नारामै सिमित चलचित्र छायांकन स्टुडियो निर्माण अभियान

काठमाडौं । बिगत डेढ दशकदेखि चलचित्र विकाश बोर्डमा अध्यक्ष भएकाहरुले आफ्नो पायक पर्ने क्षेत्रमा चलचित्र छायाँकन स्टुडियो निर्माण गर्ने घोषणा गर्दै आएका छन् । तर उनीहरुको घोषणा एकादेशको कथा मात्र हुने गरेको छ ।

तर यसपटक आफ्नो दुई वर्षीय कार्यकालमा जसरी पनि चलचित्र छायाँकन स्टुडियो निर्माण सम्पन्न गरेरै छाड्ने चलचित्र विकाश बोर्डका हालै नियुक्त अध्यक्ष दिनेश डिसीले बताएका छन् ।

चार वर्ष अघि तात्कालिन बोर्ड अध्यक्ष दयाराम दाहालले सुरुमा भक्तपुरमा र त्यहाँ जग्गा नपाएपछि बल्ल काभ्रेको बनेपामा चलचित्र छायाँकन स्टुडियो निर्माण गर्ने योजना अघि सारेका थिए । आफु काभ्रेको भएकाले उनले त्यहाँ स्टुडियो निर्माणको घोषणा गरे ।

तात्कालिन सञ्चार मन्त्री गोकुल बाँसकोटाले आफ्नो चुनावी क्षेत्रमा स्टुडियो निर्माणको दयारामको योजनालाई समर्थन त गरे नै । उनले जग्गा मिलाउन सहयोग पनि गरे । मन्त्री बासकोटाकै सहयोग पाएपछि दाहालले आफ्नो कार्यकालमा बनेपामा स्टुडियो निर्माणको लागि जग्गा अधिग्रहण गर्ने कार्य सम्पन्न भएको थियो ।

दाहालको कार्यकालको धेरैजसो समयमा कोरोनाको महामारी भएका कारण उनले चलचित्र छायाँकन स्टुडियो निर्माणलाई अघि बढाउन सकेनन् । त्यसपछि चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले बने । तर केसीले यो स्टुडियो निर्माणको कार्यलाई खासै अघि बढाएनन् ।

स्टुडियो निर्माण स्थलमा दल बलसहित दुई तीन पटक भुवन केसी पुगे पनि काम भने सोचे अनुरुप अघि बढेन । अब सोही स्थानमा दुई वर्ष भित्र चलचित्र छायाँकन स्टुडियो निर्माण गरेर सञ्चालनमा ल्याउने बोर्ड अध्यक्ष दिनेश डिसीले बताएका छन् ।

आईतबार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा सञ्चार सचिव राधिका अर्यालसँग चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र छायाँकन स्टुडियो निर्माणसहित बोर्डले यो आर्थिक बर्षमा सम्पादन गर्ने कार्यहरुको सम्झौता गरेका छन् । सम्झौतामा नेपाल सरकारको निति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने बार्षिक कार्यक्रमसँगै बनेपामा चलचित्र छायाँकन स्टुडियो निर्माण गर्ने कुरा उल्लेख गरिएको छ ।

‘सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माण देखी मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरु समेटिएका छन् । आगामी ६ महिनामा कार्यअवस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने समेत सम्झौता भएको छ ।’ अध्यक्ष डिसीले राजधानीसँग भने ।

बोर्डमा नियुक्त भएका हरेक अध्यक्षले बिगतमा चलचित्र छायाँकनको लागि स्टुडियो निर्माणको घोषणा गरेर सो कार्यलाई अघि नबढाएको कुरा अध्यक्ष दिनेश डिसीलाई मन परेको थिएन,‘सबैले यसलाई नारामै सिमित राख्ने हो भने स्टुडियो कहिल्यै पनि बन्दैन । त्यसैले म आफ्नो कार्यकालमा बनेपामा चलचित्र छायाँकन स्टुडियो निर्माण गरेरै छाड्छु र यसको लागि बजेट समेत तर्जुमा भईसकेको छ ।’ अध्यक्ष डिसीले भने ।

नेपाली चलचित्रको छायाँकनको लागि स्टुडियोमा घर, अस्पताल, प्रहरी चौकी, कारागार, विधालय, अदालतको दृष्य लिनको लागि अहिले पनि चलचित्रकर्मीलाई गाह्रो छ । यी सबै दृष्यहरु सहितको स्टुडियो निर्माणको लागि निर्माताहरुले दुई दशकदेखि माग गर्दै आएका छन् । तर स्टुडियो निर्माणको कार्य एकादेशको कथा जस्तौ भएको छ ।

