काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिनानिष्कर्ष सकिएपछि आइतबारको बैठक बस्दै नबसी स्थगित भएको हो ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पटकपटक सार्दा पनि सूचारु हुन नसकेपछि सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख घिमिरेले गरेको प्रयास असफल हुँदा सोमबार बस्ने बैठकमा समेत अवरोध कायम रहने देखिन्छ ।
– अवरोध कायमै राख्ने माओवादीको अडान
– संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
– १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले गत १२ भदौमा बसेको संसद् बैठकमा माओवादीको ‘जनयुद्ध’लाई जनयुद्ध नभई ‘हिंसा’ भएको टिप्पणी गरेपछि असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।
सभामुखसँगको छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा जारी अवरोध कायम रहने बताए । पाण्डेले संसद्को रेकर्डबाट माओवादी हिंसा भन्ने शब्द नहटेसम्म बैठक चल्न नदिने बताए ।
‘शब्दमा मात्र होइन सिंगो जनयुद्धको भावनामा प्रहार भयो, हामी अवरोध जारी राख्छौं,’ माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भने, ‘हाम्रो पार्टीको निर्णयानुसार हिंसा भन्ने शब्द संसद्को रेकर्डबाट नहटेसम्म बैठक अगाडि बढन सक्दैन ।’
सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । तर, माओवादी केन्द्र भने बैठक अगाडि बढ्न नदिने रणनीतिमा रहेको छ ।
एमाले सांसद भट्टराईले संसद्मा बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले घोषणा गरेपछि माओवादीले २६ भदौमा संसद् अवरुद्ध गरेको थियो । त्यसपछि बैठक आइतबारका लागि बोलाइएको भए पनि बैठक बस्दै नबसी स्थगित भएको हो ।
‘हिंसा’ शब्द संसदीय नै रहेको निष्कर्ष यसअघि सभामुख घिमिरेले सुनाएपछि प्रतिनिधिसभाको बैठक होहल्लाबीच गत बुधबार स्थागित भएको थियो । सो शब्द’bout प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्थानुसार १८ भदौमा बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतका आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा सांसद भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नदेखिएको सभामुख घिमिरेले बैठकमा रुलिङ गरेका थिए ।
‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, १८ भदौमा बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतका आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा सो हिंसा शब्द असंसदीय नदेखिएको हुँदा संसद्को अभिलेखबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरेले भने ।
संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
यसैबीच, संसद्मा जारी विवादका बीच आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले सोमबारको बैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
माओवादीले ‘हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै संसद्को अवरोध जारी राखेपछि सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको हो । संघीय संसद्को चालू अधिवेशन गत २८ वैशाखमा सुरु भएको थियो ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) चालू अधिवेशनले नै पास गरेको हो । बजेट र बजेट आश्रित विधेयकबाहेक लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि चालू अधिवेशनबाटै पास भएको हो ।
१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन
यसैबीच, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति तय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गुरुङले बताए ।
निर्वाचन आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर १६ मंसिरमा उपनिर्वाचन गर्न प्रस्ताव गरेका थिए । हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका नगरप्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष २१ गरी ४१ सिट रिक्त छन् ।