नेपाली र हिन्दी भाषामा नेपाली चलचित्रको छायाँकन

काठमाडौं । यतिबेला सुनसरीको इटहरी स्थित बिएमसी छायाँकन स्टुडियोमा नेपाली चलचित्र ‘बलिदान’को छायाँकन भईरहेको छ । यो चलचित्रलाई नेपाली, हिन्दी र अन्य दक्षिण भारतीय भाषामा तयार गरिँदैछ । त्यहाँ ६ महिना लगायर स्टुडियो तयार गरेपछि छायाँकन थालिएको हो ।

निर्देशक सन्तोष सेनले यसअघि चलचित्र प्रेमपुजा ३ लाई हिन्दी भाषामा स्वराँकन गरेर भारतलगायत अन्य देश र ओटिटी प्लेटफर्ममा रिलिज गरेका थिए । तर यसपटक भने उनले सुरुमै यो चलचित्रलाई नेपालीसँगै हिन्दी भाषामा पनि छायाँकन गरिरहेका छन् ।

सुरुमै हिन्दी भाषामा सम्वाद सहित छायाँकन गर्दा पछि स्वराँकन गर्न सहज हुन्छ । कलाकारले पनि हिन्दी भावमा अभिनय गर्छन । सोही कारण पनि निर्देशक सेनले यो चलचित्रलाई हिन्दी भाषामा पनि छायाँकन गरिरहेका छन् । जसका कारण यो चलचित्रको हिन्दी संस्करण पनि त्यत्तिकै राम्रो बन्ने उनको विश्वास छ । प्राविधिकरुपमा चलचित्रको गुणस्तीय बनोस भनेर उनले यो चलचित्रका छायाँकार, द्वन्द्व निर्देशक, स्टन्ट कलाकारदेखि विभिन्न प्राविधिक पनि दक्षिण भारतबाटै ल्याएका छन् ।

गत तीजबाट छायाँकन सुरु भएको बलिदानमा समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, ऋचा शर्मा, दिव्य देवसहित विभिन्न कलाकारको अभिनय रहेको छ ।

डेढ दशक अघि अभिनेता निखिल उप्रेती र बलिउड अभिनेत्री स्वेता तिवारीको शिर्ष भूमिका रहेको चलचित्र ‘त्रिनेत्र’ नेपाली र हिन्दी गरी दुई भाषामै छायाँकन गरिएको थियो । त्यतिबेला यो चलचित्र नेपालमा नेपाली भाषामा रिलिज गरिएको थियो । भारतको विहार र उत्तरप्रदेशमा भोजपुरी तथा भारतको अन्य राज्यमा हिन्दी भाषामा रिलिज गरिएको थियो । त्यसपछि लामो समय नेपाली चलचित्रलाई यसरी एकसाथ नेपाली र हिन्दी भाषामा छायाँकन गरिएन ।

पछिल्लो समय नेपाली चलचित्र नेपालसँगै हिन्दी भाषामा भारतमा पनि रिलिज गर्न थालिएको छ । जसका लागि नेपाली चलचित्रलाई हिन्दी भाषामा स्वराँकन गर्न क्रम बढेको छ । नेंपालीमा छायाँकन गरेर हिन्दीमा स्वराँकन गर्दा ‘लिप सिँक’ राम्रो नहुने भएकाले सुटिङकै क्रममा हिन्दीमा पनि छायाँकन गर्न थालिएको हो ।

यस्तै आउँदो फुलपातिमा रिलिज हुने नेपाली चलचित्र ‘१२ गाउँ’ पनि निर्देशक अभिनेता बिराज भट्टले नेपालीसँग हिन्दी र दक्षिण भारतका अन्य चार भाषामा रिलिज गर्दैछन् । यो चलचित्रलाई पनि उनले नेपालीसँगै हिन्दी भाषामा समेत छायाँकन गरेका छन् । यो चलचित्रलाई भारतमा देखाउने दृष्यमा भारतीय गाडी नम्बर देखि त्यहाँको दृष्य समेत छायाँकन गरिएको निर्देशक अभिनेता बिराजले बताएका छन् ।

यसमा मुख्य मुख्य दृष्य तथा सम्बाद हिन्दीमा पनि छायाँकन गरिएको छ । जसका कारण चलचित्रलाई हिन्दीमा स्वराँकन गरेर रिलिज गर्न सहज हुनेछ । यो चलचित्रको यसैसाता रिलिज गरिएको सिनेमा हेर्नजाउँ…गीतको भिडियोमा बनारस, भारतको सिनेमा हलको सेट देखाईएको छ । चलचित्रलाई भारतमा छायाँकन गरिएको हिन्दी र दक्षिण भारतीय चलचित्रको रुपमा समेत प्रस्तुत गर्न नेपालमै बनारसको सिनेमा हलको सेट लगाएर यो चलचित्रको छायाँकन गरिएको थियो । यो चलचित्रलाई भारतमा सिनेमा हलसँगै त्यहाँको ओटिटी प्लेटफर्मबाट पनि रिलिज गर्ने विराजले बताएका छन् ।

चलचित्रमा विराज भट्टसँगै उनका छोरा समीर भट्ट, मुरलीधर, सनिसा भट्टराईलगायतको शिर्ष भूमिका रहेको छ । चलचित्रलाई निर्देशनसँगै निर्माण पनि विराज आफैंले गरेका हुन् ।

यस्तै आगामी ७ मँसिरमा रिलिज हुने चलचित्र ‘देववाणी’ लाई पनि नेपाली र हिन्दी सहित दुई भाषामै छायाँकन गरिएको छ । भारतीय अभिनेता कुन्दन भारद्वाज र अनुजा लेप्चाको शिर्ष भूमिका रहेको यो चलचित्रलाई हिन्दी भाषामा ओटिटी प्लेटफर्ममा समेत रिलिज गर्ने यसका निर्देशक बाबुसाहेब बलामीले बताएका छन्, भारतको बिहार र उत्तरप्रदेश’को १५० भन्दा बढी सिनेमा घरमा देववाणीलाईलाई हिन्दी भाषामै रिलिज गर्ने सम्झौता त्यहाँको वितरकसँग हाम्रो छायाँकन अघि नै भएको थियो । उनीको माग अनुसार हामीले यो चलचित्रलाई नेपालीसँगै हिन्दीमा पनि छायाँकन गरेका हौं ।’ शिर्षक सम्वादहरुलाई हिन्दीमा पनि छायाँकन गर्दा १६ दिन समय बढी लागेको निर्देशक बाबुसाहेवले बताए ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा कन्दन र अनुजासँगै सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी, मौसम पौडेलको अभिनय रहेको छ । सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन गरिएको यो चलचित्रलाई मीना खड्का, हीराबहादुर लेप्चा, मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ले निर्माण गरेका हुन् । यो चलचित्रको हिन्दी संस्करण ओटिटी प्लेटफर्ममा पनि रिलिज गर्ने सम्झौता भईसकेको पनि निर्देशक बलामीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 422 times, 1 visits today)

epaper

ताजा समाचार

डोल्पा कारागारबाट भागेका ८ कैदीबन्दीमध्ये ६ जना पक्राउ