चलचित्र छायाँकनको लागि स्टुडियो निर्माण गर्नुपर्छ भनेर डेढ दशक अघि तात्कालिन बोर्ड अध्यक्ष गणेश भण्डारीले योजना अघि सरेका थिए । आफु सुर्खेतका बासिन्दा भएका कारण उनले सुर्खेतमा चलचित्र छायाँकन स्टुडियो निर्माणको योजना अघि सारे । तर त्यो योजना कागजमै समित भयो । यसपछि पोखरामा चलचित्र छायाँकन स्टुडियो निर्माणको योजना अघि सारियो । तर पोखरा आफैंमा चलचित्र छायाँकनको लागि प्राकृतिक स्टुडियो भएकाले त्यहाँ स्टुडियो निर्माणको आबस्यक्ता नभएको आबाज उठ्यो । त्यसपछि त्यहाँ छायाँकन स्टुडियो निर्माण गर्ने योजना पनि सेलायो ।

यसपछि चलचित्र विकाश बोर्डका अध्यक्ष भएका धर्मेन्द्र मर्वैताले पनि छायाँकन स्टुडियो निर्माणको अवधारणा अघि सारे । सोही क्रममा दोलखाको डाङडुङे डाँडामा चलचित्र छायाँकन स्टुडियो निर्माणको तयारी भयो । त्यहाँ स्टुडियो निर्माणको लागि त्यस अघि नै कलाकार मदनदास श्रेष्ठले पहल सुरु गरिसकेका थिए । त्यसपछि सो स्थानसम्म बाटो खनेर प्रारम्भिक पूर्वाधार तयार गरियो । तर त्यसपछि बजेट नभएको भन्दै त्यहाँ स्टुडियो निर्माण कार्य अघि बढेन । दोलखामा चलचित्र छायाँकन स्टुडियो निर्माणको कुरा हरेक वर्ष चर्चामा आउने गरेको छ । तैपनि निर्माण कार्यले गति लिएको छैन ।

त्यसपछि चलचित्र विकाश बोर्डका अध्यक्ष बनेका राजकुमार राईले आफ्नो घरपायक क्षेत्र सुनसरीको इटहरी आसपासमा चलचित्र छायाँकनको लागि स्टुडियो बनाउने योजना अघि सारे । त्यहाँ उनले जग्गा पनि हेरे । तर इटहरीमा चलचित्र छायाँकन स्टुडियो निर्माणको कार्य राजकुमार राईले आफ्नो कार्यकालमा अघि बढाएनन् ।

राजकुमार पछि बोर्डमा अध्यक्ष बनेका केशब भट्टराईले चलचित्र छायाँकन स्टुडियो निर्माणको लागि भक्तपुरको घ्याम्पेडाँडा तथा नगरकोट क्षेत्र राम्रो हुने भन्दै परामर्स सुरु गरेका थिए । केही महिनामै अध्यक्ष भट्टराईको निधन भएपछि बोर्डमा दयाराम दाहाल अध्यक्षको रुपमा नियुक्त भए । भक्तपुर र नगरकोटमा जग्गा नपाएपछि बनेपामा चलचित्र छायाँकनको लागि स्टुडियो निर्माणको लागि दाहालले जग्गो खोजे । सोही स्थानमा यसपटक अध्यक्ष दिनेश डिसीले चलचित्र छायाँकन स्टुडियो बनाउनेमा पूर्व अध्यक्ष दाहाल आशाबादी छ । यो अभियानमा आफुलाई व्यक्तिगत रुपमा सहयोग गर्ने उनको कथन छ ।

यसरी बिगत डेढ दशकदेखि बोर्डका अध्यक्षले नारामा मात्र सिमित राखेको चलचित्र छायाँकन स्टुडियोले हालका अध्यक्ष दिनेश डिसीको पालामा सार्थकता पाउलाकी भन्ने आशा चलचित्र निर्माताहरुको छ । त्यहाँ स्टुडियो निर्माण भएको खण्डमा निर्माताहरुले चलचित्र छायाँकनको लागि अहिलेको जस्तो नीजि घर, अस्पताल, विधालय जस्ता सँरचना माग्नु पर्ने समस्याबाट मुक्ति पाउने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

भाडाको मारमा साइपाल : समान दृष्टिकोण, असमान पीडा