मानवअधिकार विश्वव्यापी छ । त्यही मानवअधिकारको एक महत्वपूर्ण अंश हो, बालअधिकार । यसका पनि विश्वव्यापी मान्यता छन् । बालअधिकार मानव भविष्यका अधिकार पनि हुन् । किनकि, बालबालिका भविष्यका कर्णधार, भविष्य निर्माता र भविष्यका नेतृत्व पनि हुन् ।
बालअधिकारको पहिलो अधिकार हो, जीवन र अस्तित्वको अधिकार । यसअन्तर्गत प्रत्येक बालबालिकालाई सुरक्षित र सम्मानजनक जीवन जिउने अधिकार छ । यो सबै कानुन र मान्यतानुसार व्याप्त छ ।
बालबालिकाको कर्म भनेको शिक्षा आर्जन गर्नु हो, संसारलाई पहिचान गर्नु हो । त्यसमा पनि आजको प्रतिस्पर्धात्मक संसारमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनु हो । औपचारिक शिक्षित हुनका लागि प्राप्त शिक्षा पर्याप्त छैन । युगको माग पनि यसले पूरा गर्न सक्दैन ।
त्यसका लागि बालबालिका पहिले त शारीरिक रूपमा पनि स्वस्थ हुनुपर्छ । यो विश्व घोषणापत्रमा स्वास्थ्यको अधिकारभित्र पर्छ । प्रत्येक बालबालिकालाई उचित स्वास्थ्य सेवा, पोषण र सरसफाइमा पहुँच हुनुैपर्छ । यसका लागि अभिभावक सचेत र क्रियाशील हुनु जरुरी छ ।
अर्को कुरा हो, बालबालिका ससाना हुन्छन् । तिनको संरक्षण जरुरी छ । यसलाई बालबालिकाको संरक्षणको अधिकारभित्र राखिएको छ । यस कार्यअन्तर्गत बालबालिकालाई दुव्र्यवहार, हिंसा र शोषणबाट जोगाउने कार्य र दायित्व समाजले लिनुपर्छ ।
बालबालिकालाई अराजक, छुल्याहा र पत्तुर पनि हुन दिनुहुँदैन । यसको नाममा हाकैमुनि डाकैमुनि पारेर उनीहरूको स्वतन्त्रता पनि हरण गरिदिनुहुँदैन । यसको अर्थ हो, भर्खरै संसार बुझ्दै र अनुभूति गर्दै गरिरहेका बेला बालबालिकाको विचार र भावनाको ख्याल र कदर गरिदिनुपर्छ । उनीहरूको स्वतन्त्रता स्वीकार गरिदिनुपर्छ ।
नेपालमा यी सारा बालअधिकारका कुरा कुन ठाउँमा लागू भएको होला ? प्रश्न बनिरहेको छ । नेपालको ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य सेवा, पोषण र सरसफाइ अहिले पनि कुन चरीको नाम हो भनेझैं छ । यसका साथै, बालश्रम, बालविवाह र शारीरिक तथा मानसिक दुव्र्यवहार पनि जस्ताको तस्तै कायम छन् ।
यी समस्या समाधानका लागि सरकार, गैरसरकारी संस्था र स्थानीय समाज पनि लागेकै छ । भखैरै अन्तर्राष्ट्रिय बालदिवस मनाइयो । नारा हरेक वर्षमा जे भए पनि बालबालिकाको महत्वलाई स्मरण गर्नु, उनीहरूको हक, अधिकारको रक्षा गर्नु, उज्ज्वल भविष्य निर्माणमा जोड दिनु आदि कुरामा कन्द्रित हुनु हो ।
एकातिर बालदिवस पनि मनाइरहने, अर्कातिर बालसमस्या ज्यूँका त्यूँ रहिरहने देखिएकाले वास्तवमा बालअधिकारको रक्षा कसले, कसरी गर्ने होला ? यो चासोको मात्र होइन, चिन्ताको विषय बनिरहेको छ ।






