भारतीय फुटबल टिमका पूर्वकप्तान बाइचुंग भुटियाले पश्चिम बंगालको सिलीगुडीमा एक घरमालिकले लकडाउनको समयमा भाडामा बस्नेसँग गरेको व्यवहारको प्रहरीलाई उजुरी गरेका छन् । सिक्किमका अथिना लिम्बुलाई सामान्य ज्वरो आएको भन्दै घरमालिकले उनलाई घरबाट निस्कने दबाब दिएका थिए । अथिना तीन÷चार घन्टा तनावमा यताउता गरिरहेकी थिइन् । जब सो कुरा भुटियाले आफ्ना साथीमार्फत थाहा पाए, तब अस्पताल गएर उनलाई भर्ना गराएका थिए ।
डाक्टरका अनुसार ती युवतीलाई सामान्य ज्वरो मात्र आएको भन्दै घर फर्काइदिएका थिए । तर, घरधनीले उनलाई घरभित्र बस्न नदिई बाहिर निकालिदिएका थिए । भुटिया र उनका साथीले ती युवतीलाई मेडिकल सहायता प्रदान गरेर होटलमा राख्ने व्यवस्था गरिदिएका थिए । जब उनी निको भएर पुनः आफ्नो डेरामा जाँदासमेत उनलाई लकडाउनपछि मात्र आउनु भन्दै घरभित्र पस्न दिएनन् ।
फुटबलर र हाम्रो सिक्किम पार्टीका संस्थापक भुटियाले भने, ‘यो दुर्भाग्यपूर्ण हो । यस्तो कठिन समयमा पनि मानिसले एकअर्कालाई सहयोग गरिरहेका छैनन् । यो महिला सिक्किमकी हुन् । उनले दर्दनाक अनुभव गरेकी छन् । मैले पुलिससँग सम्पर्क गरेको छु । विश्वास छ उनले न्याय पाउनेछिन् ।’
उनले देशमा भेदभावविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने बताए । स्थानीय प्रशासनले यस्तो घटनामा छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ ।






