नेपालमा वैदेशिक लगानीको आकर्षण बढ्दै गएको देखिन्छ । तथापि, वास्तविक लगानी भई उत्पादन हुने स्थिति कम छ । लगानी बढ्दै गएको देखिए पनि तदनुरूप निर्यात पर्याप्त भएको छैन । नेपालको अर्थतन्त्र क्षेत्रीय अर्थतन्त्रको दाँजोमा खुला भएको देखिँदैन । अमेरिका–युरोपजस्ता धेरैजसो बाहिरी बजारमा संकट भए पनि एसिया प्रशान्त क्षेत्रमा व्यापार र लगानीको क्रियाकलापमा भने सुधार भएको देखिन्छ ।
विश्व अर्थतन्त्रमा संकुचन आए पनि एसिया–प्रशान्त क्षेत्रमा लगानी सन्तोषजनक रहेको देखिएको छ । विश्को एक तिहाइ वैदेशिक लगानी एसिया–प्यासिफिक क्षेत्रमा रहेको देखिन्छ । यस्ता क्षेत्रमा वैदेशिक लगानी बर्सेनि १० प्रतिशतले बढ्दै गएको छ । यी देशमा मुख्यतः चीन र आसियानमा प्रवाह भएको वैदेशिक लगानी सबैभन्दा उच्च छ ।
समावेशी व्यापार तथा लगानीमा जोड दिइए पनि र एसिया–प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिदर सन्तुलित भए पनि लाभको उचित वितरणमा विशेष ध्यान दिइएको छैन । त्यसैगरी, गरिबी र असमानता घटाउन मौका र अवसरमा व्यापक पहुँच दिनुपर्ने तथा आर्थिक समावेशीबाट बाहिर परेका समूहलाई आर्थिक वृद्धिको लाभ लिन समावेश गरिनुपर्ने देखिन्छ ।
नेपालले गरिबी निवारणको विषयमा प्रगति गरे पनि आर्थिक असमानता बढेको देखिन्छ । एसिया–प्रशान्त क्षेत्रका अधिकांश देशको गरिबी घटेको बताइन्छ । २–३ दशकका अवधिमा नेपालको गरिबी ६८ प्रतिशतबाट १८ देखि २५ प्रतिशतमा झरेको भनिन्छ । त्यसैगरी, वैदेशिक लगानी नेपालमा वृद्धि हुँदै गए पनि यो पर्याप्त नभएको र कुल गार्हस्थ उत्पादनको तुलनामा निकै कम भएको देखिएको छ ।
देशको समग्र विकासका लागि आयात–निर्यातका साथै देशीय र क्षेत्रीय रूपमा पनि समावेशी हुन आवश्यक देखिन्छ । यस क्षेत्रमा पनि ठूला तथा ब्रान्डेड व्यावसायिक संस्था समावेश नभएको देखिन्छ । ठूला व्यावसायिक संस्थाभन्दा साना तथा मझौला व्यावसायिक संस्था बढी समावेशी भएका देखिन्छन् । उत्पादन र बजार पहुँचलाई हेरेर मात्र समावेशी व्यापारको लाभ हुने हुन्छ ।
देशको नीति–नियम बनाउँदा विश्व र एसिया–प्यासिफिकको परिप्रेक्ष्यमा हेर्नुपर्ने देखिन्छ । व्यापार सन्तुलन कायम गर्न यस्ता सोच आवश्यक रहन्छ । भारत तथा चीनले गरेको कृषि विकासको विश्लेषणबिना बढ्दो कृषिको विश्वव्यापीकरण र क्षेत्रीय व्यापारको सन्तुलन बुझ्न गाह्रो र असम्भव दुवै हुन्छ ।
(सुमनकुमार रेग्मीको ‘नेपालको निर्यात वृद्धि गर्न कृषि विकास र औद्योगीकरणमा जोड दिनुपर्ने अवस्था’बाट)






