गाउँमा खाने मुखै छैनन् !

बाजुरा । बाजुरा जिल्लाको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षको साउन र भदौमा बिक्री गरेको तुलनामा यस आवमा ५० प्रतिशत व्यापार घटेको छ । गाउँमा खाद्यान्न खाने जनशक्ति नभएकाले व्यापार घटेको हो ।

गत आवको डेढ महिनामा १ हजार ६ सय ६ क्विन्टल ७५ किलो खाद्यान्न बेचको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आवको यही अवधिमा ८ सय २६ क्विन्टल ८४ किलो खाद्यान्न मात्र बिक्री गर्न सकेको छ ।

गत आवको भदौदेखि माघसम्म बाजुराका सबै खाद्य व्यवस्था तथा व्यापार कम्पनी, डिपो, अस्थायी बिक्री केन्द्रमा ताला लागेको थियो । तर, यस वर्ष मार्तडीस्थित बिक्री केन्द्रको गोदाममा चामल बिक्री नभएकाले बडिमालिका नगरपालिकाको तरकारी संकलन केन्द्रमा खाद्यान्न राख्नुपर्ने बाध्यता छ । गाउँमा युवा जनशक्ति सबै विदेश पलायन भएकाले खाने मान्छे नभएका कारण यो समस्या देखिएको हो ।

विगतका वर्षमा सधैं खाद्यान्नका लागि लाइन बस्नुपर्ने बाध्यता भएको कोल्टी डिपोमा समेत यस वर्ष २ हजार ५ सय क्विन्टल चामल मौज्दात रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडी शाखाका प्रमुख उमेश भण्डारीले बताए ।

आव २०८०÷८१ मा मार्तडीमा ७ हजार क्विन्टल, कोल्टीमा ६ हजार ५ सय क्विन्टल, कुवाडी डिपोमा २ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल खाद्यान्न कोटा स्वीकृत भएको थियो । जसमा कुवाडीमा फागुनमा २ सय क्विन्टल र वैशाखमा १ हजार ७० क्विन्टल चामल गएको थियो भने मुक्तिकोटमा २०८० जेठमा ५ सय क्विन्टल खाद्यान्न गएको थियो । कुवाडी डिपो र मुक्तिकोट डिपोमा वैशाख महिनाको अन्तिमदेखि बाटो बिग्रेका कारण चामल जान सकेको छैन । मार्तडी शाखामा ४ हजार ४ सय क्विन्टल चामल मौजुदा रहेको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडी शाखाका प्रमुख भण्डारीले भने, ‘पूर्वाेत्तर क्षेत्रको कोल्टी क्षेत्रमा जाने बाटो वर्षात्का कारण बिग्रेकाले त्यहाँ जाने चामलसमेत यहीँ थन्किदा राख्न समस्या भएको हो, अर्कोतिर यहाँबाट बिक्री केन्द्रसम्म खाद्यान्न ढुवानीका लागि ठेक्का भएको छ, कसले ढुवानी गर्ने भन्ने नटुंगिएकाले यहाँ राख्नका लागि समस्या भएको हो ।’

२०५२ सालमा र २०३८ सालमा बनेका क्रमशः हजार क्विन्टल र ५ सय क्विन्टल क्षमता भएका भवनहरू जीर्ण बन्दै गएकाले क्षमताभन्दा करिब दोब्बर बढी चामल मौजुदा रहेकाले समस्या भएको सो कार्यालयले बताएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायका अनुसार जिल्लाको पूरा क्षेत्रफलको ९ दशमलव २१ प्रतिशत मात्र खेतीयोग्य जमिन रहेको छ । सिञ्चित क्षेत्र १ दशमलव ४२ प्रतिशत मात्र रहेको छ, अर्थात् ७ दशमलव ७९ प्रतिशत जमिनमा सिँचाइ सुविधा छैन । यस जिल्लाले हरेक वर्ष खाद्यान्न असुरक्षित जिल्लाको परिचय बनाएको छ । बर्सेनि जिल्लालाई २८ हजार १ सय ५ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गरेको थियो । त्यसमा ११ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मार्तडी शाखा कार्यालय र स्टक चामलको थुप्रो ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख उपाध्यायले थपे, ‘यस वर्षको हिउँदे खेती पानी नपरेका कारण २० प्रतिशतभन्दा बढीले उब्जनी घटेको थियो, तर पनि नेपाल खाद्य संस्थानको चामल बिक्री आधाले घट्नुको अर्थ उत्पादन बढेरभन्दा पनि गाउँमा मान्छे नभएका कारण हुन सक्छ, खाने मुख नै घटेपछि बिक्री घट्नु स्वाभाविक हो ।’

