता रहेको बताइएको छ भने बाँकी ८ हजार ७ सय ५४ जना संस्थागत लगानीकर्ता छन्। यसैगरी २०७९ फागुनसम्म नेप्सेमा सूचिकृत कम्पनीको संख्या २४५ रहेकोमा २०८० फागुनसम्म कम्पनी मर्जर र प्राप्ति पश्चात सूचिकृत कम्पनीको संख्या २७१ पुगेको जनाइएको छ।
मुलुकको पुँजीबजारमा केही ठुला उद्योगपति र घरानियाको हालीमुहाली रहेको देखिन्छ
मुलुकको धितोपत्र बजार दिनप्रतिदिन विस्तार हुँदै गएको देखिन्छ। यसका बावजुद नेपालको शेयर बजार पुर्णरुपमा विकसित तथा परिपक्क नभएको विज्ञहरुको भनाई छ। सीमित क्षेत्र मात्र सूचीकृत भएका र सीमित व्यक्तिको स्वामित्वमा ठुलो लगानी रहेकाले यसले अर्थतन्त्रको चित्रण गर्न नसक्ने धेरैको बुझाई छ। मुलुकका करिब ६० प्रतिशत मानिसहरु आबद्ध रहेको कृषि क्षेत्रलाई धितोपत्र बजारले समेट्न सकेको छैन। केहि समय पहिले कृषि तथा वनमा आधारित जुट उद्योग, चिनी उद्योग, चुरोट उद्योगलगायत पनि सूचीकृत थिए। तर, ’em धेरै समय टिक्न नसकेको बताइएको छ। अहिले कृषिमा आधारित उद्योगहरू छैनन् भन्दा फरक नपर्ने देखिएको छ। यसैगरी नेपालका करिब पचास प्रतिशत व्यवसायहरु अनौपचारिक खालका रहेका विभिन्न अध्ययनले देखाएका छन्। पछिल्लो श्रम शक्ति सर्वेक्षणका अनुसार नेपालको आन्तरिक श्रम बजारमा करिब ७० लाख ८६ हजार श्रमिकहरु रहेका छन्। यी मध्ये ४४ लाख ११ हजार अर्थात् ६२.२ प्रतिशत श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत छन्। यी क्षेत्रहरुलाई धितोपत्र बजारले समेट्न सकेको छैन। यसैकारण यसलाई अर्थतन्त्रको ऐना मानि हाल्न मिल्ने अवस्था देखिदैन।
हालसम्म केहि वित्तीय र जलविद्युत क्षेत्रले मात्र धितोपत्र बजारको दुई तिहाई हिस्सा ओगटेको देखिएको छ। २०७९ फागुनमसान्तमा धितोपत्र बजारको कुल बजार पुँजीकरण २८ खर्ब २३ अर्ब रुपैयाँ कायम रहेकोमा २०८० फागुनमसान्तमा १७.४ प्रतिशतले वृद्धि भई ३३ खर्ब १५ अर्ब पुगेको छ। कुल बजार पुँजीकरणमा वित्तीय क्षेत्र (बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी) को हिस्सा सबैभन्दा बढी ५७.७ प्रतिशत, जलविद्युत कम्पनीको हिस्सा १४.९ प्रतिशत र लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत रहेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.३ प्रतिशत, होटल तथा पर्यटन संस्थाको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत र अन्य समुहका कम्पनीको हिस्सा १०.२ प्रतिशत रहेको छ।
पछिल्लो समय शेयर बजारमा देखिएको उछाललाई कतिपयले अस्वाभाविक ठानेका छन्। मुलुकको अर्थतन्त्रका बाह्य परिसूचकहरु सकारात्मक देखिएपनि आन्तरिक परिसूचकहरुमा अपेक्षित सुधार आउन सकेको छैन। आन्तरिक उत्पादन तथा उपभोगका क्षेत्रमा सुधार आउन सकेको देखिदैन। शेयर बजारमा सूचिकृत उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुको गत आवको वित्तीय विवरण समेत सन्तोषजनक नदेखिएको विवरणहरु प्रकाशित भएका छन्। गत आव नेप्सेमा सूचिकृत ९ मध्ये ८ रियल सेक्टरका कम्पनीको व्यापार र आम्दानीमा उल्लेखनीय गिरावट आएको बताइएको छ। कोकाकोलाजस्ता प्रमुख पेय पदार्थ उत्पादक कम्पनीको आम्दानी गत आव १९.१ प्रतिशतले कमि आई ११ अर्ब २१ करोड रुपैयाँमा झरेको छ। जुन अघिल्लो वर्ष १२ खर्ब २१ करोड रहेको थियो। यसैगरी सोनापुर मिनरल्स एण्ड आयल कम्पनीले गत वर्ष ४६ करोड ९२ लाख रुपैयाँको घाटा व्यहोरेको छ। घोराही सिमेन्ट कम्पनीको आन्दानी ३.३० प्रतिशतले घटेर ४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ। हिमालयन डिस्टिलरी कम्पनीको व्यापार २६.५२ प्रतिशतले घटेर ४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ। यसैगरी शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, युनिलिभर नेपालको आम्दानी समेत घटेको देखिएको छ। यता यी कम्पनीहरुको शेयर मुल्य भने दिनप्रतिदिन बढ्दै गएको देखिएको छ। यसैले नेपाली शेयर बजारका धेरै लगानीकर्ताहरु अध्ययन वा अनुसन्धानबाट भन्दापनि लहडमा लगानी गरिरहेका छन् भन्दा फरक पर्दैन।
अर्थमन्त्री पौडेलले शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा परिभाषित गर्न खोजे पनि यथार्थमा त्यस्तो देखिएको छैन
मुलुकको आर्थिक विकासमा पुँजीबजारले महत्वपूर्ण भूमिका खेल्नेमा दुईमत छैन। यसले मुलुकमा उपलब्ध बचतलाई पुँजीगत साधनमा परिणत गराउन मद्धत गर्छ। पुँजी बजारले अनुत्पादक रुपमा निष्क्रिय रुपमा रहेको पुँजीलाई उत्पादन मुलक क्षेत्रमा क्रियाशील गराउन मद्धत गर्नुका साथै औद्योगिक र व्यापारिक क्षेत्रलाई स्थीर र चालु पुँजी उपलब्ध गराउछ। यसले मुलुकको आर्थिक विकासको प्रक्रियालाई अघि बढाउनुका साथै आर्थिक स्थीरता कायम गर्नमा समेत सहयोग पुर्याउने देखिन्छ। यसका लागि मुलुकको पुँजीबजार पुर्णरुपमा विकसित र परिपक्क हुनु जरुरि छ। कुनै व्यक्ति विशेषको विचार, बजारी होहल्ला वा राजनैतिक आस्थाका कारणले भन्दापनि लगानीकर्ताले लगानी गर्दा ती कम्पनीको वित्तीय विश्लेषण र जानकारी राखेर मात्र लगानी गर्नुपर्ने देखिन्छ। आफूले लगानी गर्न खोजेको कम्पनीको आम्दानी सुनिश्चितता, नाफा गर्नसक्ने हैसियत, सञ्चालकहरू कस्ता छन् अनि प्रतिस्पर्धा कस्तो छ भन्ने जस्ता प्रश्नहरूको लेखाजोखा गरेरमात्र लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ। अन्यथा, लगानीले प्रतिफल दिन्छ भन्ने कुनै प्रत्याभूति हुँदैन।
पुँजीबजार त्यतिबेला मात्र अर्थतन्त्रको ऐना बन्न सक्छ जतिबेला यसले मुलुकका हरेक क्षेत्रलाई प्रतिनिधित्व गर्न सक्छ। हाल अधिकाम्स वित्तीय क्षेत्र र केहि जलविद्युत तथा अन्य क्षेत्रले ओगटेको शेयर बजारले आफ्नो दायरा विस्तार गर्नुपर्ने जरुरि देखिन्छ। कृषि, औद्योगिक एवम् अन्य उत्पादनमुलक क्षेत्रलाई समेत समेटेर अगाडी बढेको खण्डमा मात्र यसमा धेरैको पहुँच पुग्न सक्ने देखिन्छ। अहिले सम्म मुलुकका एक चौथाई जनसंख्या पनि यसमा आबद्ध भएका छैनन्। अझैपनि मुलुकको पुँजीबजारमा केहि ठुला उद्योगपति र घरानियाहरुको मात्र हालीमुहाली रहेको देखिन्छ। यसैकारण यसबाट प्राप्त हुने लाभ समेत सीमित व्यक्तिको हातमा परेको छ। यस्तो अवस्थामा पुँजीबजार अर्थतन्त्रको ऐना बनेको भन्नु विकसित मुलुकमा बोलिने कथनलाई सापटी लिएको मात्र भन्न सकिन्छ। अर्थतन्त्रको ऐनामा मुलुकको उत्पादन, उपभोग, विनिमय, वितरण, बचत, लगानी, आम्दानी, माग, पूर्ति जस्ता आर्थिक पक्षहरुको वास्तविक चित्रण देखिनुपर्छ। तर, अहिलेसम्म नेपालको पुँजीबजारमा यस्तो चित्रण देखिन सकिएको छैन। यसैकारण अहिले नै नेपालको पुँजीबजारलाई अर्थतन्त्रको ऐना हो भन्न मिल्ने अवस्था देखिदैन।





