काठमाडौं । अग्रज हास्य अभिनेता हरिवंश आचार्य र गायक तथा अभिनेता प्रकाश सपुत एकै चलचित्रमा प्रस्तुत हु्ँदैछन् । यी दुई अभिनेतालाई मुख्य भूमिकामा समेटेर निर्देशक दीपेन्द्र के खनालले नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माणको घोषणा गरेका छन् ।
यो चलचित्रलाई हरिबँश आचार्यले पटकथा तथा सम्बाद लेखेका हुन् । चलचित्रका निर्माता सरोज ओलीले एउटा कथा सुनाएपछि आफुले चलचित्रको पटकथा सम्बाद तयार गरेका हरिबँशले बताए । हास्यप्रधान यो चलचित्र दर्शकलाई मनपर्ने विश्वास हरिबँशले व्यक्त गरेका छन् ।
अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो । दीपेन्द्र नयाँ पुस्तामा फरक चलचित्र बनाउने निर्देशक भएकाले उनीसँग यसमा सहकार्य गर्न लागेको हरिबँशले बताए । प्रकाश सपुतले पनि अग्रज कलाकार हरिबँश र निर्देशक दीपेन्द्रसँग जोडिन पाउँदा खुसी लागेको बताएका छन् । चलचित्रको छायाँकन दशैंपछिबाट सुरु हुने भएको छ ।