विदेश जानेको संख्या बढ्यो
जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्यांक हेर्ने हो भने ३ वर्षयताको तथ्यांकमा विदेश जानेको संख्या ५० प्रतिशतले वृद्धि भएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी भीमाकान्त पौडेलका अनुसार १५ असार २०७९ देखि ३० चैतसम्म ६ सय २८ वटा मात्र राहदानी जारी भएकामा गत वर्ष ३ वैशाख २०८० देखि ३० चैतसम्म १ हजार २ सय ५ र यस वर्षको २ वैशाखदेखि १६ भदौसम्म २ सय २४ वटा राहदानी जारी भइसकेको छ । यसले बिदेसिनेको संख्या दोब्बरले बढेको देखिन्छ । यो त राहदानी चाहिने देशका लागि मात्र भयो, यहाँका अधिकांश बेरोजगार र २० वर्ष माथिका युवा भारत गएर काम गर्ने चलन छ, यसको तथ्यांक भने आफूहरूसँग नभएको प्रजिअ पौडेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले चामल बिक्री घट्नुमा दुईवटा कारण औंल्याए । उनले भने, ‘पहिलो कारण यहाँका युवा भारतसहितका अन्य मुलुकमा जानु हो भने अर्काे कारण भनेको घरेलु मदिरा उत्पादनमा कडाइ हो, रक्सी बनाउन कडाइ गरिएकाले पनि चामल बिक्री नभएको हो ।’

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा गत वर्ष यही समयमा चामल लिन लाइनमा बसेका स्थानीय

गाउँको अवस्था के छ ?
संघीयता कार्यान्वयनमा आएपछि सुरुवातीताका विकास निर्माणका योजना पनि गाउँमा हुने र गाउँमै रोजगारी पाउने विश्वासले युवाले गाउँ छाडेका थिएनन् । स्थानीय तहको दोस्रो कार्याकालमा पनि विकास निर्माणका काम गाउँमा नभएका कारण पनि युवा बिदेसिएका हुन् ।

गौमूल गाउँपालिका–६ का रामबहादुर रोकायाले भने, ‘गाउँमा १८ वर्षमाथिका युवा नै छैनन्, गाउँमा मलामी जानुपरेमा बूढापाका र केटाकेटी मात्र हुन्छन्, हाम्रो गाउँमा २ सयबढी घरधुरी बसोबास गर्छौं, गाउँमा पुग नपुग २० वर्षमाथिका १५–२० जना मात्र भेटिन्छन्, तिनीहरू पनि घरमा गाई बाख्रा हेर्ने मान्छे नभएर अल्झिएका हुन् ।’

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका पदमबहादुर शाही भेडा हेर्ने मान्छे नभएको बताउँछन् । ‘भेडा पाले पनि बिक्री हुँदैन, भेडा हेर्न मान्छे भइदिएको भए म पनि भारतमा चौकीदारी गर्न जान्थें, तर बाध्य भएर बस्नुपरेको छ,’ शाहीले भने, ‘गाउँमा युवा भन्ने मान्छे नै छैनन्, आफ्नो उमेरको कुरा गर्ने मान्छे पनि छैनन् ।’

मार्तडी बजारमा बेकरी उद्योग सञ्चालन गर्दै आएका बडिमालिका नगरपालिका–२ घाग्ग्रका देवबहादुर महतको गुनासो पनि यस्तै छ । पहिलापहिला दिनमा ५-६ हजार रुपैयाँको पाउरोटी, डुनट र क्रिमरोल बेच्ने गरेकामा अहिले ४-५ सय पनि नभएर हैरान भएको उनले सुनाए । ‘बजारमा खाने मान्छे नै छैनन्,’ महतले भने ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग