भदौ महिनाको शुक्लपक्षको पञ्चमीका दिन ऋषिपञ्चमी पर्छ । पहिले यो सबै वर्ण र व्यक्तिका लागि अनिवार्य थियो । तर, हिजोआज नारीहरूले मात्र यो दिन व्रत लिने गर्छन् । यो व्रतको ब्रह्मान्ड पुराणमा उल्लेख छ । यसअनुसार सबैले नदी तथा तालमा स्नान गरी सफसुग्घर भई अग्निशालामा प्रवेश गरी सात जना ऋषि मरिचि, वशिष्ठ, अंगिरा, अत्रि, पुलस्त्य, पुलह र क्रतुको प्रतिमालाई पञ्चामृतले स्नान गराइन्छ ।
त्यसपछि व्रतालुले ती प्रतिमामाथि चन्दनको लेप, कपुर आदि लगाएर पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादि द्वारा पूजा गर्नुपर्छ । त्यसपछि मन्त्रसहित अघ्र्य दिनुपर्छ ।
यस व्रतमा साकाहारी व्रत हो । विधानले व्रतालुलाई ब्रह्मचर्यको पालन गर्न अनिवार्य भनेको छ । यस व्रतलाई विधिवत् पालना गर्दा समस्त पाप र तीन किसिमका दुःखजस्तै आध्यात्मिक, आधिदैविक एवं आधिभौतिकबाट मुक्ति पाइन्छ ।
आध्यात्मिक दुःख भनेको शारीरिक, मानसिक र अधिभौतिक दुःख भनेको पशु, मनुष्य, पिशाचद्वारा उत्पन्न हुने दुःख र अधिदैविक दुःख भनेको तुषारापात, हावाबतास, वर्षादिबाट उत्पन्न हुने दुःख हो । पुरुष महिला दुवैले यो व्रत सम्पन्न गर्न सकेमा आनन्द, शारीरिक–सौन्दर्य, सन्ततिलाभ, सौभाग्यप्राप्ति तथा दाम्पत्य जीवनमा सुमधुरता प्राप्ति हुन्छ ।
सप्तर्षिको गोत्र पूजा हुने भएकाले पुरुषले समेत व्रत गर्नुपर्छ । वैदिक मन्त्र जप्नुपर्छ । यसमा थप कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि एवं वशिष्ठसहित अरुन्धतीको पूजन गरिन्छ ।






