बर्दिया । बर्दियामा गैंडाको आक्रमणबाट एक जना नेचर गाइडको ज्यान गएको छ । भने एक जना विदेशी पर्यटक घाइतेको निकुञ्ज स्रोतले जनाएको छ । शुक्रबार विहान गैँडाको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ का ३६ वर्षीय नेचर गाइड मनमोहन चौधरीको ज्यान गएको हो । ५६ वर्षीय अमेरिकी पर्यटक सावन मेक लेन्डोन घाइते भएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन अन्तर्गत पर्ने मधुवन–१ डल्ला गाउँस्थित शिव सामुदायिक वनभित्र गैंडा अवलोकनका क्रममा गैँडाको आक्रमणमा परि नेचर गाइड चौधरीको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकृत पुरुषोतम वाग्लले जानकारी दिए ।
शिव सामुदायिक वनका वन हेरालु थेङ्चु थारुसहित नेचर गाइड मनमोहन चौधरी र विदेशी पर्यटक गैँडा अवलोकनका लागि शुक्रबार बिहान सामुदायिक वन भित्र गएका थिए । एउटा गैँडा अवलोकन गर्ने क्रममा एक्कासी झाडीबाट अर्को बच्चासहितको गैँडा निस्केर आक्रमण गरेको बताइएको छ । अवलोकनका क्रममा गैँडाले पहिले विदेशी पर्यटकलाई आक्रमण गरेको र घाइते अवस्थामा रहेका पर्यटकलाई बचाउन खोज्दा टुरिस्ट गाइड चौधरीको ज्यान गएको स्थानिय पर्यटन व्यवसायी रामजी थापाले बताए ।
गैंडाको आक्रमणबाट घाइते भएका विदेशी पर्यटकको खुट्टामा चोट लागेको छ । घाइते पर्यटकलाई उपचारका लागि नेपालगञ्ज पठाइएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी दोर्णराज शर्माले जानकारी दिए । सामुदायिक वनका वन हेरालु भने सकुशल रहेको बताइएको छ । डल्लास्थित शिव सामुदायिक वनमा गैँडा सजिलै देखिने भएकाले पर्यटकहरु गैँडा अवलोकनका लागि उक्त वनमा जाने गर्छन् ।