धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन उद्घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.८ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा निर्माण गरिएको दुई तले भवन आज उद्घाटन गरिएको हो ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वडा कार्यालय भवन उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै नगर प्रमुख तामाङले वडा कार्यालय भवन बनेपछि प्रशासनिक काममा सहज हुने विश्वास व्यक्त गरे । यसअघि आफ्नै वडा कार्यालय भवन नहुँदा धनकुटा नगरपालिका–७ स्थित बसपार्कमा रहेको व्यापारिक भवनबाट ८ नं.वडा कार्यालयको सेवा प्रवाह गर्ने गरिएको थियो ।

८ नम्बर वडामा आठपहरिया जातिको बाहुल्यता छ । उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने मेयर तामाङले प्रतिवद्धता जनाएका छन् । आठपहरिया समुदायको हितका लागि फुसको छानारहित घर, दृष्टि बन्धक मुक्त कार्यक्रम, आठपहरिया सङ्ग्राहलय निर्माण, घरबास सेवा, लिफ्टिङ खानेपानी लगायत कार्यक्रमलाई निरन्तरता दिइएको मेयर तामाङले बताए । वडा कार्यालय भवन बनाउन स्वारिबाका राजबहादुर र उनकी श्रीमती रत्नमायाँ राईले एक रोपनी जग्गा दान गरेका छन् । उनीहरूलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

यसैबीच, टेकुनालाको चैनपुरेमा सेवा केन्द्र पनि आजै उद्घाटन गरिएको छ । वडा कार्यालय भवन बनेको र सेवा केन्द्र पनि स्थापना गरिएकाले यसबाट वडावासीहरुलाई छिटो तथा सहज रुपमा सेवा प्रवाह गर्न सजिलो हुने वडाध्यक्ष रसबहादुर आठपहरिया बताउँछन् ।

योसँगै धनकुटा नगरका १० मध्ये ७ वटा वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह थालेका छन् । वडा नं.३, ७ र १० नम्बरको भवन निर्माण बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

डोल्पा कारागारबाट भागेका ८ कैदीबन्दीमध्ये ६ जना पक्राउ